यस वर्षको १४ औं संस्करणको वृहत अटो मेला नाडा अटो शोे यहि भाद्र १० गतेदेखि १५ गतेसम्म आयोजना हुने भएको छ । आइतबार नाडा अटोमोबाइल एशोसियसन अफ नेपालले राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘नाडा अटो शो २०१९’ को मिति घोषणा गरेको हो ।
प्रत्येक वर्ष दशैं र तिहारलाई लक्षित गर्दै आयोजना गरिँदै आएको शो यस वर्ष पनि आयोजना गर्न लागिएको नाडाले जानकारी दिए । यही वर्ष पनि काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिँदै पहिलेभन्दा व्यवस्थित तरिकाले प्रदर्शन गरिने नाडाका अध्यक्ष शम्भु दाहालले जानकारी दिए । उनले भने, ‘विगतका वर्षहरुमा प्रदर्शन हलमा मात्र सीमित हुने गरेको अटो शोलाई यस वर्ष विस्तार गर्दै कभर्ड हल हुँदै ठूलो चौर र बगैंचामा समेत विस्तार गरिएको छ ।’
मेलामा साना ठूला गरी १६० वटा स्टल र ब्लकहरु रहनेछ । जसअन्तरगत मेलामा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामाग्री उत्पादक एवं वस्तु तथा सेवाका स्टलहरु समेत रहने आयोजक नाडाले जनाएको छ । जसमा २३ वटा चार पाङ्ग्रे, १९ वटा दुई पाङ्ग्रे, १२ वटा लुब्रिकेन्ट, ९ वटा टायर, ५ वटा ब्याट्री, १४ वटा पार्ट–पूर्जा एवं ग्यारेज उपकरण र १३ वटा बैंक तथा वित्तिय कम्पनीहरुको सहभागिता रहने छन् ।
६ दिनसम्म चल्ने उक्त अटो शो मा ७५ हजार आगन्तुक तथा अवलोकनकर्ताले मेलाको अवलोक गर्ने नाडाले जनाएको छ । त्यसका लागि विगतका वर्षहरुमा जस्तै १५० र २०० मूल्यका दुई किसिमको टिकटको व्यवस्था गरिएकोे छ । १५० विद्यार्थीहरुका लागि र २०० रुपैयाँ सर्वसाधारणका लागि व्यवस्था गरिएको हो ।