एक हजार व्यापारिक फर्म कारबाहीमा

राष्ट्रिय समाचार समिति संवाददाता
काठमाडौँ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७७।७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संलग्न भएका एक हजार ३५ व्यापारिक फर्मरकम्पनी तथा उद्योग कारबाहीमा परेका हुन् ।

एक वर्षको अवधिमा विभागले दुई हजार ९४७ फर्मको अनुगमन गरेको थियो । तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, एक हजार ५९७ फर्मलाई सामान्य सुधार, ३९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको थियो । विभागको तथ्याङ्कअनुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमुना सङ्कलन, ३८ फर्मको कारोबार रोक्का, १९ जनालाई अभियोग लगाइएको र तीन वटा साधन नियन्त्रणमा लिइएको थियो ।

कारबाहीमा परेका उद्योगलाई लगाइएको जरिवानाबापत दुई करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबर राजश्व सङ्कलन भएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा तीन करोड ७३ लाख ८४ हजार ४०१ रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ ।

पाँच कार्यालयबाट एक हजार ३४७ फर्मलाई कारबाही

विभागअन्तर्गत रहेका पाँच कार्यालय (विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी)ले गत आवमा एक हजार ३४७ व्यापारिक फर्मलाई कारबाही गरेका छन् । ती फर्मलाई कारबाही स्वरूप जरिवाना गर्दा एक वर्षको अवधिमा रु तीन करोड ३३ लाख ७० हजार राजश्व सङ्कलन भएको छ । चार हजार ७७९ व्यापारिक फर्मको अनुगमन गरिएकामा ५१ फर्मको कारोबार रोक्का गरिएको थियो । साथै तीन करोड ९८ लाख ५३ हजार २५९ रुपैयाँ बराबरको म्याद सकिएको वस्तु नष्ट गरिएको थियो ।

त्यस्तै चार हजार ४१ अन्य फर्मलाई समेत कारबाही गरिएको विभागले जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने फर्मलाई कारवाहीस्वरुप आर्थिक जरिवाना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया