आतङ्ककारीको मृत्यु

यकिना अगाध सिन्धुली
कथा
PHOTO:

दिनहरू असाध्यै रमाइलो थियो । जाडो सकेर फागुनले आफ्नो तातो अनुहार फैलाएको हप्ता दिन पुग्दै थियो । प्राणी र मान्छेहरूमा न्यानोपन बढ्दै थियो । माइगेन पनि फुर्सदमा थिइन् । भखरै एसएलसी सकेर घरमा आएकी थिइन् । बस्तुभाउ लिएर मरिन खोलाको काँसे बगरे मैदानमा आफूभन्दा साना उमेरका भाइबहिनीहरू सँगसँगै गोठाला जान्थिन् ।

यस्तै रमाइलो गरी केही दिन बित्दै थियो । गोठालोको सूचीमा टुप्लुक्क अर्को नयाँ अनुहार झुल्कियो, माथिल्लो घरको च्याङबा ज्योज्यो । गोठालाको हुलमा च्याङबा ज्योज्यो अरू दौतरी भन्दा एकाध वर्षको दाइ थियो । यसले झन् रौनक थपियो । ऊ मिठो बाँसुरी बजाउँथ्यो अनि नयाँ नयाँ कथा सुनाउन सिपालु थियो । किताब पढ्न खुब मन पर्याउँथ्यो ।
भलै त्यो किताबहरू ज्ञान गुणको भन्दा प्रेमकहानीले भरिपूर्ण हुन्थ्यो । उ अघिल्लो वर्ष एसएलसी सकेर अहेब पढ्न बिरगन्जतिर गएथ्यो । अहेब पढ्ने ग्रुपकै एक साथीले उनलाई यस्तो किताबमा बानी बसाएको रहेछ ।

उ किताब पढ्दा कहिले मुसुमुसु हाँस्थ्यो, रातो अनुहार बनाउँथ्यो । कहिले दुखी भएर आँसु झाथ्र्यो । उसले आँसु झारेको देखेर कति पटक आफूसँगको साना सानी गोठाला गोठाल्नी भाइ बहिनीहरूले उसलाई सोध्ने गर्थे, ‘होइन दाइ ! तपाईं किताब पढेर किन रुनुहुन्छ ?’

‘किताब पढ्दा मेरो आँसु आउने बानी छ ।’ उ कुरा टारिदिन्थ्यो । माइगेन उनको मायालाग्दो अनुहार देखेर मुसुमुसु मात्र हाँस्थिन् । च्याङबा ज्योज्यो पछिको ठूली तिनी नै थिइन् । अरू स-साना नै भइगए ।

यस्तैमा आज शनिवारको दिन थियो । माइगेक ढिलो गरी गोठालोमा मिसिन आइपुगिन् । तिनी छापको हाटबजार भरेर फर्कँदा ढिलो भएकी थिइन् । आफ्नो बस्तुभाउ अरू संगीहरुकोमा मिसाएपछि तिनी पनि खोला छेउको ठूलो ढुङ्गातिर गइन् । त्यहाँ गोठाला आएका साना भाइ बहिनी अथवा भनौ साथी सङ्गीहरू कोही बालुवाको घर बनाएर खेल्दै थिए, कोही पौडी खेल्दै थिए त कोही लाठीकासा । उमेर अनुसारको आ-आफ्नै हुल थियो त्यहाँ । कागको बिचको बकुल्लो जस्तो च्याङबा ज्योज्यो भने आज नयाँ उपन्यासको किताब ल्याएर दोस्रो च्याप्टर सुरु गर्दै रहेछन् ।

‘कृपया दाइ रिसानी माफ भए, म पनि तपाईंले पढ्ने किताब पढ्न सक्छु होला ।’ माइगेनले च्याङबा ज्योज्योको कानैमा गएर भनिन्, ‘मलाई पनि तपाईंलाई जस्तै किताबहरू असाध्यै मन पर्छ । तपाईंलाई थाहा नै छ, हाम्रो गाउँमा मन भुलाउने अरू कुनै मनोरञ्जनको उपाय पनि त छैन ।’

‘हुन्छ, हुन्छ ।’ माइगेनको एक्कासि प्रस्तावले च्याङबा हडबडायो । तै पनि सम्हालिँदै उसले भन्यो, ‘अहो माइगेन ! आज म पढी सिध्याउँछु र तिमीलाई भोलि दिन्छु हुन्न ? आजलाई… मात्र आजलाई दुःख नमान है !’

‘के गर्नु पढ्न थाले पछि बिचमा छोड्नै सकिँदैन ।’ च्याङबा ज्योज्योले अझ बढी जोड दिएर भन्यो, ‘खै यस्तो के नसा बस्यो, बस्यो ।’

उसको कुरा सुनेर माइगेनले केही पनि उत्तर दिएन । फिस्स हाँसी र भोलि किताब पढ्न पाउने आशा राखी ।
रातभरमा किताब पढी सकायो । भोलिपल्ट गोठालो जाँदा सँगै लिएर गयो । च्याङबा ज्योज्योको हातमा किताब देखेर माइगेन खुशी भइन् ।

‘आहा मेरी प्यारो…’ माइगेनले ठट्टा गरिन्, ‘बाचा त भुल्नु हुँदो रहेनछ नि ? माइगेनले किताब पढ्न पाउने लोभमा चिल्लो घस्यो, ‘बाचाको पक्का मान्छे मलाई मन पर्छ ।’

तर, आश्चर्य च्याङबा ज्योज्योले त्यो किताब तिनलाई दिँदै दिएनन् । दिनभरि त्यो किताब आफैले चेपेर राख्यो । जसरी चल्ला कोरल्न बसेको माउ बाज आउँदा पनि हलचल गर्दैन, ठिक च्याङबा ज्योज्योले पनि किताबलाई त्यसरी नै कोरलेर बस्यो ।

साँझ गोठालो फर्कँदा पनि किताब उसैले खोकिलामा चेपी राख्यो । जब छुट्टिने दोबाटो आयो, तब मात्र माइगेनलाई त्यो किताब दिएर पठायो । अघि किताब दिन्न कि भनेर दुखी भएकी माइगेन पनि किताब पाएर फुर्किइन् ।

किताब दिइसकेपछि च्याङबा ज्योज्योले लामो सास र्फेयो र भन्यो, ‘नराम्रो नमान है !’

‘नराम्रो ! ल.. तपाईंलाई एक्कासि के भो ?’ माइगेनले सोधिन्, ‘मैले किताब मागेर तपाईँलाई दुख दिएँ, उल्टै मैले नराम्रो मान्नु पर्ने कुरा नै यसमा के छ र ! कि होइन त… ?’

‘जे भए पनि… ।’ च्याङबा ज्योज्योले राम्ररी कुरा राख्नै सकेन ।

घरधन्दा सकेर माइगेन सुत्नलाई आफ्नो ओछ्यानमा छिरिन् । अघि ल्याएर फ्यालि राखेको उपन्यासको किताब टिपिन् र उत्तानो परेर पहिलो च्याप्टर पढ्न थालिन् । उपन्यासले तिनलाई झन् झन् कस्दै लान थाल्यो । तिनी उपन्यासको पात्रहरूको प्रेमकहानीमा डुब्दै गइन् । कहिले दुखी त कहिले सुखी हुँदै थिइन् । अर्को पन्ना पल्टाउँदै थिइन्, त्यही पेजमा चेपी राखेको एउटा कागजको चिर्पेटो फ्यासलक्क खस्यो । तिनी झस्किइन्, कतै महत्त्वपूर्ण नोट पो हो कि भनेर जतनले उठाएर खोलेर हेरिन् ।

तिनीको होस हवास गुम्यो । एक्कासि कानमा सिठि बज्यो, मुटुको चाल यति बढ्यो कि झण्डै मुटु नै फुटेन । बल्ल तल्ला सम्हालिन् ।

लेखाएको थियो, बस् यति मात्र शब्द, ‘आई लभ यु… ।’

उज्यालो भयो । तिनी उठिनन् । आमाले बोलाइन् भनिन् कि आज तिनलाई सन्चो छैन । दिनभरीजसो सुतेरै बिताइन् । भोलिपल्ट पनि यसरी नै समय बित्यो ।

एकै गाउँको भए पनि च्याङबा ज्योज्यो र माइगेनहरुको जातभात मिल्दो नै थियो । दुवै परिवार मध्यम वर्गीय थियो । खान लाउनको दुःख थिएन । पढे लेखेकै परिवार थियो । विवाह बन्धनको लागि सामाजिक रोकटोक हुने कुनै कसुर थिएन । तर, आज जे घटना भयो, यो भने अकस्मात र अकल्पनीय थियो, जो सपनामा पनि सोचेको थिएन । माइगेनले त्यो सानो चिर्पेटोमा लेखेको विशाल पृथ्वी जत्रो भारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने भेउ छुट्ट्याउन सकिनन् । तीन दिनपछि बल्ल आज तिनी केही निष्कर्षमा पुगिन् र गोठालो जाने भईन् । गोठालो जाँदा सँगै च्यापेर लगेकी थिइन्, त्यही उपन्यास ।

चरनमा पुगेपछि थाहा पाइन्, च्याङबा ज्योज्यो नआएको पनि तीन दिन बितिसकेछ । गोठाला भाइबहिनीहरू भन्दै थिए कि भोलिदेखि मात्र च्याङबा ज्योज्यो आउने वाला छ । उ जरुरी काममा सिन्धुलीमाडीतिर गएको छ ।

‘भोलि देखि…’ तिनले लामो सास फेरिन् । सदा केटाकेटीहरूसँगै गीत गाउने, नाच्ने, उफ्रने तिनी मुर्झाएर बसेकी छे । कुनै उमङ्ग छैन शरीरमा ।

आज अरुबेला भन्दा अलि ढिला आइपुग्यो च्याङबा ज्योज्यो बस्तुभाउ लिएर । सदा माइगेनलाइ देख्ने बित्तिकै उज्यालो अनुहार बनाएर फुर्तिलो रवाफ देखाउने केटो सकेसम्म माइगेनदेखि छल्न खोज्दैछ । माइगेन चाहिँ छेउ पर्न खोज्दैछे, केटाकेटीहरूको आँखा छलेर । अरू बेला यिनीहरू सँगै हुनलाई यस्तो सकस हुन्नथ्यो । केटाकेटीहरूको आँखा पनि छल्न पर्दैनथ्यो । यो दुईचार दिनदेखि खै किन हो उनीहरू दुईलाई यस्तो सकस भइरहेको छ ।

‘कृपया तपाईंको किताब लिनु होला… ।’ माइगेनले सधैँ जुधाउने आँखालाई भुइतिर घोप्ट्याएरै उपन्यास फिर्ता गरिन् ।
‘धन्यवाद !’ च्याङबा ज्योज्योले पनि आँखा जुधाउने हिम्मत गर्न सकेन र कम्पित स्वरमा भन्यो, ‘माफ पाउ ! दुखी बनाएकोमा…।’

‘ईश्वर जानुन्… ।’ माइगेनले यति मात्र भनी । आज दिनभरि उनीहरूबीच कुनै बातचित भएन ।

च्याङबाले बेलुकी माइगेनले फिर्ता ल्याइदिएकी उपन्यास लगेर ओन्छ्यानमा मिल्कायो । आफूले अपराध गरेझैँ उनमा बोध भइरहेको थियो । उ मनमनै भगवानलाई धन्यवाद दिइरहेको थियो, यस कारण कि माइगेनले उसलाई यो उटपट्याङ काम गरेबापत धन्न सजाय दिलाएन । ‘कतै हल्ला फिजिएर समाजले थाहा पाएको भए…!’ उसको मुटुमा ढ्याङग्रो बज्न थाल्यो, ‘कसैको अगाडि मुख देखाउन लायकको हुने थिएन ।’

मध्यरात हुन लागिसक्यो च्याङबा ज्योज्यो निदाउन सकेन । उल्टे कोल्टे गर्दा गर्दा करङ दुख्न थाल्यो तर आँखामा निन्द्राको पिरो समेत परेको छैन । फेरि टुकी बाल्यो र त्यही किताब दोहोर्याउन खोज्यो । किताब पल्टाउँदै थियो अकस्मात एउटा चिर्पेटो देख्यो ।

‘पक्कै मलाई तिनले गाली गरेकी हुनुपर्छ ।’ उसले सोच्यो, ‘प्रेम गर्ने भएकी भए त दिउसो केही बोल्ने थिइन् नि !’
चिर्पेटोमा लेखिएको थियो, ‘मेरी प्राण प्यारो ! तिम्रो एक्कासि प्रस्तावले झन्डै मेरो मुटु फुटेन । छि एक्कासि कसरी तर्साउन सकेको प्रेममा पनि ब्वाँसोलेजस्तो । म हजुरको प्रस्तावलाई शिरोधार्य गर्छु ।’

च्याङबाको दिमागमा अकस्मात बिजुली चम्केजस्तो भयो । अघि मरीचजस्तो खुम्चेको उ फुलेर बेलुनजस्तो भयो । उसलाई मध्यरात चल्दैछ भन्ने होससम्म भएन । ‘आइ लभ यु मेरी प्रीतमा… ।’ उ बेजोडले चिच्यायो ।

‘के भयो हँ, च्याङबा तँलाई ?’ निन्द्रा खलबलिएर आमा कराइन् । तन्द्रामै बाउ दगुरेर उ सुतेको कोठामा आइपुग्यो ।
आफ्नो हरकत थाहा पाउने डरले फेरि उ खुम्चियो र काँप्दै भन्यो, ‘बुबा हो माफ गर्नुस्, अहो कति नराम्रो सपना देखेछु र ऐठन परेछ ।’ उसले सरासर ढाँट्यो ।

भोलिपल्ट गोठालोमा दुबैजनाको भेट भयो । एकअर्काले सिधा सिधा आँखा जुधाउन सकेनन् ।

‘तपाईंहरूको झगडा परेको छ हो ?’ सदा भेट भयो कि ठट्टा सट्टा गरेर रमाइलो गर्ने गरेका उनीहरूको व्यवहार बदलिएको देखेर गोठाला भाइबहिनीहरूले सोधे, ‘किन तपाइहरू बोल्नु हुन्न ?’

दिन यतिकै बित्यो । साँझ छुटिने बेला च्याङबा ज्योज्योले माइगेनको हातमा कागजको स्यानो टुक्रा थमाई दियो । माइगेनले जतनसँग लुकायो र घर पुगेपछि एकान्त पारेर हेरिन् ।

‘प्रियतमा ! आज राति ९ बजे । हो, ठ्याक्कै ९ बजे… । घरमाथिको भन्ज्याङमा भेटौन । तिमीसँग मनको केही कुरा गर्नु छ । रिसानी नभए ‘माया भए… म बाटो कुरिरहेको हुनेछु ।’

‘आम्माई यस्तो राती…!’ पत्र पढेपछि माइगेन डराई, ‘कतै नराम्रो त हुने होइन ।’ माया अन्धो हुन्छ भन्छन् सायद अन्धो भएरै बहादुर हुँदो हो । अघि डरले काँपेकी माइगेनको मन पनि फेरि कस्सियो, ‘आखिर अब यो जीवन नै त उसैको हो ।’
मायाको विश्वास धेरै, केही नराम्रो पो होला कि भन्ने आशङ्क थोरै, अन्तरद्वन्दबीच राती घर बाहिर जाने मन नहँुदा नहुँदै पनि खै केले हो ? तिनको खुट्टा च्याङबा ज्योज्योले भनेकै ठाउँतिर घिर्सिदै अघि बढ्यो । ठिक समयमा तिनी त्यहाँ पुग्दा च्याङबा उभिइरहेको थियो र तिनलाई देख्ने बित्तिकै अलिक निहुरेर सुस्तरी सम्बोधन ग¥यो । च्याङबाको हात तिनको गलातिर उचालिँदै थियो, परर…परर… आवाज आयो ।

च्याङबा ज्योज्यो एकातिर ढल्यो र माइगेन अर्को्तिर पछारिईन् । त्यो स्वागतको नभई गोलीको आवाज थियो । देशमा सशस्त्र द्वन्द चलिरहेको थियो ।

भोलिपल्ट सरकारी र राष्ट्रिय मिडिया भन्नेहरूमा मूल खबर बनेर आयो, ‘सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा दुई आतङ्ककारीको मृत्यु ।’

उनीहरूको तस्बिर पनि छापिएको थियो । आतङ्ककारी च्याङबाको दुई हातले खादा पक्रिरहेको थियो, केही दस्ताबेज बोकेको भनिएका माइगेनको हातले च्याङबाले दिएको तिनै चिर्पेटोको अक्षर… ।

तपाईको प्रतिक्रिया