बोनम्यारो बिरामीको सहयोगार्थ च्यारेटी शो गरिएको चलचित्र `सायाबुङ´को पत्रकार सम्मेलन गरी समिक्षा तथा आर्थिक संकलन सार्वजनिक सार्वजनिक गरिएको छ ।
किराँतीहरुको संस्कृतिमा आधारित नेपाली भाषी चलचित्रको समिक्षा तथा आर्थिक संकलन शुक्रबार खोबारस्थित क्लासिक रेस्टुरेन्टमा गरिएको हो । किराँत राई यायोक्ख साउदीले अगष्ट १३ तारिखमा चलचित्रको च्यारेटी शो सम्पन्न गरेका थिए ।
पत्रकार सम्मेलनमा तमु धिका अध्यक्ष खेम गुरुङ, मगर संघका बरिस्ठ सल्लाहकार खिम गर्बुजा मगर, उपाध्यक्ष धनकुमारी मगर, अन्तर समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका बरिस्ठ सल्लाहकार दिपक सिंह थापा, कोषाध्यक्ष भिम मगर आदिवासी जनजाति महासंघका उपाध्यक्ष ओम घले, दिदिबहिनी समूहकी अध्यक्ष तुलसी गुरुङ, उपमहासचिव मञ्जु परियार, जिफन्ट सहयोग समूहका आर्थिक सचिव रमेश बुढा मगर, लिम्बुवान सामाजिक मञ्चका महासचिव लोकेन्द्र लिम्बु, सामाजिक अभियान्त अन्जनी कुमार अधिकारी, मेनपावर व्यवसायी राजेश लिम्बु लगायतले समिक्षा गरेका थिए ।
आयोजक यायोक्खाका उपमहासचिव रविन थुलुङ राईले चलचित्र च्यारेटी शो को आयव्यय प्रस्तुत गरेका थिए । उपमहासचिव राईले च्यारेटी शोमा २६५ वटा टिकट बिक्रि भएको बताए । उक्त बिक्री भएका टिकटबाट १३ हजार ७५ रियाल जम्मा भएको र शो व्यवस्थापनका लागि विविध खर्च ३ हजार ५ सय १० रियाल भएको जानकारी दिए ।
उपमहासचिव राईले खर्च कटाएर ९ हजार ५ सय ६५ रियाल बचेको बताए । उक्त रकमबाट बिरामीलाई ५०% रियाल निर्मातालाई ४०% र आयोजकलाई १०% रियाल छुट्याइएको राईले जनाए ।
सहनिर्माता तथा व्यवसायी लिम्बुले लामोसमय साउदी रहेर आफू सामाजिक संघसंस्था आबद्ध भएका अनुभवले चलचित्रलाई साउदीमा च्यारेटी शो गराउन सहकार्य गरेको बताए । उनले चलचित्र च्यारेटीका लागि यसअघि भएको बिरामीलाई ५०% र निर्मातालाई ५०% को सहमति आयोजकलाई आर्थिक भार देखिएका कारण सहनिर्माताको हैसियतले ४०% लिने घोषणा गरे ।
आयोजक यायोक्खाका कार्यबाहक अध्यक्ष सिके चाम्लिङले चलचित्र निर्माण कम्पनी, हलसम्म उपस्थित जनाई च्यारेटी शो लाई सभ्य र भव्य बनाइदिने सबैलाई धन्यवाद दिए । अध्यक्ष चाम्लिङले शो गर्दा भएका कमीकमजोरीलाई आगामी दिनमा न्यूनीकरण गरेर जाने बताए ।
शान्ति राई बचाउ अभियानका साउदी संयोजक समीर राईलाई सहयोग हस्तान्तरण गरेका थिए । त्यसैगरी चलचित्रका सह निर्माताको हैसियतले लिम्बुले निर्मातालाई छुट्याइएको रकम बुझेका थिए ।
आयोजकका अनुसार बिरामी शान्ति राईको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा सफल बोन म्यारो ट्रान्सप्लान्ट भैसकेको छ ।
पाँचथरको विभिन्न स्थानमा छायांकन गरिएको `सायाबुङ´ दि पाल्मा ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएका हुन् । भोगिराज राईको निर्देशन रहेको चलचित्रमा सौजन सुब्बा, निशा दुमी राई, सगुन सुसारा, साया बान्तवा राई, मदन दुमी राई लगायतका कलाकारहरुको अभिनय रहेका छन् । चलचित्रको निर्मात्री साया लिम्बु हुन् ।