प्रदेश नं. ३ का सांसद हिमाली गोलेले मातृभाषा बचाउनका लागि तीनै तहका राज्य संचालकहरु एक हुनुपर्ने बताइन् । आइतबार तामाङ प्रशारणको रजत जयन्तीको अवसरमा बोल्दै सांसद गोलेले भनिन्, ‘सरोकारवाला समुदायहरुले नीति निर्माण र संरक्षण संबद्र्वन गर्न सम्बन्धित निकायसँगको सहकार्यमा अगाडि बढ्नुपर्छ ।’
नेपाल राष्ट्रिय तामाङ घेदुङद्वारा काठमाडौंमा आयोजित विशेष प्रशिक्षण कार्यक्रममा सल्लाहकार एवं क्याप्टेन डिके बुदिष्टले तामाङ समुदायको पहुँच राज्यसत्ता संचालनसम्म नपुगे गरिबी र पछौटेपन नहट्ने बताए ।
यसैगरी सकारात्मक सोंचका अभियन्ता एवं मानवशास्त्री बुद्वि तामाङले प्रशिक्षण दिदै समृद्ध तामाङ समुदाय निर्माणको दृष्टिकोणलाई प्रष्ट्याएका थिए ।
कार्यक्रममा नेता कान्छाराम तामाङ, नारायणबहादुर सुवेदी, आशा तामाङलगायतले रजत जयन्तीको शुभकामना दिएका थिए ।
आगामी दिनमा तामाङहरु एक हुने हो भने संचार लगायतका विविध क्षेत्रमा उपलब्धिमूलक काम गर्न सकिने घेदुङका अध्यक्ष बीरबहादुर योञ्जनले बताए ।