अन्तराष्ट्रिय नाका जोड्ने धुन्चे–स्याफ्रु सडकखण्डको खोपाङ भीरस्थित १५ मिटर अप्ठ्यारो बाटोमा सोलिङ गरिएको छ ।
यस सडकमा चल्ने सवारीसाधनले दिनहुँजस्तो सास्ती खेप्नु परेकोले प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा आइतबार र सोमबार सोलिङ गरिएको हो । सोलिङका नेपाली सेना कालिजंग गण, नेपाली प्रहरी, सशस्त्र प्रहरी, सडक डिभिजन कार्यालयका कर्मचारी, स्थानीय, चालक, सहचालक लागयतले श्रमदान गरेका हुन् ।
सोलिङका लागि ढुङ्गा ओसार्न गोसाईकुण्ड गाउँपालिकाले टिपर उपलब्ध गराएका थिए ।
डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले संघीय सरकारबाट कम बजेट आउँदा सडकको स्तरोन्नति गर्न नसकिएको बताए । उनले मर्मतका लागि भनेको समयमा कामदार नपाउनु पनि अर्काे समस्या रहेको जानकारी दिए ।
दैनिक रुपमा मुलखर्क, राम्चे, स्याउबारी क्षेत्र जाने सवारी खोपाङ भीरमा सधै धकेल्नुपर्ने स्थिति रहेको कन्टेनर चालकहरुको भनाई रहेको थियो ।
सोलिङ गरेपछि अहिले सवारीसाधन आवतजावतमा सहज भएको प्रजिअ भण्डारीले जानकारी दिए ।