फिदिमका ४ विद्यालयहरुले पाए कार्यसम्पादनमा आधारित अनुदान

पाँचथर

पाँचथरको फिदिम नगरपालिकाका ४ वटा विद्यालयले शैक्षिक सुदृढीकरण प्रोत्साहन अनुदान प्राप्त गरेका छन् । नगरपालिका अन्तरगत रहेका ७९ वटा सामुदायिक विद्यालयहरुमध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट अंक ल्याउने विद्यालयलाइ प्रोत्साहन दिइएको हो ।

प्रोत्साहन प्राप्त गर्ने विद्यालयहरुमा फिदिम ३ स्थित सुम्निमा आधारभुत विद्यालय, फिदिम १४ स्थित जनकन्या आधारभुत विद्यालय कुवापानी, फिदिम ११ स्थित तृतीया आधारभुत विद्यालय तृतीया र फिदिम १३ स्थित महादेव आवि फोक्टे परेका छन् । नगरपालिकाले उत्कृष्ट अंक ल्याउने सुम्निमा आधारभुत विद्यालयलाइ २ लाख र अन्यलाइ ५० हजार रुपैयाँ प्रोत्साहन अनुदान प्रदान गरेको छ ।

पालिकाले अन्तरगतका विद्यालयलाइ शैक्षिक सत्र २०७७ मा विद्यालय अनुदान व्यवस्थापन निर्देशिका २०७४ को अनुसुची ३ को कार्यसम्पादनमा आधारित मूल्यांकन फारम भर्न सूचना गरिएको थियो । फारममा विद्यालयले कार्यसम्पादन गर्दा १० वटा सुचकका आधारमा न्यूनतम अंक प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ । सोही अनुसार नगरका ७९ विद्यालयहरुमध्ये ८ वटा विद्यालयले मात्र अनुसुची अनुसारको कार्यसम्पादन मूल्यांकन फारम भरी पुस्ट्याइका आधार समेत पालिकामा पेश गरेका थिए ।

पालिकाले विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान शिर्षकमा संघीय सरकार मार्फत प्राप्त ससर्त बजेटबाट तोकिएको सुचङ्कका आधारमा कार्यसम्पादन सम्पन्न गर्ने विद्यालयलाइ कार्यसम्पादनमा आधारित अनुदान र उत्कृष्ट सिकाइ उपलब्धी भएका विद्यालयलाइ सिकाइ सुदृढीकरणका लागि प्रोत्साहन अनुदान प्रदान गरिएको फिदिम नगरपालिकाका शिक्षा अधिकृत निर्मला दहालले बताइन् । विद्यालयले प्रोत्साहन वापत प्राप्त अनुदानलाइ विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शैक्षिक गुणस्तर सुधारका क्षेत्र पहिचान गरी खर्च गर्नुपर्ने दाहालले बताइन् ।

तपाईको प्रतिक्रिया