पाँचपोखरी थाङपाल गाउँपालिका खुला दिशामुक्त घोषणा भएको छ । बिहीबार तेस्रो पाँचपोखरी हाफ म्याराथान समापन समारोहसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले खुला दिशामुक्त गाउँपालिका भएको घोषणा गरे ।
गाउँपालिका अध्यक्ष टाशी लामाले करिब ३४ हजार जनसंख्या रहेको गाउँपालिकाभित्र सबैको घरघरमा चर्पी निर्माण भइसकेकोले खुला दिशामुक्त गाउँपालिका घोषणा गरेको बताए । पर्यटकले सार्वजनिक स्थलका शौचालयहरु प्रयोग गर्न सकिने बताउँदै यदि जानजानी खुला दिशा गरेको पाइएमा कारबाही गर्नेसमेत जानकारी दिए ।
अध्यक्ष लामाले खुला दिशामुक्त गाउँपालिका बनाउनका लागि नेपाल रेडक्रस सोसाइटीले सहयोग गरेको जानकारी दिए । खुला दिशा गरेको सुचना दिने व्यक्तिलाई जरिवानाको ५० प्रतिशत इनाम दिनेसमेत घोषणा गर्दै अध्यक्ष लामाले खुला दिशामुक्तका १४ वटा नियमहरु रहेको उल्लेख गरे ।
खुला दिशामुक्त क्षेत्र लागु हुने आचारसंहिता अनुसार पूर्वमा जुगल, पश्चिममा हेलम्बु र दक्षिणमा मेलम्ची नगरपालिका तोकिएको छ ।
कुनै घरपरिवारले सेफ्टी ट्यांकी खोली प्रदुषण गराएमा गाउँपालिकाबाट दिने सेवा सुविधामा १ बर्षसम्म रोक्का गरिने गाउँपालिका कार्यालयले जनाएको छ । साथै प्रदुषण रोक्न लाग्ने खर्च प्रदुषक परिवारबाट असुल उपर गरिनेसमेत जानकारी दिए ।