धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं.– १ हात्तीखर्कका किसानले धनियाँ बेचेर लाखौ आम्दानी गरेका छन् । भान्सामा अनिवार्य जस्तै भइसकेको धनियाँलाई मसलाको रुपमा प्रयोग गरिन्छ ।
स्थानीय किसानहरुको बारीमा उत्पादित धनियाँले तराईका धरान, इटहरी , विराटनगर, विर्तामोड लगायतका बजारको माग पुरा गरेको किसानहरु बताउँछन् ।
हात्तीखर्कका भरत कार्कीले आफ्नो बारीमा उत्पादित धनियाँ बिक्रीबाट बर्षेनि करिब ३ लाखको आम्दानी गरेको बताए ।
त्यसैगरी अर्का किसान गजेन्द्रबहादुर तामाङले पनि यही सिजनमा धनियाँ बिक्री गरी २ देखि ३ लाख आम्दानी गरेको बताए ।
हात्तीखर्क सिरान टोलका ५०÷६० घरपरिवारले धनियाँ खेतीबाटै लाखौंको आम्दानी गरेको वडा नं. १ वडाध्यक्ष पुख्मान आलेले जानकारी दिए ।
नगदेबाली धनियाँ यस क्षेत्रका किसानले प्रति मुठा ३ देखि २० रुपैयाँमा बिक्री गर्दा पनि करिब करोड बराबरको आम्दानी भित्र्याउने गरेका छन् ।
बेमौसमी तरकारी लगायतका बालीबाट किसानले करोडौंको आम्दानी भित्र्याएको अनुपातमा तरकारीबाट आत्मनिर्भर भएको वडाध्यक्ष आलेले बताए ।