अपर चौरीखोलालाई दुई बैङ्कले लगानी गर्ने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
203 Shares
काठमाडौँ

अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैङ्कले वित्तीय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि र बैंकबिचमा एक कार्यक्रमबिच सो सम्बन्धी शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

काभ्रे र रामेछापको बिचमा रहेको चौरीखोलामा बन्न लागेको ६ मेगावाटमा कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैङ्कले गर्ने भएका छन् । ६५ प्रतिशतलाई शत प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैङ्कले ६० प्रतिशत र कृषि विकास बैङ्कले ४० प्रतिशत लगानी गर्ने भएका छन् ।

वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैङ्कका सिइओ किरणकुमार श्रेष्ठ र कृषि विकास बैङ्कका सिइओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि बैङ्कका सिइओ श्रेष्ठले यस कम्पनीमा लगानीले बैङ्कलाई जलविद्युत क्षेत्रमा थप नयाँ अनुभव प्राप्त हुने विश्वास लिएको र आयोजना सम्बन्धी कम्पनीले गरेका प्रतिबद्धता पूरा गर्न सुझाव दिए । उनले जलविद्युत क्षेत्रमा लगानीकर्ताबिच विवाद हुने र आयोजना अलपत्र पर्ने देखिएको भन्दै निर्धारित समय सीमा र लागतमै आयोजना सम्पन्न गर्नुपर्ने बताए । ‘जलविद्युतमा लगानी गर्नेहरूबिच सुरुमा राम्रै सम्बन्ध भए पनि आयोजना बन्न लागेपछि गाडी कसले चढ्ने, शेयरलगायतका विषयलाई लिएर विवाद गर्ने र आयोजना अलपत्र परेका धेरै उदाहरण छन् ।

यो आयोजनामा त्यसो नहोस् समय र लागत सीमामै रहेर आयोजना सम्पन्न गर्नुहोला, थप सहकार्यको लागि तयार छौँ’ सिइओ श्रेष्ठले भने‚ ‘आफूहरूले जे भन्यो त्यही गर्ने भएकोले सम्झौताअनुसार लगानी गर्न कुनै समस्या आउने छैन ।’

त्यसै गरी लगानीकर्ता अर्को बैङ्कका सिइओ उपाध्यायले आफूहरूले प्रतिबद्धता पूरा गर्ने भन्दै आर्थिक अनुशासन बस्न आयोजना कम्पनीलाई सुझाव दिए । व्यवसायिक कोणबाट आयोजना एकदमै राम्रो र सम्भावनायुक्त भएकोले आफूहरू लगानी गर्न तयार भएको बताए । सबै अध्ययन र प्रक्रिया पूरा गरेर सम्झौता गरेकाले आफूहरूबाट कुनै समस्या नहुने भन्दै आयोजना कम्पनीलाई सफलताको शुभकामना दिए । उपाध्यायले सरकारी बैङ्कले लगानी गरेको तर काम भएन भन्ने नहोस् भन्ने आफूहरूले चाहेको बताए ।

कार्यक्रममा हिमालयन वाटर रिसर्च एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको माउ कम्पनी कर्णाली जलस्रोत लिमिटेडका अध्यक्ष लोकबहादुर रावतले सम्झौताअनुसारकै लगानी र समय सीमाभित्र आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । दुवै सरकारी बैङ्कले लगानी गर्नुलाई सफलता भएको भन्दै रावतले २०७९ को दसैँमा बत्ती बाल्ने गरी काम अगाडि बढेको जानकारी समेत दिए ।

अध्यक्ष रावतले वर्षायाममा पनि नरोक्ने भन्दै अहिले पनि आयोजना निर्माणको काम जारी रहेको जानकारी समेत दिए । ‘दुवै सरकारी बैङ्कले लगानी गर्नु हाम्रो लागि खुसीको कुरा साथै सम्झौताअनुसार लगानी र समय सीमाभित्र आयोजना सम्पन्न गर्नेछौँ । वर्षाको समयमा पनि काम रोकिने छैन, आउने दसैँमा बत्ती बाल्ने गरी परियोजनालाई अगाडि बढाएका छौँ’ अध्यक्ष रावतले भने ।

कर्णाली जलस्रोत लिमिटेडको ८० प्रतिशत शेयर रहेको र तीन सय शेयर सदस्य रहेको जानकारी दिँदै अध्यक्ष रावतले सबैको विश्वासमा घात हुन नदिने प्रतिबद्धता समेत जाहेर गरे ।

कार्यक्रममा हिमालयन वाटर रिसर्च तथा इनर्जी डेभलपमेन्ट कम्पनीका अध्यक्ष जुद्ध बहादुर गुरुले सहभागी सबैलाई स्वागत गर्दै काबु बाहिरको अवस्था सिर्जना नभएसम्म निर्धारित समयमै आयोजना सम्पन्न गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका सिइओ कविराज अधिकारी, उपकार्यकारी प्रमुख देवेन्द्ररमण खनाल, विभागीय प्रमुख संदिपजंग कार्की, विभागीय उपप्रमुख विनयरमण पौडेललगायत पदाधिकारीको सहभागीता थियो । कृषि विकास बैङ्कका उपमहाप्रबन्धक प्रताप सुवेदी, कर्जा तथा ट्रेड फाइनान्स विभाग प्रमुख मीनराज पौडेल, शिव भुसाललगायत उच्च अधिकारीहरूको सहभागिता थियो ।त्यस्तै, कर्णाली जलस्रोत लिमिटेडका निर्देशक अमरनारायण माली, भारत प्रसाईँलगायतका पदाधिकारीको सहभागिता थियो ।

त्यस्तै कम्पनीका प्रबन्धक अमृतराज अधिकारी, निर्देशक भैरव बोहरा, सिंहबहादुर लामा, दिलीप घिसिङ, सुशीला कार्कीलगायतका सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका