काँग्रेस महाधिवेशन : वडा अधिवेशन भदौ १० मा, महाधिवेशन सर्ने पक्का

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ १६ मा नहुने भएको छ । विहीबार बूढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले आगामी भदौ १६–१९ मा महाधिवेशन गर्न नसकिने अनौपचारिक निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुरको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा सहभागि पार्टीका शीर्ष नेता, क्रियाशील छानविन समिति र निर्वाचन समितिका सदस्यबीच भएको छलफलले भदौमा वडा अधिवेशन मात्र गर्ने सकिने हिसाब निकालेको हो ।

विहीबारको बैठकपछि काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्यको अन्तिम सूची तयार भएपछि निर्वाचन समितिलाई दिएको कम्तिमा १५ दिनपछि वडा अधिवेशन सुरु हुने बताए । सिटौलाले भने, ‘वडा अधिवेशन देशभर एक दिन गर्नुपर्छ । एकैदिन वडा अधिवेशन गर्ने गरी निर्वाचन समितिले मतदान अधिकृतहरु वडामा पुर्यान सक्नुपर्छ ।’

क्रियाशील सदस्यको सूची टुंग्याएर निर्वाचन समितिलाई बुझाउन कम्तिमा अझै एक साता लाग्छ । निर्वाचनमा खटेका मतदान अधिकृतहरु सम्बन्धित वडामा पुगी पार्टी कार्यालयमा सूचना निकालिसकेपछि वडा अधिवेशन सुरु हुन्छ । तर, छानविन समितिले केही विषयमाथि निर्णय लिन नसकेपछि त्यसलाई नेतृत्व तहमा पठाएको छ ।

त्यसका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको छ । उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रुपमा राखिएको छ ।

पदाधिकारी बैठकले उच्चस्तरीय समितिलाई क्रियाशील छानविन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुंग्याउन म्यान्डेट दिएको छ । नेता सिटौलाका अनुसार नेतृत्व तहले त्यो निर्णय गरेर क्रियाशील छानविन समितिमार्फत सदस्यता इन्ट्री गराइ सूचीलाई अन्तिमरुप दिन पाँच/सात दिन समय लाग्छ ।

यो सबै हिसाब गर्दा भदौ १० गतेभित्र बल्ल वडा अधिवेशन सुरु हुने सिटौलाको बुझाइ छ । साउन १२ गतेका लागि तय गरिएको वडा अधिवेशन प्रभावित भएपछि काँग्रेस महाधिवेशन प्रभावित भएको छ ।

अब भदौ १० बाट कार्यतालिका प्रारम्भ हुने गरी काम थाल्दा महाधिवेशन आगामी असोजको तेस्रो सातासम्म जाने देखिन्छ ।

सहमहामन्त्री महतका अनुसार वडा अधिवेशन भदौ १६ भित्रै प्रारम्भ हुन्छ । ‘केन्द्रीय महाधिवेशनको मिति निर्वाचन समितिको हिसाब किताबबाट तय हुन्छ’, महतले भने, ‘सम्भवतः असोजको तेस्रो सातासम्म जान्छ कि ?’

मुलक संघीय संरचनामा गएपछि पहिलोपटक हुन लागेको काँग्रेस महाधिवेशनमा सात तहको निर्वाचन हुन्छ । जस अनुसार वडा अधिवेशन, गाउँपालिका/नगरपालिका अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनेछ ।

तपाईको प्रतिक्रिया