गायिका जानुका तामाङको तीज गीत `मरिन्छ कि साइलो´ बजारमा

सैलुङअनलाइन संवाददाता
काठमाडौं

गायिका जानुका तामाङको तीज गीत ` मरिन्छ कि साइलो ´ बजारमा आएको छ । कोरोना भाइरसले निम्त्याएको संकटले दुःखी गरीबलाई चुलो बाल्नसमेत समस्या परेको विषयमा आधारित रहेर गीत तयार पारिएको छ ।

गीतमा खेम सेन्चुरी, जानुका, विमलराज क्षेत्री, राधिका हमाल र खुमन अधिकारीको स्वर रहेको छ । शब्द सिर्जना नेत्र आर्यालले गरेको छ भने संगीत सेन्चुरीको रहेको छ । गीतको म्युजिक एरेञ्ज विनोद बाजुरालीले गरेको छ, भने भिडियो निर्देशन प्रकाश भट्टले गरेको हो ।

भिडियोमा सबै गायकगायिकाले अभिनय गरेका छन् । सेन्चुरीले संगीत गरेका गीतले पछिल्लो समय निकै चर्चा पाउन थालेका छन् । गतवर्ष उनकै स्वर तथा संगीत, अर्यालको शब्दमा बजारमा आएको शम्भु कुँवरको तीज गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ ले युट्युबमा एक करोड ३३ लाखभन्दा बढी भिउज बटुलेको छ ।

सेन्चुरीको संगीत, स्वर रहेको गीत ` झ्यालमा पर्दा पर्दा छ ´ ले एक करोड ६५ लाख धेरै भिउज पाएको छ । उनको संगीत रहेको अर्को गीत ` चिया छानेको ´ ले एक करोड ७६ लाखभन्दा बढी भिउज बटुलेको छ । सेन्चुरीको संगीत, स्वर रहेका सबैजसो गीत चर्चामा छन् ।

तपाईको प्रतिक्रिया