ब्लग : तामाङ प्रसारण दिवसको शुभकामना !

काठमाडाैं
PHOTO:

‘माम्’ (हजुरआमा) नेपाली (पर्वते) भाषाका धेरै शब्द जान्दिन थिएँ । घरमा तामाङ भाषा मात्र बोलिन्थ्यो । हामी दाजुभाइ दिदीबहिनीले नेपाली भाषामा कुरा गरेको माम् (हजुरआमा)लाई मन पर्दैनथ्यो । कतै नेपाली शब्द परिहाले ‘लु चु बामन दो दाजि । ह्राङला ग्योइ आसेबा ।’ (यो बाहुन बन्न लाग्यो । आफ्नो भाषा नजान्ने ।) माम् कराउँथिन् । उस्तै परे आखे (हजुरबा)लाई समेत बजाइदिने माम्को अगाडि हाम्रो के चल्नु ?

घरमा तामाङ भाषा राम्रो भए पनि स्कुलमा हाम्रो नेपाली भाषा बिजोग थियो । सर आयो । तँहरु कता जाने ? हामीहरु आयो । तँपाई ढिला भयो । आदि इत्यादी । क्षेत्री, बाहुन साथीहरु जस्तै बोल्न खोज्थ्यौं मरे काटे नहुने, नसक्ने ।

लेखन पनि त्यस्तै । आफूलाई एकदम शुद्ध लेखे जस्तो लाग्थ्यो, मिल्दै नमिल्ने । व्याकरण छेउटुप्पो केही नमिलने । बहुबचन लेख्यो एक बचनमा हुने एक बचनमा लेख्न खोज्यो बहुबचन । कताको पुलिङ्ग, कताको स्त्रीलिंग शब्द । लेखाइ र बोलाइ दुबै कमजोर ।

कक्षामा कि त हाँसोका पात्र बन तत्र चुप लाग । स्थिति यस्तोसम्म बन्यो । अब चुप लाग्नुको उपाए थिएन । म कक्षामा बोल्ने कम सुन्ने बढी गर्न थाले । यसो गर्दा एउटा त मैले बोल्ने शैली थाहा पाएँ, बुझ्दै गएँ अर्को मेरो बोलाई सुनेर साथीहरु नहास्ने भए । आफू हास्यपात्र बन्नु परेन ।

मेरो जिन्दगीमा नेपाली बोलाई र लेखन एउटा ‘च्यालेन्जिङ’ विषय बन्दै गयो । मलाई लाग्थ्यो मेरो नेपाली लेखन र बोलाई जिन्दगीभर यस्तै रहनेछ, जबसम्म तामाङ भाषा घरमा बोलिन्छ । घरमा नेपाली नबोलने, विद्यालयमा तामाङ बोल्न नपाउने । कक्षा चढ्दै गयो सरहरुले भन्न थाले– ‘अरु ठीकै छ केटा लेखाई त गोलखाँडी छ । मेहनत गर ।’

हालत बिजोग थियो । अहिले पनि सम्झिदा अजिव लाग्छ । सर मिसहरुले पढाएका कुरा तामाङ भाषामा बुझेर नेपालीमा बोल्नु र लेख्नु पर्ने । पढेका कुरा तामाङमा उल्था गरेर बुझ्नु पर्ने अनि सम्झनु पर्ने । उसै त आफ्नो दिमागमा नेपाली शब्दभण्डार ज्यादै थोरै मात्र थिए । तामाङमा उत्तर सम्झिए पनि नेपालीमा लेख्न खोज्यो मरे आउँदैनथिए । घाँटी भित्र अड्किए जस्तै हुन्थ्यो ।

मलाई लाग्थ्यो तामाङ भाषाले मेरो पढाई खाने भो अनि माम्को पनि ठूलो हात छ मेरो पढाई बिग्रिनुमा । घरमै नेपाली बोले मेरो पढाई सुधार हुन्थ्यो कि ? हुँदा हुँदा मलाई तामाङ भाषा बोल्नै नपरे हुन्थ्यो जस्तो लाग्न थाल्यो । विस्तारै आफ्नो मातृभाषा तामाङ भाषाप्रति नै वितृष्ण जाग्दै गयो । हुँदा हुँदा स्कुल जान पनि मन नलाग्ने भयो ।

स्कुलमा साथीभाइ सबै क्षेत्री बाहुन थिए । तामाङ विद्यार्थी स्कुल भरिमै दिदी, दाइ र म मात्र थियाैं । हामी बाटोभरि खेल्दै, उफ्रिदै हिड्थ्यौ । विद्यालयको चौर टेक्ने बित्तिकै हामी मौन हुन्थ्यौं । तामाङ हुनुमा, तामाङको कोखमा जन्मनुमा हामीलाई पीडा महसुस हुन्थ्यो । बरु बाहुन, क्षेत्रीको बच्चा भएको भए हुन्थ्यो भन्ने लाग्थ्यो ।

घरमा एउटा रेडियो थियो, नेपाली मात्र बोलेको बोलेकै गर्ने । पहिले म रेडियोमा के बज्छ ? के कार्यक्रम आउँछ ? म खासै सुन्दैनथिएँ । भाषाकै कारण होला त्यो पनि । खेल्नु, उफ्रिनु, घाँसे मैदानमा फट्याङ्ग्र लखेट्नु, दौडिनु । हामी थरथिरे भन्थ्यौं पछि थाहा पाएँ नाम ड्राइगन फ्लाई रहेछ समाउनु, हेलिकोप्टर भन्दै उडाउनु । यसैमा रमाउँथ्यौं । रेडियोको ध्यानै हुँदैन थियो ।

नेपाली भाषा सुधार गर्नकै लागि रेडियो सुन्न थालियो । दिनदिनै सुन्न थालियो । कहिले एक्लै कहिले दिदीभाइ मिलेर सन्थ्यौं । सुरु सुरुमा नबुझे पनि बिस्तारै बानी पर्दै गयो, बुझ्दै गयौं । मेरो नेपाली बोलाई पनि सुधार हुँदै गयो ।

एक दिन विद्यालय बिदा थियो । बिहान हामी रेडियो सुन्दै थियौं । साढे नौ बजेतिर हुनुपर्छ रेडियोले यसो भने- ‘अब सुन्नुहोस् तामाङ भाषामा समाचार ।’ यो सने पछि हामी एक छिन त आफै चित खायौं । यस्तो पनि होला र ? रेडियोमा तामाङ भाषामा समाचार !? आफ्नै कानले भर्खरै सुनेको कुरा पत्यार लागेन । समाचार आउनु अघिको धुन बज्यो । ज्यानमा एक खालको तरङ्ग प्रवाह भयो । ‘चु रेडियो नेपाल हिन्ना । रमिता लामा ग्याम्से साङ्ग्युर ङ्यान्स्युगो ।’ (यो रेडियो नेपाल हो । रमिता लामाबाट समाचार सुन्नुहोस् ।)

लौ हाम्रै भाषामा समाचार आयो । छाती फुले जस्तो भयो । गर्वले छाती चौडा भयो । खुशीले के गरौं, कसो गरौं भयो । कुदेर माम्लाई एकै सासमा सुनाएँ- ‘रेडियोरि तामाङ ग्योइरि समाचार खाजि ।’ (रेडियोमा तामाङ भाषामा समाचार आयो ।)

‘सत्तान खाबा नि एसे तिनि थेजि ।’ (सधै आउँछ नि तैले आज सुनिस् ।) बुढीलाई के के न सुनाएँ भनेको बासी कुरा पो सुनाएछु ।

यस अघि मलाई लाग्थ्यो तामाङ भाषा भनेको कही कतै प्रयोग हुँदैन । घरमा माम्सँग मात्रै हो । म झुटो ठहरिएँ ।
अहिले नेपालभरि धेरै एफएम स्टुडियो खेलेका छन् । एफएममा काम गर्ने रेडियोकर्मी पनि धेरै छन् । तामाङ भाषाका धेरै कार्यक्रमहरु प्रशारण भइरहेका छन् । तामाङ भाषाका पत्रपत्रिकाहरु पनि थुप्रै प्रकाशन भइरहेका छन् । तामाङ पत्रकारहरु पनि धेरै जन्मिसकेका छन् । रेडियोमा तामाङ भाषाको प्रशारण हुन थालेको पनि पच्चिस वर्ष भैसकेको छ । लक्का जवानको स्थितिमा छ तामाङ पत्रकारिता । यतिबेला तामाङ पत्रकारिताको स्तरियताको मापन हुनु पर्ने बेला भने भइसकेको छ ।

तामाङ पत्रकार भनि हिड्न देख्दा जति सजिलो लाग्छ त्यति सजिलो भने छैन । लेखन प्रणालीमा भर्खरै प्रवेश गरेको तामाङ भाषाको एक त लेखन मानकको विकास भइसकको छैन भने अर्को भाषामा एकरुपता छैन । स्थानीय भेदहरुले गर्दा तामाङ भाषा लेखनमा मात्र होइन बोलाइमा समेत विविधता रहेको छ । यसले सूचना सम्प्रेशनमा कठिनाइ उत्पन्न त हुने नै भयो त्यसमाथि आवश्यक तालिम र अध्ययनको अभाव र स्वयंसेवकको रुपमा पत्रकारिता गर्नु पर्ने भएकोले भाषिक पत्रकारिता झनै असहज र कठिन बन्ने गरेको छ । अर्को कुरा संख्याले मात्र केही हुने वाला छैन गुणात्मकता जरुरी हुन्छ । रेडियोमा सँधै सेलो जुहारी बजाएर मात्र तामाङ पत्रकारिता अघि बढ्ने वाला छैन । अब बिस्तारै गुणत्मक भाषिक पत्रकारितामा अघि बढौं । सबैलाई २५औं तामाङ प्रसारण दिवसको शुभकामना !

तपाईको प्रतिक्रिया