फिदिमका २ जनाले पाए इन्जिनियरिङ अध्ययन छात्रवृत्ति

सैलुङअनलाइन संवाददाता
पाँचथर

पाँचथरको फिदिम नगरपालिकाले इन्जिनियरिङ अध्ययन गरिरहेका २ जना विद्यार्थीलाई छात्रवृत्ति अनुदान प्रदान गरेको छ ।

नगरपालिका अन्तरगतकै स्थायी बसोबास भएका सामुदायिक विद्यालयबाट नै विद्यालय तहको शिक्षा अध्ययन पूरा गरी उच्च तहमा इन्जिनियरिङ अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति अनुदान प्रदान गरेको हो । छात्रवृत्ति प्राप्त गर्नेमा काथफोर्ट इन्टरनेसनल इन्जिनियरिङ क्याम्पस मा अध्ययनरत फिदिम नगरपालिका-१० का साम्माङ थाम्सुहाङ र इन्जिनियरिङ संस्थान काठमाण्डौमा अध्ययनरत फिदिम ४ का सौरभ खत्री परेका छन् । छात्रवृत्तिबापत रकम २ लाख रुपैयाँ र १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

नगरपालिकाले आ.व.२०७७।०७८ को बजेटमा २ वटा विषय एमविविएस डाक्टर अध्ययन गरिरहेका र इन्जिनियरिङ अध्ययन गरिरहेका २/२ जना छात्र छात्रालाई अध्ययन छात्रवृत्ति रकम समावेश गरेको थियो । छात्रवृत्तिका लागि मिति २०७७ फागुन २५ गते १ महिना भित्रमा छात्रवृत्तिका लागि निवेदन आह्वानको सूचना प्रकाशन गरेको थियो ।

दुई विषय (इन्जिनियरिङ र एमविविएस ) अध्ययनरतका लागि निवेदन आह्वान गरे पनि इन्जिनियरिङका लागि २ जनाको मात्र निवेदन परेको र एम वि वि एस अध्ययन छात्रवृत्तिका लागि एउटा पनि निवेदन नपरेको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहालले बताए ।

शिक्षा प्रमुख दहालका अनुसार नगरपालिकाले ` फिदिम नगरपालिकाको छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि २०७७´ कार्यपालिकाबाट पारित गरेको छ । कार्यविधि अनुसार छात्रवृत्तिका लागि छनौट गर्दा सामुदायिक विद्यालयबाट कक्षा ८,एसइई, र १०+२ उत्तीर्ण गरेको प्रमाणपत्र र फिदिम नगरपालिका भित्र स्थायी ठेगाना भएको इन्जिनियरिङ र एम.वि.वि.एस अध्ययन गरेको विद्यालयमा भर्ना भएको रसिद एवम् परिचयपत्रलाई आधार मानेर गरेको दाहालको भनाइ छ ।

नगरपालिकाले प्राविधिक शिक्षामा जनशक्ति उत्पादनमा जोड दिँदै प्राविधिक विषय लिई पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनका लागि आवश्यक आर्थिक अनुदान दिन छात्रवृत्ति अनुदान शीर्षकमा बजेटको व्यवस्था गर्दै आएको नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले बताए । यो छात्रवृत्ति नगरपालिका भित्रका सामुदायिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरी उच्च तहका प्राविधिक तथा व्यावसायिक धारका विद्यार्थीलाई मध्यनजर गरी छुट्याइएको प्रमुख नेम्वाङको भनाइ छ ।

तपाईको प्रतिक्रिया