जनयुद्धका कमाण्डर चलाकसिंह भन्छन्–भ्यागुता जस्तो उफ्रिनेहरू माथिमाथि पुगे, सर्प जस्तो घस्रिने म जमिनमै रहेँ

काठमाडौँ

रातीदेखि नै झमझम परिरहेको पानी बिहान हुँदा पनि रोकिएन । काठमाडौँबाट मण्डनदेउपुरको कुन्ताबेँशी हुँदै तिमालसम्मको यात्राको थकानले छ्याङ उज्यालो हुँदासम्म पनि म नउठीकन ओछ्यानमै पल्टिरहेँ । गाउँका प्राय सबै घरहरू २०७२ सालको भूकम्पले भत्काएपछि अधिकांश घरको छाना जस्ताले छाएका थिए । कानमा एकोहोरो पानी दर्केको बाहेक बाहिरको अरू आवाज सुनिँदैनथ्यो । घरीघरी उठ्नुपर्यो‍ भन्दै आँखा खोल्थे तर फेरि निदाउँथे । यत्तिकैमा छेउकै अर्को खाटमा सुतेका भाइ दावादोर्जे लामाले ब्युँझाए– मोहन दाइ, दाइ….। दुई पटक बोलाइसकेपछि म उठ्नै पर्‍यो भनेर सुतिरहेको जस्तो अभिनय गर्दै भने– हँ.. भाइ दावा । किनकि मलाई पानी झरीमा कतै हिँड्नु जाँगर थिएन । झरीमा अबेलासम्म सुत्नु मलाई अहिले पनि भिन्नै आनन्द लाग्छ । उसले फेरि बोलायो– मोहन दाइ उठ्नुस् अब । तल्लो गाउँमा मेरो जन्म घर र गायक चन्द्रकुमार दाइको घर पनि एक ठाउँमा छ । म तपाईँलाई त्यहाँ लान्छु । घर नै हेर्नको लागि मलाई आधा घण्टा ओरालो र एक घण्टा उकालोको बाटो हिँड्नै मन लागेन । तरपनि आफूलाई पहिलो पटक त्यस ठाउँमा पुर्‍याउने भाइले भनेपछि त जानै पर्यो‍ ।

बिस्तारै ओछ्यानबाट उठे । दुवै जनाले ओछ्यानमै बसेर एकएक गिलास तातोपानी पियौ । पानी पिउँदा पिउँदै बाटोको बारेमा छलफल भयो । तिमालमा पानीको निकै दुःख रहेछ । अझै पनि आकासे पानीको भर पर्नुपर्ने अवस्था छ । चिप्रा र कलेटी बसेको अनुहारमा दुई मुख आकासे पानी छ्यापेर हामी छाता ओढ्दै ओरालो लाग्यौ । हामीलाई तल्लो गाउँमा पुर्या‍उने भन्दै दावाको आगु (काका) पेमा लामा पनि सँगसँगै हिँड्नुभयो । बाटो पुरै रातभरि परेको पानीले कतै खाल्डो त कतै हिलो र उत्तिकै चिप्लो पनि बनाएको थियो । अलि तल झरेपछि पिपलको ४, ५ वटा बोट र चौतारो जस्तो ठाउँमा पुग्यौ । दावा अघिअघि, म बिचमा र ७० हाराहारी उमेरका आगु पछिपछि हुनुहुन्थ्यो । चौतारोमा मान्छे बस्न हुने गरी सिमेन्टेड गरिएको ठाउँमा वर्षाको पानीले हरियो लेउ जमेको थियो । आगु त्यहीँ चिप्लिएर नराम्रोसँग लड्नुभयो, फर्केर हेरेको त आगुको पछाडि पानीले भिजेर पुरै हिलो भएको देखेँ । बिस्तारै उठ्दै तामाङ भाषामै भन्नुभयो– ङाम पेनागि ताजीदा (म त लाज मर्नु पो भयो) । मैले हाँसो थाम्न सकिनँ । दावा अलि कम हाँस्ने, काकातिर हेरेर फिस्स मात्रै हाँसे । यसपछि उहाँ फर्किनुभयो र हामी दुई जना लुखुरलुखुर ओरालो लाग्यौँ ।

दिनभरि माछा मारेर ल्याउँदा पनि सबै माछा साहु र उसको आफन्तले खाने तर आफ्नो भागमा भने दुइटा मसिनो माछा र झोल मात्रै । काम गर्दा कहिल्यै जस नपाउने अनि ऋण तिरेर कहिल्यै नसकिने ।

दुई, तीन वटा घरमा पसेर दावाले चिनजानका महिलाहरूसँग भलाकुसारी गरेपछि गाउँ बिचको एउटा घरमा पुग्यौ । घर पछाडिपट्टि साढे पाँच फिटभन्दा अग्लो मानिस राम्रोसँग उभिन नमिल्ने एउटा गोठ देख्यौ । सँगै जोडिएको थियो, भूकम्पको आवास व्यवस्थापन अन्तर्गत बनेको सानो दुई कोठे घर । झ्याल नभएकोले गोठभित्र केही अँध्यारो थियो । त्यहाँ रातको समयमा एकपट्टि आधा दर्जन बाख्राहरू बाँध्ने ठाउँ थियो भने अर्कोपट्टि मान्छे सुत्ने र खाना पकाएर खाने चुलो पनि देखियो । हामी पुग्नासाथ त्यहीँ गोठबाट अँध्यारोलाई चिर्दै जनयुद्धका एक सशक्त कमान्डर चलाकसिंह तामाङ बाहिर निस्किए । मैलो भेष्ट, कटकटाउँदो हाफ पेन्ट, खुट्टामा रबरको कालो जुत्ता, अधिकांश दाह्री–जुँगा फुलेका र अनुहारमा मुजैमुजा तर पनि एउटा आशा र विश्वास सहितको मन्द मुस्कान लिएर बुढ्यौली अवस्थाका चलाकसिंह हाम्रो अगाडि ठिङ उभिए । दावाले सुरुमै उहाँसँग मेरो परिचय गराए । मैले औपचारिक कुरा सुरु गर्न नभ्याई फटाफट पो बोल्न थाले– के गर्ने सर, अरू भ्यागुता जस्तो फाल हान्दै गए, म सर्प जस्तो घस्रिँदै हिँड्दा जति घस्रिए पनि जमिनमै रहेँ । राजनीतिमा भ्यागुता जस्तो फाल हान्न सक्नुपर्ने उनको तर्क थियो । उनी एकपछि अर्को कुरा बोल्न आतुर देखिन्थे । लाग्थ्यो, उनीसँग थुप्रै कुराको उकुसमुकुस छ । जुन कुरा सुन्ने श्रोता गाउँमा छैनन् । मैले कुरै कुरामा हाँस्दै सोधे– प्रकृतिमा त घस्रिने सर्पले उफ्रिने भ्यागुतालाई खान्छ त ? तपाईँले किन खान सक्नु भएन ? मेरो प्रश्नमा उनले प्रकृति र राजनीति नमिल्ने जिकिर गरे । बोलिरहँदा कुनै पुस्तक घोकेका विद्वानले जस्तो रेडिमेड तर्क गरेनन् । हरेक पटक आफ्नो कुरालाई पुष्टि गर्न गाउँको दैनन्दिन जीवनको व्यवहारबाट पुष्टि भएको दलिल पेस गर्थे ।

गाउँको साहुले जति काम गरे पनि दुःख मात्र दिएको उनी अहिले पनि झलझली सम्झन्छन् । किन कम्युनिष्ट बन्नु भयो ? भनेर प्रश्न गर्दा उनले बाल्यकालको सम्झना गर्दै भने– दिनभरि माछा मारेर ल्याउँदा पनि सबै माछा साहु र उसको आफन्तले खाने तर आफ्नो भागमा भने दुइटा मसिनो माछा र झोल मात्रै । काम गर्दा कहिल्यै जस नपाउने अनि ऋण तिरेर कहिल्यै नसकिने । यसरी बाल्यकालमै साहुको घरमा बसेर धेरै दुःख भोगेका चलाकसिंह मुक्ति पाइने भन्दै कम्युनिष्ट नेता कमानसिंह लामाबाट १५ वर्षको उमेरमै सदस्यता लिएर पार्टीमा होमिए । गाउँका जनतालाई उठाउन थुप्रै गीत लेखे । उनी आफूले रचना गरेका गीतको एउटा किस्सा सुनाउँछन्–

थकाई मार्न चौतारीमा भारी बिसाउने ।
              जति काम गरे पनि साहु जी रिसाउने ।।

उनले यस्ता थुप्रै गीतहरू लेखे, आफू जस्तै दुःख पाएका धेरै जनालाई कम्युनिष्ट बनाए । लामो समय माओवादी जनयुद्धमा होमिएका चलाकसिंह पार्टीको जनसरकार प्रमुख सम्मको पदमा पुगे । जनयुद्धको बेला पार्टीको निर्देशन अनुरूप थुप्रै भिडन्तहरूमा प्रत्यक्ष भाग लिए । तर अहिले राजनीतिबाट गुमनाम झैँ छन् । पार्टीको कुनै जिम्मेवारीमा छैनन् । गाउँको पानी, बिजुली, स्कुल, बाटो लगायत विकासको लागि भने अग्रसर हुन्छन् । तामाङ भाषामै कुरा गर्न चाहने उनी भन्छन्– दिम्ला जग युवारीजा ङा सफल ताजी तरम धुरी बिट मारआलानी (घरको जग खन्न चैँ सफल भएँ तर धुरी मार्न पाइनँ) । उनले नेपालको राजनीतिलाई पनि धुरी मार्न नपाएको जस्तै अवस्थामा देखिरहेका छन् । मैले औपचारिक रूपमा उनकै छेउमा बसेर कुराकानी गर्न थालेपछि अलि अक्मकिए । त्यसमा झन् दावाले थपे– उहाँ त पत्रकार पनि हो नि । उहाँले सुरुमा मलाई सर भन्दै कुराकानी अघि बढाएपछि अलि असहज जस्तो भयो । अलि सुकिलो लुगा लगाएको नयाँ मान्छेलाई सर भनेर कुरा गर्नुहुँदोरहेछ । मैले सहजताको लागि म सर होइन, म पनि गोलेको छोरा, तपाईँको भतिज हो भनेपछि अलि खुलेर कुराकानी गर्नुभयो ।

चलाकसिंहसँग कुराकानी गर्दै दावादोर्जे र मोहन ।

जीवनको उर्वर समय पार्टीमा लागेर अधिकांश समय भूमिगत भएका चलाकसिंहले थुप्रैलाई हातमा समातेर पार्टी सदस्यता दिए । जनयुद्धमा हिँडाए र राजनीति गर्न सिकाए । आज उनले राजनीति सिकाएकाहरू मन्त्री, सांसदसम्म भएका छन् तर उनले पालिकास्तरमा पनि कुनै पद पाएनन् । आजभोलि पार्टीको कुनै पनि सक्रिय गतिविधिमा उनको अनिवार्य सहभागिता हुँदैन । उमेरले ७० नजिक पुगेका चलाकसिंहले आफू सुत्ने गोठमै लाम्काने जातको दुई माउ बाख्रा पालेका छन् । वर्षमा बाख्राबाट दुई, तीन लाख आम्दानी हुन्छ । उनी भन्छन्– त्यहीँ बाख्राबाट जन्मेको बोका, पाठा बेचेर गुजारा चलाउँदै आएको छु । एक्लै हुँदा उनी तिनै बाख्राहरूसँग बोल्छन् र अन्तरक्रिया गर्छन् । मान्छेसँग बोल्दा छलकपट हुन्छ तर पशु र प्रकृतिसँग अन्तरक्रिया गर्न पाउँदा आनन्द आउने उनले सुनाए ।

यसैगरी हामीले २०३६ सालको विद्यार्थी आन्दोलनमै सक्रिय सहभागिता जनाएका अर्का कम्युनिष्ट नेता पदम दोङलाई पनि भेट्यौ । उनको पनि कथा–व्यथा उस्तै थियो । पार्टीमा लागेर हिँड्दाहिँड्दै मिर्गौला रोगले थलिए । पार्टीले भारतको दिल्लीमा लगेर उपचार गराउने भनेको थियो तर उनको उपचार भएन । पदम भन्छन्– मकवानपुरका भक्तबहादुर श्रेष्ठको दिल्लीमा उपचार गराए तर मलाई वास्ता गरेनन् । जसोतसो आफ्नै खर्चले उपचार गरेँ । उपचार गरी जनयुद्धको आखिरी समयतिर उनी पार्टीमा जोडिए । गाउँ जनसरकार प्रमुख पनि बने तर पार्टीले आफूलाई कुनै जानकारी समेत नदिई जनसरकार प्रमुखबाट हटाएकोमा उनी दुःखी छन् । गाउँमा बसेर पनि उनी नेपालको पछिल्लो राजनीतिको हरेक घटनाक्रममा अपडेट छन् । ओली नेतृत्वको सरकारले गरेको घिनलाग्दो राजनीति पदमलाई पटक्कै मन परेको छैन । निष्क्रिय अवस्थामा बस्दा पनि कहिले वैद्य माओवादी त कहिले विप्लव माओवादीले पार्टीमा काम गर्न बोलाए । तर उनी पनि कतै नगई गुमनाम झैँ बसिरहेकाछन् । उनको पनि दिनचर्या चलाकसिंहको भन्दा भिन्न छैन ।

उमेरमा सँगै बस्न नपाए पनि दुवै कम्युनिष्ट नेताको बुढेसकालमा भने जीवनसाथी (श्रीमती) साथमै छन् । छोराहरू सहर पसे, छोरीहरू ज्वाइँको घरमा पुगे । यसरी छोटो समय लिएर यी दुई गुमनाम नेतासँगको कुरालाई बिट मार्दै हामी उकालियौ । मुक्पा आइपुगेपछि अघि चिप्लिएर लड्नु भएको काकाको घरमा खाना खायौ । खाना खाइसकेपछि मुक्पाको डाँडामा चढ्न बल गर्‍यौ । रातभरिको पानीले बाटो पुरै भल पसेर खाल्डाखुल्डी थिए । मैले बाटो अप्ठ्यारो होला, नजाऊँ भन्दाभन्दै पनि दावाले मुक्पा डाँडा दाइलाई देखाउनै पर्छ भन्दै अड्डी कस्यो । दावा अलि जिद्धिवाल छ भनेर म चुपचाप गाडीमा गएर बसे । अलि माथिको घुम्तीमा पुगेपछि गाडी अघि बढेन । मलाई भने भोलिको कार्यक्रमको तयारी गर्न काठमाडौँ कतिखेर फर्किने भनेर मन पोल्न थालिसकेको थियो । गाडी उकालो नचढेको ठिकै पनि लाग्यो ।

चलाकसिंहको घर

तल झरेपछि गाउँका आफन्तहरूसँग बिदा माग्यौ । कोही आज एक दिन बसे पनि हुने भन्दै थिए त कोही फेरिफेरि पनि आउनु है भनेर दावालाई कसम खुवाउँदै थिए । कोही बाटोको डिलमा उभिएर हात हल्लाउँदै थिए त कोही तलै आएर खुनखुन गर्दै हामी चढेको गाडी छाम्दै थिए । मुक्पाको लामा टोलबाट तल सुनकोसी उर्लिरहेको देख्यौ । सिन्धुलीको दुम्जा गाउँ पानीले टिलपिल भरिएको र बर्दिबास–धुलिखेल सडकमा सानासाना गाडीहरू कुदिरहेको देखिन्थ्यो । पारिपट्टि रामेछाप जिल्लामा ढप्प बसेको गाउँहरू, माथि मुक्पा (मुक्तबाट अपभ्रंश भएको) गाङ (डाँडा) । प्रत्येक टोलमा छुट्टाछुट्टै माने र बिसाउनी चौताराहरू । लामा टोलदेखि तल पाखामा स्काभेटरले बाटो बनाउने नाममा डाँडा खन्दै गरेको आवाज निरन्तर आइरह्यो– घटटट..घटटट.. । यसले प्रकृतिको विध्वंस गर्दै थियो तर गाउँलेहरू खुसी थिए किनकि विकासको नाममा विनाश गर्छ भन्ने पाटोबाट उनीहरू अध्ययन गर्दैनथे ।

जाँदाजाँदै अन्तिम पटक मुक्पाको लामा टोलबाट देखिने यस्ता थुप्रै रमणीय दृश्यहरू हेर्न म आँखालाई चारैतिर घुमाउँथे तर कुहिरोले ती दृष्यहरूलाई एकैछिनमा छोपिदिन्थ्यो । तिमालको गाउँहरूलाई नजिकबाट दृश्यावलोकन गर्ने मेरो सपना कुहिरोको कारण अधूरै रह्यो । शायद कुहिरोले भनिरहेको होला कि मेरो आँखाले मात्रै तिमाललाई हेरेर पुग्दैन । तिमालको रूप मात्रै देखेर हुँदैन । तिमालभित्र थुप्रै सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अन्तर्विरोधहरू छन् । त्यसलाई पनि नजिकबाट बुझ्नुपर्छ । तामाङ राजा ह्रेन्जिनदोर्जे मारिएको देखि जनयुद्धका कमान्डर चलाकसिंहहरू जन्मिएको सम्मको कथाहरू तिमालले गर्भमा खिचेर राखेको छ । त्यसलाई फुर्सदको बेलामा पन्नापन्ना पल्टाएर पढ्नुपर्छ । यसैले पनि अपूरो यात्रालाई पूरा गर्न फेरि चाँडै आउने वाचाका साथ मनभरि तिमालको माया बोकेर म काठमाडौँ फर्के । अहिले पनि मेरो मानसपटलमा तिमालको त्यो पहिलो यात्रा फिलिमको रिल झैँ ताजा बनेर घुमिरहेछ, घुमिरहेछ…………।

तपाईको प्रतिक्रिया