विकास योजनाका काम सम्पन्न गर्न असार मसान्त नै कुर्ने परिपाटीले स्थानीय विकासलाई गाँजीरहेका बेला लिसंखुपाखर गाउँपालिकाले बैशाखमै योजना सम्पन्न गर्ने नीति लिएको छ । बिहिबार कार्यपालिकाको बैठक बस्दै बैशाखभित्र गाउँपालिकामा संचालन हुने सबै विकास योजनाको काम सम्पन्न गर्ने निर्णय गरिएको छ ।
स्थानीय तहका विकास योजनालाई प्रभावकारी र भरपर्दो बनाउनका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए । ‘विकास योजनाका काम गर्न वर्षान्त कुर्नुपर्दैन भन्ने सन्देश दिन खोजेका हौं ।’ अध्यक्ष नेपालले भने, ‘लिसंखुपाखरमा अब बैशाखभित्रै विकास योजनाका काम सम्पन्न हुनेछन् ।’
कार्यपालिका बैठकपछि गाउँपालिकाले आर्थिक वर्ष ०७६÷७७ को वार्षिक कार्यतालिका नै सार्वजनिक गरेको छ । प्रथम चौमासिकका योजना अन्तर्गत भदौ तेस्रो साताभित्र उपभोक्ता समिति गठन गरिसक्ने र असोज पहिलो साताभित्र योजना सम्झौता गर्दै मंसिरभित्र ती योजना सम्पन्न गर्ने कार्यतालिकामा उल्लेख छ ।
दोस्रो चौमासिकका योजना अन्तर्गत कार्तिक पहिलो साताभित्र उपभोक्ता समिति गठन गरी मंसिर पहिलो साताभित्र योजना सम्झौता सम्पन्न गर्दै फागुन दोस्रो साताभित्र ती योजना सम्पन्न गरिसक्ने नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । ‘पहिलो चौमासिकमा ४० प्रतिशत योजना सम्पन्न गर्नेछौं, दोस्रो चौमासिकमा ९० प्रतिशत योजना सम्पन्न गरिसक्छौं ।’ अधिकृत दुलालले भने, ‘बाँकी १० प्रतिशत योजना तेस्रो चौमासिकमा सम्पन्न हुनेछन् ।’
आर्थिक वर्षको अन्त्यमा मात्रै स्थानीय तहमा विकास योजनाका काममा तातो लाग्दै आइरहेको छ । उपभोक्ता समिति गठन हुन्छन्, योजना सम्झौता पनि हुन्छ तर काम भने आर्थिक वर्षको अन्त्यमा मात्रै गर्ने परिपाटी विद्यमान छ ।
जिल्लाका १२ स्थानीय तहमध्ये वार्षिक कार्यतालिका नै बनाएर विकास योजनाका कामलाई व्यवस्थित गर्नखोज्ने लिसंखुपाखर गाउँपालिका पहिलो स्थानीय तह हो ।