कांग्रेसका कृष्णचन्द्र मुख्यमन्त्रीमा नियुक्त

सैलुङअनलाइन संवाददाता
कास्की

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले आज दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेको समर्थनमा दावी पेश गरिएको थियो ।

पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पुख्र्यौली थलो तनहुँ भएका ७१ वर्षीय पोखरेल प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया