रसुवामा बायोफ्लक प्रविधिबाट माछापालन सुरु

सरस्वती न्याैपाने संवाददाता
रसुवा

जिल्लाको उत्तरगया गाउँपालिका वडा नं ४ स्थित मणिगाउँमा पहिलो पटक बायोफ्लक प्रविधिबाट माछा पालनको लागि परीक्षण गरेको छ ।

करिब तीन लाख रुपैयाँको लगानीमा अमृत लामा र अमित लामा दाजुभाइले आफ्नै जग्गामा दुई वटा पोखरी निर्माण गरी थालनी गरेका हुन् ।

मत्स्य अनुसन्धान केन्द्र नुवाकोटबाट टिलापिया, कमनकार्प जातका ३ हजार माछाको भुरा खरिद गरी पोखरीमा राखिएको उनीहरूले बताएका छन् ।

यो जातको माछा पालेको पाँच महिनामा बिक्री गर्न सकिन्छ ।

विगत १० वर्षदेखि थोरै मात्रामा सामान्य पोखरी निर्माण गरी माछापालन सुरु गरिएको सो पोखरीमा अहिले बायोफ्लक प्रविधिबाट व्यावसायिक रूपमा नै आधुनिक शैलीमा सुरु गरिएको अमृतले बताए ।

थोरै ठाउँमा कम लगानीमा मिहिनेत गरे नेपालमा नै बसेर पैसा कमाउन सकिने दाजुभाइको भनाई छ ।

‘यस प्रविधिबाट माछापालन गर्दा पोखरीमा माछाको भुरा हाल्नुअघि पानीमा ब्याक्टेरिया उत्पादन गर्नुपर्ने भएकाले पोखरीमा चौबिसै घण्टा अक्सिजन दिइरहनुपर्ने हुन्छ’‚ लामाले भने‚ ‘पानीको आवश्यक मापदण्ड समेत तयार पार्नुपर्ने हुन्छ ।’

माछा उत्पादन सुरु भएपछि हन्टिङ एन्ड ग्यादरिङको अवधारणा अनुसार होमस्टे समेत सञ्चालनमा समेत गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया