धनकुटामा विपन्न परिवारलाई जस्तापाता वितरण

मालती मोक्तान संवाददाता
0 Shares
धनकुटा

धनकुटा नगरपालिकाले सोमबार विपन्न परिवारलाई जस्तापाता प्रदान गरिएको छ । नगरभित्रका १० वडाका २ सय १ विपन्न परिवारलाई १ करोड १४ लाख बराबरको अनुदान जस्तापाता प्रदान गरेका हुन् ।

नगरको आवास सहुलियत साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिका र संघीय सरकारको १ करोड १४ लाख बराबरको ७ हजार ४ सय ४८ थान जस्तापाता खरिद गरी वितरण गरिएको वडा नं. ८ का वडासदस्य पूर्णश्वरी आठपहरिया राईले जानकारी दिइन् ।

नगरभित्रका अल्पसंख्यङ्क, आठपहरिया समुदाय, एकल, जेष्ठ नागरिक, अपाङ्ग, विपन्न, असाह्य र दलित समुदायलाई वितरण गरिएको नगरप्रमुख चिन्तन तामाङले बताए । उनले भने, ‘नगरभित्र ९ हजार ४ सय ६० घरधुरी मध्ये २ हजार १३ घर फुसको छाना रहेको छ । ३ वर्षभित्र फुसको छानारहित नगर बनाउने लक्ष्य लिएको छ ।’

गत वर्ष १ सय ५ जनालाई जस्तापाता वितरण गरिएको नगरपालिकाले जनाएको छ । यो वर्ष नपाउनेहरुलाई आगामी वर्ष प्रदान गरिने वडासदस्य राईले जानकारी दिइन् ।

जस्ता पाएपछि भिरपहारामा खर काट्न जानुपर्ने र बर्षै पिच्छे घर छाउनुपर्ने समस्याबाट मुक्त भएको वडा नं. ८ का ५६ वर्षीय विराटबहादुर आठपहरिया राईले बताए ।

अनुदानको जस्तापाता वडा नं. १ मा ९ घर, वडा नं. २ मा २५ घर, वडा नं. ३ मा ७ घर, वडा नं. ४ मा १२ घरलाई प्रदान गरिएको सदस्य राईले जानकारी दिइन् । त्यसैगरी वडा नं. ५ मा १३ घर, वडा नं. ६ मा ८ घर, वडा नं. ७ मा २० घर, वडा नं. ८ मा ६२ घर, वडा नं. ९ मा ३४ र वडा नं. १० का ११ घरलाई दिएका छन् ।

तपाईको प्रतिक्रिया