लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

सैलुङअनलाइन संवाददाता
84 Shares
रूपन्देही

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम सरकारमा दाबी गर्न गरेको आह्वानमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले चार दलको समर्थनमा दाबी गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले दिएको समय अवधिसम्म केसीको मात्र दाबी परेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा केसीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका केसीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

केसीले आउँदो २ फागुनसम्म लुम्बिनी प्रदेशको नेतृत्व सम्माल्ने गरी नेपाली कांग्रेससँग सहमति भएको छ । सहमतिअनुसार २ फागुनपछि ८ महिना कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडिया मुख्यमन्त्री बन्नेछन् ।

रोल्पा क्षेत्र नं. १ (क) बाट प्रत्यक्ष निर्वाचित केसी यस अघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तारिक मामिला तथा कानुनमन्त्री थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका