मुन्दुम : किराती महागाथा

काठमाडाैं
PHOTO:

(क) मुन्दुम के हो ?

किरात समुदायभित्र रहेको भाषिक विविधताअनुसार लिम्बूले मुन्धुम, सुनुवारले मुक्दुम/मुग्दुम र याक्खाले मुन्तुम भन्छन् । किरात राई समुदायभित्रका कुलुङले रिद्दुम; चाम्लिङले मुन्दुम/मुदुम; दुमी, मेवाहाङ, साम्पाङले मुद्दुम; पुमाले मुत्दुम; बान्तावाले मुन्दुमस याम्फूले मिन्दुम; लोहरूङले मुन्दुम/पेल्लाम र वाम्बुलेले मुक्तुम/मुक्दुम भन्ने गर्छन् । केही विद्वान्का अनुसार यी शब्दहरूको मूल चाहिँ ‘मुन्थुम’ हो । भोटमूलको भाषामा ‘मुन्थुम’को अर्थ अन्धकारलाई पोको पार्ने वा अज्ञानता हटाएर ज्ञानको उज्यालो ल्याउनु हुन्छ (ढुंगेल, २०६९ : ३८) । तर, यसलाई भाषिक विविधताअनुसार किरातहरूले फरकफरक रूपमा अर्थ्याउने गरेका छन् ।

जस्तो कि पुमा भाषामा ‘मुत्’ को अर्थ हुन्छ झारफुक गर्नु र ‘दुम’ को अर्थ हुन्छ शास्त्र, बोली आदि । लिम्बू भाषामा चाहिँ ‘मुन्’ को अर्थ गति वा गतिमय स्थिति हुन्छ भने ‘थुम’ को अर्थ कठिन वा शक्ति वा बल हुन्छ (काइँला, १९९९ : २५२) । बान्तावा भाषामा मुदुमलाई मान्छे (मिन्) को बोली (दुम) को रूपमा अर्थ्याउने गरिएको छ । चाम्लिङ भाषामा चाहिँ ‘मुन्’ को अर्थ रच्नु, उत्पन्न गर्नु, जन्मनु हुन्छ (राई र अन्य, २००७ : २००) भने ‘दुम’ को अर्थ हुन्छ ‘बोली’ अर्थात् मुन्दुम भनेको बोली (रिसिया) रचना गर्नु हो ।

हजारौं वर्षदेखि किरात समुदायले मौखिक रुपमा जोगाइआएको विशाल सांस्कृतिक-बौद्धिक सम्पदा हो मुन्दुम । यसलाई किराती समाजले लोककथाका रुपमा र नछुङ (धामी)हरुले चाहिँ रिसिया (मन्त्र)का रुपमा भन्दै-सुनाउँदै आएका छन् । मौखिकबाट लेख्य हुन पुगेको ऋग्वेदका आधारमा जसरी ३ हजार वर्षभन्दा अघिको आर्य समाज र सभ्यताको अध्ययन गर्न सजिलो भएको छ त्यस्तै मुन्दुममार्फत् पनि प्राग्ऐतिहासिक कालका किरातबारे धेरै कुरा प्रकाशमा ल्याउन सकिने सम्भावना छ ।

मुन्दुममा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्राग्इतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । समग्रमा चाहिँ मुन्दुम किरातीहरुको सृष्टि, प्रकृति, मानव, समाजविकास, इतिहास, संस्कृति आदिसम्बन्धी दार्शनिक दृष्टिकोणको समुच्चय हो ।

(ख) कोकुमा-पिरिमादेखि नछुङसमम्म

मुन्दुम मूलतः नछुङ, मोपा, मुन्दुमी, रिसिमी, फेदाङ्मा, साम्बाहरुले विभिन्न सांस्कृतिक क्रियाकलापहरुमा गाउने गर्छन् । उनीहरु मुन्दुम एकदेखि अर्को पुस्तामा हस्तान्तरण गर्ने माध्यम मात्र होइनन् मुन्दुम गाउने किराती समाजका प्रथम बुद्धिजीवी हुन् ।

दोस्रो कुरा, किराती समाजमा अहिले पनि उनीहरुकै सांस्कृतिक नेतृत्व हुन्छ । सम्भवतः शिकार गरेर जीविकोपार्जन गर्ने युगमा नछुङहरुकै नेतृत्व हुन्थ्यो, कृषि सभ्यतामा प्रवेश गरिसकेको लामो समयसम्म सामाजिक-राजनीतिक प्रकृतिको नेतृत्व नछुङहरुबाटै हुन्थ्यो भन्ने देखिन्छ ।

तेस्रो कुरा, नछुङहरु किराती समाजका चिकित्सक पनि हुन् । उनीहरुसँग जडीबुटीको केही हदसम्म ज्ञान हुन्छ । र, मुख्य रुपमा सांस्कृतिक-मनोवैज्ञानिक उपचार उनीहरुले गर्ने महत्वपूर्ण कार्य हो ।

मुन्दुममा आउने रिसियाको वर्णनका आधारमा भन्दाखेरि किराती समाजमा पहिलो नछुङ पुरुष होइन महिला थिइन् । उनीहरुलाई सामूहिक रुपमा कोकुमा-पिरिमा भनेर प्रथम गुरुआमाका रुपमा नछुङहरुले सम्मानजनक रुपमा मान्ने गर्छन् । सम्भवतः त्यो महिलाले नेतृत्व गरेको समाजको कुरा हो । धेरै पछि मात्र पुरुष नछुङ बनेको वर्णन मुन्दुमका रिसियाहरुमा आउने गर्छ र प्रथम पुरुष नछुङ थिए हर्कबुङ । अहिले किरात राई समाजमा पुरुष धामीहरुको बाहुल्य छ, महिलाहरु फाट्टफुट्ट भेटिन्छन् । समाजमा पुरुषहरुको नेतृत्व स्थापित भएकोले यसो हुन पुगेको हो ।

(ग) प्राग्ऐतिहासिक बसाइँसराइ : योँला (सिन्धुघाँटी)देखि किरातभूमिसम्म

किरात राईहरुको प्राग्इतिहासको अध्ययन गर्नका लागि ‘वाडाको’ गर्दा भनिने मुन्दुम निकै महत्वपूर्ण रहेको छ । ‘वाडाको मुन्दुम’मा वर्णन हुने स्थान, जाति र संस्कृतिका बारेमा पुरातात्विक खोजद्वारा प्राप्त तथ्यहरुलाई भिडाएर निचोड निकाल्न सकिने अवस्था छ । वाडाको मुन्दुम योँलादेखि हालको किरातभूमिसम्मको बसाइँसराइको कथा हो । त्यस क्रममा आउने चार वटा कुरा अति नै महत्वपूर्ण रहेका छन् । एक, योँला र बसाइँसराइ गर्ने क्रममा उल्लेख हुने स्थानसः दुई, नागजाति; तीन, किरात पुर्खा र नागकन्याबीच वैवाहिक सम्बन्ध; चार, महादेवको कुरा ।

(१) वाडाको मुन्दुम : कथासार

बच्चा जन्मिसकेपछि आमा र बच्चाका लागि गरिने एउटा संस्कार हो ‘वाडाको’ । कथाअनुसार किरात पुर्खा अर्थात् होँछा (मानिस)ले बाघ र भालुलाई जंगलमा लखेटिपठाएपछि घरमा एक्लै बस्न थाल्यो । तर, घरमा रहेको मासु खाइसकेपछि के खाने भन्ने समस्या आइलाग्यो । त्यसैले एकदिन जाल हान्न गयो । उसले निकै दिनको प्रयासपछि नागकन्या सिकुरिमालाई पो जाल (मायाजाल !)मा पा¥यो । सिकुरिमाले किरात पुर्खा अर्थात् होँछालाई आमा-बाबु भएको ठाउँमा लगिन् ।
सिकुरिमाले आमालाई मानव (केटा) ल्याएको कुरा बताइन् । नागराजा डिल्लिहँ (पातेना)ले थाहा पाएको थिएन ।

सिकुरिमाले बाबाआमालाई आफू उमेरदार भइसकेकोले सुहाउँदो जोडी ल्याएको बताइन् । डिल्लिहँ र नाकिमाले सरसल्लाह गरे । डिल्लिहँले नाकिमासँग छोरीको विवाहमा बागदत्त बोल्नुपर्ने भएकोले वाछुइनारी (मट्टिमाला/पुल्लिकमाला) चाहिने बताए । तर, होँछासँग वाछुइनारी थिएन । आमासँग सल्लाह गरेर सिकुरिमाले बाबु डिल्लिहँको वाछुइनारी चोरेर दिइन् । डिल्लिहँले बागदत्त बोल्नका लागि ज्वाइँलाई वाछुइनारी माग्यो । मानिसले सिकुरिमासँग लिएको वाछुइनारी दियो । डिल्लिहँ र नाकिमाले होँछासँग वाछुइनारी लिएर छोरीको बिहेबारी गरिदिए ।

केही दिनपछि छोरी–ज्वाइँलाई विदा दिए । बाबुआमाले दिइपठाएको कुरा र एक जना महिला सेवक याच्हँखाल्यो लिएर सिकुरिमा र होँछा माइति-ससुराली घर नायम्मादेखि हिमालतिर लागे । समय बित्दै जाँदा उनीहरुका तीन जना छोराहरु जन्मिए : (१) जेठो मकुम्बुङ (भोटे), भोटतिर बस्ने; (२) माइलो हर्कम्बुङ (किरातीरराई), हिमालमुनि बस्ने र (३) कान्छो रिब्लबुङ (थारू), तराई मधेसतिर बस्ने । यसरी किरातीका पुर्खाहरु जन्मिए र उनीहरुको शाखा-सन्तान बढेर गयो ।

(२) योँला (सिन्धुघाँटी)मा किरात

‘वाडाको’ भन्नु पानीको पूजा हो अर्थात् यसो पनि भन्न सकिन्छ- पानीछेउमा बस्ने पुर्खाहरुको पूजा हो । वाडाको मुन्दुममा नदीकिनारमा रहेको थलोको रुपमा योँलाको वर्णन हुने गर्छ । योँलाबाट नदी पछ्याउँदै थारु र बाजी (बृज्जि)हरुको थलो हुँदै वराहक्षेत्रबाट सप्तकोशी पार गरेर हालका स्थानमा किरातीहरुले बसोबास गरेको वर्णन वाडाको मुन्दुममा आउँछ । अरु त अहिले पनि सजिलै खुट्याउन सकिन्छ तर त्यो योँला कहाँ पर्छ भन्नेबारेमा मुन्दुमको वर्णनलाई आधार मानेर पुरातात्विक उत्खननले पत्ता लगाएका प्रमाणहरुसम्म पुग्नुपर्ने देखिन्छ ।

चाम्लिङ राईहरु ठूलो नदी (किरात राई भाषामा कोशी)लाई योँवा/यँवा भन्ने गर्छन् । यो शब्द अहिले पनि प्रचलनमा रहेको छ । चाम्लिङ राईहरु बसोबास गर्ने ठाउँहरुको नामको अन्त्य अहिले पनि ‘ला’ प्रयोग भएको पाइन्छ । जस्तो खोटाङ जिल्लामा पर्ने प्वाँला, प्याला आदि । यसरी नदीछेउको थलो भन्ने अर्थमा ‘योँ’मा ‘ला’ जोडिनु स्वभाविक हो । शब्दका हिसाबले मात्र भन्दा पनि योँला नदीकिनारको थलो हो भन्ने स्पष्ट हुन्छ । वाडाको मुन्दुममा पनि योँला नदीकिनारको थलो हो भन्ने नै वर्णन आउँछ । तर, नदीकिनारमा पर्ने त्यो थलो कहाँ पर्ला भनेर खुट्याउन चाहिँ वाडाको मुन्दुममा वर्णित नागजाति, किरात पुर्खा होँछा र नागकन्या सिकुरिमाबीचको वैवाहिक सम्बन्ध र महादेवको प्रसंगसम्म पुग्नैपर्ने हुन्छ ।

इतिहास र पौराणिक कथाहरुमा नागजातिको प्रशस्त उल्लेख र चर्चा हुने गरेको पाइन्छ । तर, वाडाको मुन्दुममा आउने नागजाति चाहिँ को होला ? द्रविड सभ्यताका रुपमा चिनिने सिन्धुघाँटी र मोहनजोदाडोको उत्खननका क्रममा नागजातिको अस्तित्व फेला परेको छ । जेएच मार्सलले मोहनजोदाडोमा नागजातिको अस्तित्व रहेको उत्खननका क्रममा पत्ता लागेको बताएका छन् । उनका अनुसार एउटा भक्तको शिरमा नागको फणा रहेको छ । त्यो नागजातिको अस्तित्व रहेको प्रमाण हो (पौड्याल, २०६० : ५) ।

सिन्धुघाँटीमै गरिएको उत्खननअनुसार त्यहाँ इसापूर्व दोस्रो र पहिलो शताब्दीमा ‘वाछुइनारी’ (पुल्लिक)को उत्पादन हुने गथ्र्यो र त्यहाँबाट सेन्ट्रल एसिया र चीनको पश्चिमी सिन्जियाङसम्म व्यापार हुन्थ्यो (Blackburn, 2003/2004: 31) । वाडाको मुन्दुममा पनि प्रस्ट भनिएको छ- वाछुइनारी (beads) नागजातिसँग मात्र थियो, किरात पुर्खा होँछाले नागकन्या सिकुरिमासँग लिएर ससुरा डिल्लिहँ (पातेना)लाई दिएका थिए । यसको स्मरणमा अहिले पनि चाम्लिङ राई लगायत किरात राईहरुमा बिहेमा केटीबाट वाछुइनारी लिएर केटाले सासू-ससुरालाई दिने चलन कायमै छ ।

त्यस्तै गरेर वाडाको मुन्दुममा महादेवको पनि प्रसंग आउने गर्छ । सिन्धुघाँटीमा गरिएको उत्खननहरुले त्यहाँ लिङ्गपूजाको प्रचलन रहेको प्रमाणित भएको छ । सिन्धुघाँटीमा प्रशस्तै शिवलिङ्गहरु फेला परेका थिए । यसबाट द्रविडहरु लिङ्गपूजक थिए भन्ने स्पष्ट भएको छ (झा, सन् २००० : ३८) । र, लिङ्गपूजा शिव, महादेवको प्रतीक हो । वाडाको मुन्दुममा महादेवको सन्दर्भ आउनुको अर्थ पनि यही हो कि किरातहरु सिन्धुघाँटीको लिङ्गपूजासँग परिचित थिए ।

किरातहरु सिन्धुघाँटीमा पुगेका थिए भन्ने अर्को प्रमाण हो त्यहाँ भेटिएको भोट-मंगोल (Tibeto-Mongoloids) हरुको हाड फेला पर्नु । मोहनजोदाडोमा गरिएको उत्खननमा फेला परेका हाडहरु चार प्रजातिका थिए प्रोटो-अस्ट्रोलाइड (Proto-Australoid), मेडिटेरिनियन (Mediterranean), मंगोल (Mongoloid) र अल्पिनोइड (Alpinoid) (Pusalker, 1957: 173) । त्यस्तै गरेर त्यहाँ किरातहरुले मासुका रुपमा उपभोग गर्ने गाई, भैंसी र सुँगुरलगायतका हाडहरु पनि फेला परेका छन् (Pusalker, 1957: 174) ।

मंगोलहरुका हाडहरु कति हजार वर्षअघिका थिए भन्ने थाहा पाउन सकेमा किरातका पुर्खाहरु सिन्धुघाँटीमा कति पहिले पुगेका थिए भन्ने कुरा खुलस्त हुन्छ । तर, सिन्धुघाँटीमा फेला परेको वाछुइनारीलाई आधार मान्ने हो भने आजभन्दा २२०० वर्षअघिको समयसँग सम्बन्धित देखिन्छ वाडाको मुन्दुम । र, ‘वाडाको मुन्दुम’ नागजाति अर्थात् द्रविडहरुसँग किरातहरुको वैवाहिक सम्बन्ध गाँसिएको कथा हो ।

(३) थारु–बाजीदेखि हालको थलोसम्म

वाडाको मुन्दुममा छलफल गर्नैपर्ने अर्को सन्दर्भ हो थारु र बाजीहरुको । वाडाको मुन्दुमअनुसार किरातहरु योँलाबाट हिँडेपछि थारुहरुको थलो र वृज्जि संघ हुँदै आएका थिए । किरात राईहरुले मुदुममा वृज्जिहरुलाई बाजी (चाम्लिङ), बजी (साम्पाङ), बाजु (कोयी) (राई, २००८) आदि विभिन्न नामले पुकार गर्छन् । अहिले पनि थारुहरुले आफूभन्दा दक्षिणमा बस्नेहरुलाई बाजी भनिरहेका छन् । वृज्जि संघ प्राचीनकालमा भारतका १६ जनपदमध्ये एउटा प्रमुख जनपद थियो जुन गंगा नदीको उत्तर (वर्तमान उत्तरी विहार) मा थियो । मगधराज अजातशत्रुले ई.पू. ४८५ आसपासमा आफ्नो राजतन्त्रमा गाभेपछि वृज्जि संघीय गणराज्यको अन्त्य भएको थियो (आचार्य, २०६० : ७९) ।
थारुहरुको थलो पार गरेपछि सप्तकोशीक्षेत्रमा जो आउँछ वराहक्षेत्र, त्यो चाहिँ थारु र किरातीहरुबीचको सांस्कृतिक-भौगोलिक सिमाना मानिन्छ (सिवाहाङ, २०६८ : ११७) । मुन्दुमले पनि किरात र थारुहरुलाई दाजुभाइ मानेको छ । वराहक्षेत्रबाट उभो लागेपछि चाहिँ किरातीहरु हाल बसोबास गरिरहेका क्षेत्रमा फैलिएका हुन् । वाडाको मुन्दुमले यही बताउँछ ।

सन्दर्भसामग्री
आचार्य, बाबुराम (२०६०) । प्राचीनकालको नेपाल । दोस्रो संस्करण (?) । काठमाडौं : श्रीकृष्ण आचार्य ।
काइँला, वैरागी (सन् १९९९) । ‘मुन्धुम’ । निर्माण (संस्कृति विशेषांक) । वर्ष १९, अंक ३४, अप्रिल १९९९ । सिक्किम, निर्माण प्रकाशन ।
झा, द्विजेन्द्रनारायण (सन् २०००) । प्राचीन भारत : सामाजिक, आर्थिक और सांस्कृतिक विकास की पड्ताल । प्रथम संस्करण । दिल्ली : ग्रन्थ शिल्पी (इंडिया) प्राइवेट लिमिटेड ।
ढुंगेल, डा. रमेश (२०६९) । ‘विगत बुझ्ने प्रयास’ । हिमाल खबरपत्रिका । १६-३०, असोज ।
पौड्याल, डा. वीणा (२०६०) । काठमाडौं उपत्यकाका प्रमुख उमामहेश्वर र भैरव मूर्तिहरु । प्रथम संस्करण । ललितपुर : साझा प्रकाशन ।
राई, प्रा.डा. नोवलकिशोर, प्रा.डा. विष्णु एस राई, टंकबहादुर राई र बागदेवी राई । सम्पादक । सन् २००७ । चाम्लिङ-नेपाली-अंग्रेजी शब्दकोश । प्रथम संस्करण । काठमाडौं : किरात चाम्लिङ राई शब्दकोश तथा व्याकरण निर्माण मूल समिति ।
सिवाहाङ, जय (२०६८) । किरात मुन्धुमभित्रको विज्ञान स् बौद्धिक तथा व्यवहारिक ज्ञान । प्रथम संस्करण । भोजपुर : कृष्णकुमारी राई ।
Blackburn, Stuart (2003/2004), Memories of Migration: Notes on legends and beads in Arunachal Pradesh, India, EBHR: European Bulletin of Himalayan Research, 25/26, Autumn 2003-Spring 2004.
Pusalker, A.D. (1957), The Indus Valley Civilization, in The Vedic Age, General Editor R.C. Majumdar, third impression, London: George Allen & Unwin Ltd.

तपाईको प्रतिक्रिया