मदन पुरस्कार गुठीले यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँला (तील विक्रम नेम्बाङ) लाई दिने निर्णय गरेको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले काइँलालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको हो ।
त्यसैगरी वर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’ उपन्यासलाई दिइएको छ । गुठीले यसअघि नै मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।
काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् । उनले लिम्बु भाषा तथा मुन्दुम संस्कार र संस्कृतिको अध्ययन-अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको संमृद्धिमा उल्लेखनिय योगदान दिएकाले जगदम्बाश्री पुरस्कार प्रदान गरिएको मदन पुरस्कारले जनाएको छ ।
दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो । पुरस्कार असोज ३ गते वितरण गरिनेछ ।