दोलखामा मात्र मनाईने भैरव कुमारी पर्व शनिबारबाट प्रारम्भ भएको छ । प्राचीन नगरी दोलखामा गाईजात्राको भोलिपल्टदेखि पाँच रात लगातार मन्दिर र स्थानीय टोलहरुमा देखाइने भैरव कुमारी जात्रा भदौ ४ गते रातिसम्म चल्लने छ ।
टँसिचा टोलस्थित कुमारी घरबाट भैरव, कुमारीकी आमा (नकिन), घोडचढी र जाल हान्नेसहित १३ जनाको समूह परम्परागत आभूषण र बाजागाजा सहित आकर्षक शैलीमा नाच्दै देखाइने जात्रा हो भैरवकुमारी जात्रा ।
मनले चिताएको इच्छा पूरा हुने विश्वासका साथ इच्छुक नारीहरू जात्राको समयमा व्रत पनि बस्ने गर्छन् । व्रतालुहरु बिहानदेखि भोको बसेर साँझ जात्रा निकालेपछि पूजापाठ गरी खाना खाने स्थानीयवासी हर्क बहादुर श्रेष्ठले जानकारी दिए ।
‘पाँच सय वर्ष पुरानो भैरवकुमारी जात्रामा देशका विभिन्न भागबाट मनोकाङ्क्षा पूरा हुने विश्वासले भक्तजनहरु आउने गर्छन् ।’ हर्कबहादुरले भने, ‘भैरवकुमारीको दर्शन, पूजापाठ गर्न र चढाइका अविर, अक्षता र फूलहरू संकलन गरी लान रातभर सहभागीहरू नाचको अघिपछि हिँड्छन् ।’
द्वापर युगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरूलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको स्थानीयहरुको भनाई रहेको छ । तान्त्रिक विधि गरेर सुरु गरिने जात्रा निकाल्नु पूर्व व्रत बस्ने महिलाहरू दिनभर नखाई टँसिचा टोलको गुठीघरमा भेला हुन्छन् । व्रत बस्नका लागि बिहे भएर गएका चेलीबेटीहरु पनि माइती र्फकन्छन् ।
जात्रा अवधिभर ५ रात दोलखा बजारवासी जागै बस्छन् भने होटल र पसल खुला हुन्छन् ।