कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकम बढ्यो

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोबार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबारमा कमी आएको थियो ।

गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ११ महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोबार रकममा वृद्धि भएको हो ।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आइपिएस, इन्टरनेट बैङ्किङ र मोबाइल बैङ्किङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महिनाको तुलनामा जेठमा क्युआर स्क्यान, मोबाइल वालेट र इकमर्समार्फत हुने कारोबार रकममा कमी आएको छ । बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आइपिएसमार्फत एक अर्ब ६९ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जेठमा एक खर्ब ५८ अर्ब २५ लाख ४० हजार रुपैयाँ बढीको कारोबार भएकामा वैशाखमा एक खर्ब ४१ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

इन्टरनेट बैङ्किङमार्फत गत वैशाखमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा रु ११ अर्ब १४ करोड २० लाख बराबरको कारोबार छ । गत वैशाखको तुलनामा जेठमा एक अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । मोबाइल बैङ्किङमार्फत गत वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा ५३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैङ्किङमार्फत चार अर्ब २७ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

घट्यो वालेटको कारोबार

वालेटमार्फत गत वैशाखमा १० अर्ब १० लाख रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा आठ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वैशाख महिनाको तुलनामा जेठमा मात्र एक अर्ब ७५ करोड ३० लाख रुपैयाँले कारोबारमा कमी आएको हो । यस्तै गत वैशाखको तुलनामा जेठमा क्युआरमा आधारित भुक्तानीमार्फत हुने कारोबारमा ५६ करोड १० लाख रुपैयाँले कमी आएको छ । वैशाखमा दुई अर्ब ५२ करोड ९० लाख रुपैयाँ कारोबार भएकामा जेठमा एक अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै गत वैशाखको अनलाइन (इ–कमर्स) का माध्यमबाट ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा कारोबार रकममा कमी आई १६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया