अलपत्र जिल्ला प्रशासन कार्यालय भवन 

सैलुङअनलाइन संवाददाता
0 Shares
धुलिखेल, काभ्रे

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित सञ्जीवनी बजारमा निर्माण थालिएको जिल्ला प्रशासन कार्यालयको भवन नौ वर्षदेखि अलपत्र अवस्थामा छ ।
जिएम कन्स्ट्रक्सनले २०६९ वैशाख १२ गते ४ करोड ३२ लाख पाँच हजार रुपैयाँमा सम्झौता भई २०७० साउन १२ गते सम्पन्न गर्ने गरी कार्य थालनी गरेको भवन निर्माण कार्य समयमै सम्पन्न नगर्दा अलपत्र अवस्थामा पुगेको हो ।

बालमैत्री, अपाङ्गमैत्री, प्रहरीको क्वाटर, चमेनागृह, सुविधा सम्पन्न पार्किङसहित सेवाग्राहीमैत्री रुपमा निर्माण गरिएको भवनमा लेउ लागेको अवस्था छ भने आँगन र चौरभरी झारले ढाकिएको छ ।

तत्कालीन अवस्थामा वागमती अञ्चलकै नमूना र सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना अनुसार निर्माण शुरु गरिएको नौ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्यले अझै पूर्णता पाएको छैन ।

निर्माणको जिम्मा पाएको जिएम कन्स्ट्रक्सनले समयमा काम सम्पन्न नगरेका कारण अर्को निर्माण कम्पनीमार्फत् काम गर्न लाग्दा पहिला सम्झौता गरिएको निर्माण कम्पनीले प्रशासन कार्यालयविरुद्ध मुद्दा दायर गरेपछि मुद्दाको किनारा नलाग्दा प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आफ्नै भवन निर्माण सम्पन्न नभएपछि भाडाको घरमा वार्षिक लाखौँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएकोमा साउन पहिलो सातादेखि भने जिल्ला समन्वय समितिको परिसरमा निर्मित ट्रष्टभवनलाई मर्मतसम्भार गरी कार्यालय सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समितिले आफ्नै पक्की भवन निर्माण गरेर सरेपछि खाली रहेको ट्रष्टभवन मर्मत गरी जिल्ला प्रशासन कार्यालय सो भवनमा सरेको हो । यसअघि सो कार्यालयले मासिक एक लाख १० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

एकातिर व्यक्तिको घरमा त्यसरी कार्यालय सञ्चालन गर्दा नागरिकलाई दोस्रो, तेस्रो तल्लासम्म जानुपर्ने र कुन कोठा नम्बरबाट कुन सेवा दिने भन्ने नै अफ्ठ्यारो भएको कारण ट्रष्टभवनमा सरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका