निजगढमा पनि तामाङ भाषाको पठनपाठन हुने

सैलुङअनलाइन संवाददाता
बारा

बाराको निजगढ नगरपालिकाभित्र रहेका २७ वटा सरकारी विद्यालयमा आगामी शैक्षिक २०७८ देखि तामाङ भाषाको पठनपाठन हुने भएको छ ।

नेपाल तामाङ घेदुङको संयोजन, भाषा आयोग प्राविधिक सहयोग र निजगढ नगरपालिकाको आर्थिक एवम् प्राविधिक सहकार्यमा मातृभाषा शिक्षा (तामाङ विषय शिक्षण) र स्थानीय पाठ्यक्रम प्रबलीकरण कार्यक्रम गरी जानकारी दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि उपमेयर लीलादेवी खनालले नेपाल बहुभाषिक एवम् सांस्कृतिक मुलुक भएको बताउँदै यस नगरपालिकाले त्यसलाई कार्य रूप दिन नेपाल तामाङ घेदुङको सहकार्यमा सराहनीय रहेको बताइन् । उनले आगामी दिनमा अन्य मातृभाषामा पठनपाठनको प्रबन्ध गर्न नगरपालिका लागी पर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस्तै कार्यक्रममा भाषा आयोगका उपसचिव डा. लोकबहादुर लोप्चनले मातृभाषामा शिक्षा, भाषा विषय पठनपाठन, दोस्रो भाषाका रूपमा नेपाली र अङ्ग्रेजी भाषा शिक्षा तथा सामुदायिक विद्यालयको सुधार एवम् सिकाइ उपलब्धि अभिवृद्धिका उपायसम्बन्धी प्रस्तुति गरिएको थियो ।

भाषाविद् डा. गोपाल ठाकुरले भाषिक समुदायले भाषा र संस्कृतिलाई संरक्षण गर्नको लागि त्यसलाई धर्म, संस्कार र शिक्षालगायत सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने विचार राखेका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोले तामाङले कार्यक्रमको औचित्य, महत्त्व, कार्यक्रम गतिविधिको बारेमा प्रस्तुत गरेका थिए ।

त्यस्तै तामाङ भाषा पाठ्यपुस्तक लेखक एवम् लिपि प्रशिक्षक प्रतीक ङेसुर तामाङले तामाङ भाषा पाठ्यपुस्तक र तामयिक लिपिको विषयमा सहभागीलाई प्रस्ट्याएका थिए ।

नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले यस नगरपालिकामा विविध भाषा र जाति रहेको हुँदा सबैको अपेक्षा सम्बोधन गर्नको लागि नगरपालिका यो कार्यक्रम आयोजना गरेको बताए ।

विद्यालयका प्रधानाध्यापक, वडाध्यक्षसहित नेपाल तामाङ घेदुङको पदाधिकारीहरूको सहभागिता रहेका थिए ।

यो पनि

कोन्ज्योसोममा तामाङ भाषामा पठनपाठन हुने

तपाईको प्रतिक्रिया