पुरानो मानिस

161 Shares
काठमाडाैं

यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ ।
तिमीसित अब
के छ त्यस्तो कुरा… ?
सुधारिएको प्रजातन्त्र ?
गणतन्त्र ?
अत्याधुनिक बन्दुक
ट्याङ्क, मिसाइल, रकेटलन्चर
वा जैविक हतियार ?
अथवा अन्तर्राष्ट्रिय गीत… ?
घर जलाइदियौ
घरसँगै उसका बालबच्चाहरू जले
श्रीमती, दाजुभाइ र इष्टमित्रहरू जले
उसले लगाएको भाङ्ग्रा, भोटो र गादो जल्यो
बक्खु, धोती र हाकुपटासी जल्यो
तर थाहा छ, ऊ किन जलेन… ?
उसलाई आतङ्कारी भन्यौ
सरकारी गुप्तचर भन्यौ
तिम्रो चरम यातनाले
उसका विनयी हातहरू छिनालिए
निर्दोष आँखा र जिब्रो थुतिए
घाँटी र खुट्टाहरू गिँडिए
रगतको आहालमा चल्मलाइरहेको
उसको पृथ्वीजस्तो मुटुलाई सङ्गिनले उनेर
विजयीको हुङ्कार गर्याै
तर थाहा छ, ऊ किन मरेन… ?
यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ ।
तिमीसित अब
के छ त्यस्तो कुरा… ?
भाषा ?
धर्म ?
जाति ?
संस्कृति, सम्प्रदाय, राष्ट्रियता
वा मानवअधिकार
अथवा सुप्रिम अमेरिका… ?
तिमीसित अब
के छ बाँकी त्यस्तो कुरा ?
जसले,
यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ ।
के तिमी,-
खेतमा धानको गन्धलाई मार्न सक्छौ… ?
के तिमी,-
पहाडमा बतासको गन्धलाई मार्न सक्छौ… ?
के तिमी,-
समुद्रमा पानीको गन्धलाई मार्न सक्छौ… ?
तिमीसित अब
के छ त्यस्तो कुरा ?
भन ! के छ… ?
जसले,
यस धरतीको पसिनाको गहुँगोरो गन्धलाई मार्न सक्छ ।

(‘बिसे नगर्चीको बयान’ कविता संग्रहबाट)

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया