तामाङ प्रशारण रजत जयन्तीमा

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

तामाङ पत्रकार संघले तामाङ प्रशारणको रजत जयन्ती मनाएको छ । संघले आइतबार तमु बौद्व सेवा समिति काठमाडौंमा एक कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाएको हो ।

रजत जयन्तीको अवसरमा संघले ३ वटा प्रशारक संस्थाहरुलाई सम्मान गरेको छ । संघले रेडियो नेपाल, रेडियो सगरमाथा र मेट्रो एफएमलाई सम्मान गरेका हुन् ।

वि.सं. २०५१ भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण सुरु भएको थियो । यसै दिनलाई आधार मानेर तामाङ प्रशारण दिवस मान्न थालिएको हो ।

तामाङ भाषाका कार्यक्रमहरु नियमित प्रसारण गरी तामाङ भाषा संरक्षण, सम्वद्र्धन र सूचना प्रचारप्रसार गरेबापत आज ती सञ्चार संस्थाहरुलाई सम्मान गरिएको संघका अध्यक्ष विष्णु मोक्तानले बताए ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङले सबै राष्ट्रिय भाषाहरुलाई राज्यले उचित संरक्षण गर्नुपर्ने सुझाव दिए । पूर्वसचिव तामाङले भने, ‘राज्यले तामाङ भाषाको विकासमा प्राथमिकता दिएको छैन । समुदाय आफै जागरुक भई मातृभाषालाई जोगाउन सके फाइदा हुनेछ ।’

त्यसैगरी नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले मेट्रो एफएममार्फत् धेरै तामाङ संचारकर्मी उत्पादन भएको बताए । उनले रेडियो नेपालको तामाङ बुलेटिनलाई केन्द्रीय प्रसारणमा लैजानुपर्नेमा जोड दिँदै प्रशारण दिवसको रजत जयन्ती मनाउन सफल भएकोमा घेदुङले पत्रकार संघलाई आगामि ल्होछारमा सम्मान गर्ने घोषणा समेत गरे ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश काफ्लेले क्षेत्रीय प्रशारण अन्र्तगत रहेको तामाङ भाषाको ‘समाचार बुलेटिन’ र ‘स्ह्याल्गार’ कार्यक्रमलाई संस्थाले प्रादेशिक संरचना अनुसार विस्तार गर्दै लैजाने बताए ।

मेट्रोका प्रमुख धर्म मनिकारले मातृभाषाहरुमा नेपाल भाषा र तामाङलाई रेडियो नेपालले प्राथमिकतासाथ प्रसारणमा ल्याइएको बताए । उनले आगामी दिनमा एफएमले तामाङ भाषाले नेपालको पहिचानलाई चिनाउनमा अहम भूमिका खेल्नुपर्नेमा जोड दिए ।

एसियाकै पहिलो सामुदायिक एफएम रेडियो सगरमाथाका कार्यकारी निर्देशक सुबोध गौतमले आफ्नो संस्थालाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा ‘तामाङ काइ’ लगायत मातृभाषाका कार्यक्रमहरुलाई प्राथमिकता दिने बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका