जनजाति महासंघ प्रदेश ३ को अधिवेशन सिन्धुलीमाढीमा हुने

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

नेपाल आदिवासी जनजाती महासंघ, नेवा–ताम्सालिङ (३ न.) प्रदेश तदर्थ समन्वय परिषदको असोज ४ र ५ गते सिन्धुलीमाढीमा हुन गैरहेको प्रथम अधिवेशनको तयारीका लागि महासंघको सिन्धुलीमाढीमा सरोकारवालाहरुको बिस्ताररित बैठक सम्पन्न भएको छ ।

भदौ २ गते सोमबार महासंघ र महासंघ सम्बद्ध विभिन्न जातीय संस्थाका अगुवाहरु सहभागी बैठकमा महासंघ प्रदेश नंं ३ का संयोजक काजीमान थिङको उपस्थिति रहेको थियो । थिङले प्रथम अधिवेशन सिन्धुलीमा आयोजना गर्न लागिएको बारे बैठकमा प्रष्ट्याएका थिए । ‘अधिवेशनमा ३ नंं प्रदेशका १३ जिल्लाका जिल्ला समन्वय परिषद, स्थानीय तह समन्वय परिषद र ४५ भन्दा बढी जातीय संस्थाका करिब दुई सय पचास जना प्रतिनिधिहरु सहभागी हुनेछ ।’ थिङले भने, ‘अहिले १३ जिल्ला र स्थानीय तहका समन्वय परिषदहरुको अधिवेशन, भेला र प्रशिक्षण भइरहेको छ ।’

त्यसैगरी सिन्धुली जिल्लाका ९ वटा स्थानीय तहमा आदिवासी जनजाति महासंघ समन्वय परिषदको अधिवेशन, बैठक र प्रशिक्षण भदौं २५ गतेभित्र गरिसक्ने महासंघले निर्णय गरेको महासंघ सिन्धुलीका उपाध्यक्ष महेन्द्र सुनुवारले बताए ।
सुनुवारले भने, ‘निर्णयअनुसार घ्याङलेक गाउँपालिका भदौ १६, मरिण गाउँपालिका भदौ १७, हरिहरपुरगढी गाउँपालिका भदौ १८, दुधौली नगरपालिका भदौ १९, तिनपाटन गाउँपालिका भदौ २०, गोलन्जोर गाउँपालिका भदौ २२, फिक्कल गाउँपालिका भदौ २३, सुनकोशी गाउँपालिका भदौ २४ र कमलामाई नगर समन्वय परिषदको २७ गते अधिवेशन हुनेछ ।’

बैठकले जिल्ला समन्वय परिषदका अध्यक्ष उक्तबहादुर थापा मगर र उपाध्यक्ष महेन्द्रबहादुर सुनुवारको संयोजकत्वमा व्यवस्थापन उपसमिति, फोनिज सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ । त्यसैगरी नेपाल मगर युवा संघ प्रदेश नं. ३ का अध्यक्ष सरोज पुलामीको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, जिल्ला समन्वय परिषदका कोषाध्यक्ष तुल गुरूङको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति र कमलामाई नगर समन्वय परिषदका अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

महासंघ जिल्ला समन्वय परिषद, सिन्धुलीका उपाध्यक्ष सुनुवारको अध्यक्षतामा सम्पन्न बैठकले गठित उपसमितिहरुलाई जिम्मेवारी समेत बाँडफाँड गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले उद्घाटन गरिने अधिवेशनमा विभिन्न जातीय संस्थाका प्रमुख, सरकारका मन्त्री, सांसद र स्थानीय सरकारका प्रमुखहरुले सम्बोधन गर्ने महासंघले जनाएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका