बिपी बहुमुखी प्रतिभाका धनी : प्रधानमन्त्री देउवा

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभई अभिभावक पनि हुनुहुन्थ्यो भनिएको छ ।

उनन्चालिसौँ बिपी स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत बिपी कोइरालाको प्रेरणाले नै आफूहरू लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि उनीसँगको सामीप्यमा फर्किएको महसुस गर्दै बिपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गरे ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको योगदानको स्मरण गरी आज ३९औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरिएको कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो ।

कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेको थियो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिकाभरमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी बिपी कोइराला, प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्री तथा काँग्रेस नेताहरूलाई बन्दी बनाएका थिए ।

बिपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । उनका कैयौँ कृति नेपाली पाठकबिच लोकप्रिय छन् ।

तपाईको प्रतिक्रिया