सिन्कौली खेतीमा आकर्षण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
238 Shares
खोटाङ

गाउँमा विरलै पाइने बास्नादार मसला सिन्कौली खेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् । व्यावसायिकरुपले खेती नगरिए पनि पछिल्लो समय व्यापारीले यसको खोजी गरी खरीद गर्न थालेकाले किसानले यसै वर्षबाट सिन्कौलीको बिरुवा रोप्न थालेका हुन् । सिन्कौली अर्थात् तेजपात (दालचिनी) का नामले प्रख्यात मसलाको रुख हो । यसको पात, बोक्रा र जरासमेत मसलाको रुपमा प्रयोग हुँदै आएको छ ।

सिन्कौलीको विभिन्न भाग उचित मूल्यमा बिक्री हुने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन् । अब नया प्रविधिको प्रयोगसँगै कमजोर आर्थिकस्तरका किसानले नयाँ विकल्प खोज्न थालेको खोटाङका जिल्ला वन महासंघका अध्यक्ष राजेन्द्र राईले बताए । किसानले हाल डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ र विभिन्न कृषि फर्मसँगको सल्लाहमा सिन्कौलीको बिरुवा निःशुल्क वा किनेर पनि खाली जमीनमा रोप्न थालेका छन् । नजिकैको थोक बजारमा सिन्कौलीको पात प्रतिकिलो रु ६० र बोक्रा प्रतिकिलो रु १५० का दरले बिक्री हुँदै आएको छ ।

छिमेकी जिल्ला उदयपुरको बेल्टार, गाईघाट, कटारीलगायत बजारमा सिन्कौली संकलन गरिन्छ । थोरै लगानीमा धेरै आयआर्जन हुने भएकाले यहाँका किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका महासंघका अध्यक्ष राईले बताए । ` सदाबहार हरियाली रहने सिन्कौलीखेती वातावरणीय हिसाबले समेत उत्तिकै फाइदाजनक छ´, उनले भने, `हाम्रो जिल्लामा यसको राम्रो सम्भावना पनि छ । बजार पनि राम्रो छ ।´ सिन्कौली लगाएर वैकल्पिक आयआर्जन गर्न सकिने अध्यक्ष राईले बताए ।

सिन्कौली चिया, पुलाउ, मासुको परिकार लगायतलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाका रुपमा प्रयोग गरिन्छ । बजारमा पाइने अधिकांश मसलामध्ये दालचिनीको नाममा यसको व्यापार व्यापक छ । सिन्कौलीको उपयोगिताका बारेमा गाउँघरमा कम जानकारी भएका कारण हालसम्म त्यसको पालुवा गाईवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठकारुपमा प्रयोग गर्ने गरिएको थियो । बढी मात्रामा सिन्कौली हुर्काएका किसानले पात टिपी सुकाएर उदयपुरको बेलटारमा बिक्री थालेका छन् । यसको पात र बोक्राबाट मसला, औषधिजन्य तेलसमेत उत्पादन हुने गर्दछ । सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचनशक्ति बढाउन, रोकिएको पिसाब खुलाउन तथा मुटुसम्बन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको अध्यक्ष राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका