विवादबिच सुरु भएको सेवा

दोलखा

दोलखाका छ जना युवाहरूले सहज यातायात सेवा दिने उद्देश्यका २०७६ सालबाट अटोरिक्सा सञ्चालन गरे । तर उनीहरूले सुचारु गरेको सेवा मापदण्ड विपरीत भएको भन्दै विवादमा तानियो ।

साँघुरो, घुमाउरो र उकालो-ओरालो सडकका कारण दुर्घटनाको दृष्टिले अटोरिक्सा सञ्चालन गर्न जोखिम रहेको भन्दै भीमेश्वर नगरपालिकाले केही महिना रोक्यो । तर ती युवाहरूले हिम्मतकासाथ सम्पूर्ण विधि र प्रक्रिया मिलाएर पुनः सेवा सुचारु गरे । स्थानीयको आवश्यकता र माग अनुसार सुरु गरिएको यो सेवाबाट धेरै यात्रुहरू लाभान्वित भएका छन् । छोटो दुरीका लागि सार्वजनिक गाडी र बोलेरोको विकल्प बनेको छ अटोरिक्सा । युवाहरू आकर्षक कमाई हुन थालेपछि विदेशिनबाट रोकिएका छन् ।

तामाकोसी गाउँपालिकाका वडा नं. ४ का सुजन श्रेष्ठले पाँच वर्षसम्म मासु पसल सञ्चालन गरे । तर सोचे अनुरूपको सन्तुष्टि प्राप्त नभएपछि बिदेसिने सोच बनाए । आफ्ना साथीहरूले अटोरिक्सा सञ्चालन गरी आम्दानी गरेको देखेपछि उनले विदेशको सपना त्याग्दै अटोरिक्सा सञ्चालन गर्ने निर्णय गरे । छ लाख रुपैयाँमा अटोरिक्सा किने अनि कुदाउन थाले । उनले अटोरिक्सा चलाउन थालेको दुई वर्ष पुरा हुनै लाग्दा लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । पाँच लाखको लागतमा घरसमेत निर्माण गरेका छन्।‘सुरुवाती समयमा नगरपालिका र प्रशासनसँग धेरै सङ्घर्ष गर्नु पर्‍यो । तर हिम्मत हारिएन,’ सुजनले भने‚ ‘आवश्यक कागजात र प्रक्रिया मिलाएर अटो रिक्सा चलाइयो । कमाई पनि राम्रै भएकोले चरिकोटमै घर पनि जोडियो ।’

उनको अटोरिक्सा चरिकोट बजार, दोलखा बजार, पीपलबोट, मकैबारी लगायतका सहज सडक भएका क्षेत्रहरूमा यात्रु र सामान बोकेर बिहानदेखि साँझसम्म कुद्ने गरेको छ । सुजनले अटो रिक्सा चलाएर दैनिक पन्ध्रसयदेखि दुई हजारसम्म कमाउने गरेका छन्। उमेरले २५ औँ वर्षमा दौडिरहेका सुजन कर्मलाई धर्म ठानेर यात्रुको सेवामा तल्लीन भएका छन् । यही कर्ममा रमाउने सुजनका श्रीमती र दुई सन्तान पनि सुख सयलमा रमाउन पाएका छन्।

कोरोना भाइरस नियन्त्रण तथा न्यूनीकरणका लागि गरिएको निषेधाज्ञामा सम्पूर्ण सवारीसँगै उनको अटोरिक्साले पनि गुड्न पाएन। जस कारण उनलाई चिन्तित बनाएको थियो । तर निषेधाज्ञा खुलेसँगै स्वास्थ्य मापदण्ड पालना गर्दै उनको कर्म सुचारु भएको छ ।

तपाईको प्रतिक्रिया