निजगढमा खानेपानीको समस्या समाधान उन्मुख मेयर खनाल

सैलुङअनलाइन संवाददाता
निजगढ

निजगढमा खानेपानीको समस्या समाधान उन्मुख बनेको मेयर सुरेशकुमार खनालले बताएको छ ।

आइतबार भरतगंज सुधार विस्तार नमुना खानेपानी आयोजनाको खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास गर्दै मेयर खनालले भरतगंज सिंगौलमा खानेपानी समस्या समाधान गर्न आफू अझै प्रयासरत रहेको बताए ।

वडा नं १ मा सवा २ लाख लिटर क्षमताको दुई वटा खानेपानी ओभरहेड ट्याङ्की निर्माण हुनेछ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैयाको सहयोगमा वडा नं २ मा पनि खानेपानी निकाल्नको लागी परीक्षण हुँदै गरेको बताउँदै मेयर खनालले सो परीक्षण सफल भएमा भरतगंज सिंगौलका ९५ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुग्छ‚’ उनले भने‚ ‘चुरे पहाडको बिकट क्षेत्रमा बसोबास गर्ने केही घरपरिवार लगायत अन्य नागरिकको पनि शुद्ध खानेपानीमा पहुँच पुर्‍याउने आफ्नो लक्ष्य छ ।’

नगरपालिका अन्तर्गत साबिकको निजगढ क्षेत्रमा १० हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताहरूलाई निःशुल्क खानेपानी वितरण गर्ने आफ्नो योजना अनुरूप चालु आर्थिक वर्षदेखि सो नीति लागु हुने जनाए ।

शिलान्यासमा नगरपालिकाकी उपप्रमुख खनालले नगरभित्रका नागरिकहरूलाई खानेपानीको अभाव हुन नदिन नगरपालिका मार्फत आवश्यक योजना सञ्चालन गर्दै सम्बन्धित निकायमा थप पहल गर्ने बताइन् ।

त्यसै गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका डिभिजन इन्जिनियर जकि अहमद अन्सारीले निजगढ क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न निरन्तर सहयोग गरिरहने बताए । इन्जिनियर अन्सारीले स्थानीय नागरिकको खानेपानी समस्या समाधानमा आफ्नो निकायको तर्फबाट सहयोग गर्न पाउँदा निकै खुसी महसुस भएको बताए ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष मङ्गल लोप्चनले वडा नम्बर १ मा निर्माण भइरहेको २ वटा खानेपानी आयोजनाले निजगढ नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर १,२ र ३ भरतगंज सिंगौलका ७ सय भन्दा धेरै घरधुरीका ५ हजार भन्दा बढी नागरिक लाभान्वित हुने बताए । २ वर्षभित्र खानेपानीको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न हुने गरी जारी निर्माण कार्य सम्पन्न भएपछि भरतगंज सिंगौलमा खानेपानीको उचित व्यवस्थापन हुने आफ्नो विश्वास रहेको बताए ।

मेयर खनाल र आफू जनप्रतिनिधिको रूपमा चयन हुनुभन्दा पहिलेदेखि नै आफूहरूले यी आयोजनाहरू निर्माण गरी भरतगंज सिंगौलमा खानेपानी समस्या समाधान गर्न लागिपरेको स्मरण गर्दै आफूहरूको लक्ष्य साकार भएको बताएका छन् ।

खानेपानी तथा सफाइ डिभिजन कार्यालय बाराको सहयोगमा वडा नम्बर १ भरतगंज सिंगौलमा हाल सिंगौल ब्रम्हबाबा खानेपानी आयोजना र भरतगंज सुधार विस्तार नमुना खानेपानी आयोजना सञ्चालन रहेको छ भने वडा नम्बर २ र वडा नम्बर १० लालमा पनि खानेपानी आयोजना सञ्चालनको लागी परीक्षण जारी रहेको छ ।

 

तपाईको प्रतिक्रिया