मुलुकभरको जनजीवन सामान्यतर्फ उन्मुख, कोभिडको जोखिम भने कायमै

नारायण ढुङ्गाना संचारकर्मी
काठमाडौँ

मुलुकभर गत वैशाख/जेठमा अत्यधिक रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण बिस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।

कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा पनि खुकुलो (लुज डाउन) गरिएको छ । काठमाडौँ उपत्यकामा असारदेखि खुकुलो बनाइएको निषेधाज्ञा साउनदेखि भने विशेष कामका लागि उपत्यका भित्रिने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेर थप सहजीकरण गरिएको छ ।

जनजीवन सामान्यतर्फ उन्मुख भइरहँदा पछिल्ला तथ्याङ्कले कोभिड–१९ को जोखिम भने कायमै रहेको देखाएको छ । सुरुमा एक्कासिमाथि उठेर तल झरेको सङ्क्रमणको ग्राफ पुन उकालो लाग्न थालेकाले वर्तमान परिस्थितिमा नागरिकले पनि सावधानी अपनाउनुपर्ने र राज्यले पनि भिडभाड हुने क्षेत्रमा बढी निगरानी गर्नुपर्ने जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेको भनाइ छ । विगतमा मुलुकका खोटाङ र मनाङबाहेक ७५ जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर कोभिड न्यूनीकरण तथा नियन्त्रणमा सक्रिय भएको थियो ।

गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार आजसम्म घटेर कूल ५८ जिल्लामा मात्रै निषेधाज्ञाको आदेश कायम छ । बाँकी १७ जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् । क्रमशः निषेधाज्ञा हटाउने क्रम जारी छ । यद्यपि पछिल्लो समयमा भने सङ्क्रमणदर मन्द गतिमा बढेकाले जोखिम कायमै रहेको स्वास्थ्यविज्ञहरुको भनाइ छ । निषेधाज्ञा लागू भएका जिल्लाले समेत अति भिडभाड हुने गतिविधिबाहेकका क्रियाकलाप खुला गर्दै लगेका छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोभिड नियन्त्रणमा आएर निषेधाज्ञा खुकुलो बनाएको नभई, जनजीवन सामान्य बनाउनका लागि सावधानी अपनाएर खुकुलो बनाएकाले सावधानी जरुरी रहेको बताए ।

समग्रमा आम मानिस सहभागी भएर गरिने सभा सम्मेलन र चलचित्र हललगायत गतिविधि बाहेकका क्रियाकलाप खुला गर्न थालिएको छ । अन्तरजिल्ला बाहेकका यातायात पनि सञ्चालन हुन थालेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनजीवनमा परेको असर कम गर्न बिस्तारै सहजीकरण गर्दै लगिएको जानकारी दिए । विगतमा खोटाङ र मनाङ जिल्लाले स्वअनुशासनलाई जोड दिए झैँ निषेधाज्ञा हटाइएका र हटाउने तयारीमा रहेका जिल्लामा पनि स्वअनुशासन कायम गर्नुपर्नेमा प्रशासनिक अधिकारीको जोड छ ।

नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमण वि.सं. २०७७ चैतको अन्तिम साताबाट सुरु भएको थियो । गत वैशाखको पहिलो साता बागलुङको बलेवास्थित नारायणथानको एउटा विद्यालयमा ३९ विद्यार्थी र एक शिक्षकमा एक्कासि कोरोना सङ्क्रमण देखियो । उक्त जिल्लाले सङ्क्रमणको जालो तोड्न विद्यालय र सोसँग जोडिएका परिवार बसोबास गर्ने क्षेत्र तोकेर गत वैशाख ७ गते औपचारिक रूपमा निषेधाज्ञाको आदेश जारी गर्ने पहिलो जिल्ला बन्न पुगेको थियो ।

त्यस लगत्तै कालिकोटमा गत वैशाख ९ गते एक जनामा सङ्क्रमण देखियो । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गर्दा १० गते चार जना थप सङ्क्रमित भएपछि गत वैशाख ६ को मन्त्रिपरिषद्को निर्णय र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को अधिकार प्रयोग गर्दै आंशिक निषेधाज्ञा जारी गरिएको थियो । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपछि गत वैशाख १३ गतेदेखि भने धमाधम निषेधाज्ञा जारी गर्ने क्रम ह्वात्तै बढेको थियो । कोरोना सङ्क्रमणबाट बाँकेको नेपालगन्ज नराम्ररी प्रभावित भएपछि गत वैशाख १३ गते र सुर्खेतमा गत वैशाख १४ गते रातिदेखि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरे । त्यसपछि लगातार निषेधाज्ञा आदेश जारी भइरहेकामा जेठसम्म ७५ जिल्ला पुगेको थियो ।

जेठ अन्तिमबाट बिस्तारै सङ्क्रमण घटेपछि निषेधाज्ञा पनि खुकुलो पारियो । तर मानिसको चहलपहल र लापरबाही बढ्न थालेपछि अहिले मन्द गतिमा सङ्क्रमण बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अभिलेखले देखाउँछ ।

तपाईको प्रतिक्रिया