तामाङ चिकित्सक उत्पादन र सामुदायिक अस्पताल सञ्चालन तामाङ चिकित्सक समाजको दीर्घकालीन योजना हो– डा. दिलबहादुर थोकर

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

(तामाङ चिकित्सक समाज, नेपाल तामाङ संघसंस्थामध्ये सबैभन्दा कान्छो हो भन्दा फरक नपर्ला सायद । कोरानोकै बिच २०७७ माघ २१ गते कम्पनी ऐन अन्तर्गत दर्ता भई सञ्चालनमा आएको हो समाज । समाज ‘कोरोना स्वास्थ्य अभियान’ लिएर गाउँबस्ती पुग्यो । कोरोनाकै बिच गाउँबस्तीहरुमा पुगेर हेल्थ क्याम्पहरू सञ्चालन गरे । एन्टीजेन्ट किटद्वारा कोरोना परीक्षण गरे, कोरोना बिरामीहरूलाई परामर्श दिए, औषधि, माक्स, स्यानिटाइजर लगायत स्वास्थ्य सामग्री वितरण गरे । समाज छोटो समयमै समुदायभित्र मात्र होइन समुदाय बाहिर पनि परिचित हुन सफल रह्यो । प्रस्तुत छ समाजका बारे र समाजले सञ्चालन गरेको कोरोना स्वास्थ्य अभियान बारे समाजका अध्यक्ष डा. दिलबहादुर थोकरसँग सैलुङअनलाइनले गरेको कुराकानीको सम्पादित अंश)

तामाङ चिकित्सक समाज, नेपालको बारेमा बताइ दिनुहोस् न ।

तामाङ चिकित्सक समाज बारे बताउनु पहिले म यसको स्थापनाको पृष्ठभूमितिर थोरै जान चाहन्छु । तामाङ चिकित्सक समाज स्थापना हुनुभन्दा तीन चार वर्ष अगाडि नै डा. दिपेन तामाङ, डा. निराजन तामाङ, डा. बुद्धि तामाङलगायत तामाङ चिकित्सक भाइहरुले तामाङ चिकित्सकहरुलाई संगठित गर्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत् तामाङ लिडरसीप टीम भनेर ग्रुप सञ्चालनमा ल्याउनु भएको रहेछ । त्यति बेला उहाँहरुले धेरै तामाङ चिकित्सकहरुलाई त्यस टीममा समेट्नु भएको रहेछ । टीमले एक दुई ओटा छलफल तथा बहसका कार्यक्रम पनि आयोजना गरेको रहेछ । अर्कोतिर त्यति नै बेला केही तामाङ चिकित्सक भाइहरुले भने सामाजिक सञ्जालमार्फन् नै मंगोलियन चिकित्सक टीम शुरु गर्नुभएछ । तर पछि ती दुबै अगाडि बढ्न सकेन, त्यत्तिकै सेलाएर गयो ।

पछि डा. दिपने र डा. निराजनले नै आफूहरुसँग सामाजिक सञ्जालमा जोडिनु भएका तामाङ चिकित्सकहरुको फेरि एउटा ग्रुप बनाउनु भयो, तामाङ चिकित्सक समाज भनेर । त्यो ग्रुपमा म पनि जोडिएँ । ग्रुपमा विविध विषयहरुमा छलफल अगाडि बढ्यो । ग्रुपमा हुने छलफलद्वारा नै यसलाई दर्ता गरेर संस्थागत रुपमा अगाडि बढाउनु पर्छ भन्ने निष्कर्षमा पुग्यौं हामी ।

तर्का गर्नु भन्दा पहिले हामी बिच घनिभूत छलफल भयो । छ सात पटक त हामी विभिन्न क्याफेहरुमा बैठक नै बस्यौं । त्यसपछि दर्ता प्रक्रिया अघि बढ्यो र कम्पनी ऐन अन्र्तगत मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा २०७७ माघ २१ गते औपचारिक रुपमा दर्ता भयो ।

समाज दर्ता भएलगतै हामीले पहिलो कार्यक्रमको रुपमा नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटी काठमाडौंमा ल्होछारको शुभकामना आदनप्रदान तथा तामाङ संघसंस्थाहरुसँग अन्र्तक्रियात्मक कार्यक्रम आयोजना गर्यौं । दर्ता भएको १५ दिनपछि नै रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाको पच्र्याङमा वृहत स्वास्थ्य शिविर चलायौं । त्यसपछि काभ्रे तेमालको रचना तामाङ बहिनी जो मृगौला फेलिएर भएर बिरामी थिइन् उनलाई पनि समाजकै पहलमा चार लाख सहयोग संकलन गरेर हस्तान्तरण गर्यौं । यसरी अगाडि बढ्यो तामाङ चिकित्सक समाज ।

तामाङ चिकित्सक समाजसँग अहिले कति चिकित्सकहरु जोडिनु भएको छ ?

अहिले हाम्रो सामाजिक सञ्जालमा दुई सयजना भन्दा बढी तामाङ चिकित्सकहरु जोडिनु भएको छ । सक्रिय रुपमा खटिनुहुने साथीहरु तीसजना जति छन् । यतिबेला समाजको प्रबन्धकको रुपमा हामी १३ जना छौं र अध्यक्षको रुपमा समाजको नेतृत्व मैले गरेको छु ।

तामाङ चिकित्सक समाज यति बेला ‘कोरोना स्वास्थ्य अभियान’मा छ । के हो यो कोरोना स्वास्थ्य अभियान ?

‘कोरोना स्वास्थ्य अभियान’ गाउँ बस्तीमा चिकित्सकहरूको प्रत्यक्ष उपस्थितिमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि सञ्चालनमा ल्याएको स्वास्थ्य अभियान हो ।

समाजले कोरोना स्वास्थ्य अभियान चलाउनु भन्दा पहिले कोरोना स्वास्थ्य परामर्श अभियान चलाएका थियौँ । स्वास्थ्य अभियान बारे बताउनु पहिले म परामर्श अभियान बारे थोरै चर्चा गर्न चाहन्छु ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि सबैतिर भयावह स्थिति पैदा भयो । जताततै कोरोनाले आक्रान्त थियो । जताततै कोरोनाको डर त्रास फैलियो । अस्पतालका बेडहरू कोरोनाका बिरामीहरूले भरिभराउ भए । दैनिक सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो । बिरामीहरूले अस्पतालमा बेड नपाउने अवस्था सिर्जना भयो । अस्पताल भर्ना भएका बिरामीहरूले अक्सिजन नपाउने अवस्था आयो । अक्सिजनकै अभावमा कयौँ कोरोनाका बिरामीहरूले ज्यान गुमाउनु पर्‍यो ।

आइसोलेसन सेन्टरहरु सङ्क्रमितहरूले भरिभराउ भए । कयौँ बिरामीहरू होम आइसोलेसनमै बस्नुपर्ने स्थिति आयो । सहरबाट गाउँ जाने मानिसहरू बढेसँगै गाउँगाउँसम्ममा कोरोना पुग्यो । गाउँगाउँमा पनि होम आइसोलेसनमा बस्नेहरूको सङ्ख्या बढ्न थाले । यो अवस्थामा हामीले सुरुमा ‘कोरोना स्वास्थ्य परामर्श अभियान’ चलायौँ । परामर्श अभियानको उद्देश्य कोरोना सङ्क्रमण भई आइसोलेसनमा बसेका बिरामीहरूलाई चिकित्सकहरूद्वारा प्रत्यक्ष परामर्श उपलब्ध गराउनु थियो । परामर्शका लागि हामीले चिकित्सकहरूको व्यवस्था गर्‍यौँ र ‘यो समयमा यो यो चिकित्सक खाली हुन्छ, यो नम्बरमा तपाईँहरुले उहाँहरूलाई सम्पर्क गरेर परामर्श लिन सक्नु हुन्छ’ भनेर नेपाल तामाङ घेदुङ, तामाङ डाटाबेस र विभिन्न एफएम रेडियोहरूमा सूचना दियौँ । कोरोनाका बिरामीहरूलाई टेलिफोनको माध्यमबाट परामर्श दिन थाल्यौँ । धेरै कोरोना सङ्क्रमितहरूलाई परामर्श दियौँ । धेरै कोरोना सङ्क्रमितहरूले चिकित्सकहरूबाट सिधै परामर्श पाए । यसले सङ्क्रमितहरूको मनोबल बढेको हामीले महसुस गर्‍यौँ । स्वास्थ्य परामर्शका दौरान हामीले परामर्श मात्र नभएर बिरामीहरूलाई आइसियु बेड मिलाउनेदेखि आइसोलेसनमा बस्ने व्यवस्था मिलाउनेसम्म कार्यहरू गर्‍यौँ ।

परामर्श अभियानकै दौरान रेडियो नेपालदेखि लिएर धेरै सञ्चार माध्यमहरूबाट फोन आउन थाल्यो । तपाईँहरूको यो अभियान कस्तो हो ? के हो ? भनेर सोधिखोजी पनि भयो । अभियानको प्रचारप्रसार पनि हुँदै गयो ।

अभियानद्वारा बिरामीहरूले परामर्श सेवा पाए र हामी चिकित्सक साथीहरू उत्साहित भयौँ । अब परामर्श सेवाले मात्र पुगेन स्वास्थ्य अभियान नै चलाउनु पर्छ भन्नेमा हामी पुग्यौँ । त्यसपछि मैले आफैँ नेपाल तामाङ घेदुङको महासचिव बाबु घिसिङलाई सम्पर्क गरेर अब हामी गाउँगाउँ जान चाहन्छौँ (तामाङ चिकित्सक समाज अब कोरोना स्वास्थ्य अभियान लिएर गाउँगाउँ जान चाहन्छ) भनेर जानकारी गराएँ । नेपाल तामाङ घेदुङको साथ सहयोग रह्यो । घेदुङ पनि अभियानमा जोडियो । पछि बोधिसत्त्व विहार पनि यस अभियान जोडिन आइपुग्यो । कोरोना स्वास्थ्य अभियानलाई यसरी अगाडि बढायौँ ।

तपाईँहरूको कोरोना स्वास्थ्य अभियान सबैभन्दा पहिले कहाँबाट कहिलेदेखि सुरु भयो ? अहिलेसम्म कहाँ कहाँ पुग्यो र कसरी अगाडि बढिरहेको छ ?

समाजले कोरोना स्वास्थ्य अभियान अन्तर्गत अहिलेसम्म विभिन्न आठ स्थानमा हेल्थ क्याम्पहरू सञ्चालन गरेको छ । अभियान लिएर हामी पहिलो पटक २०७८ जेठ २९ गते काभ्रेको चौरीदेउरालीको माझिफेदामा पुग्यौँ । मेरो नेतृत्वमा पाँच जना चिकित्सकको टोली लिएर हामी त्यहाँ गएका थियौँ । हेल्थ क्याम्प सञ्चालन गर्‍यौँ । हामीले त्यहाँ एन्टीजेन्ट किटद्वारा ८५ जनामा कोरोना परीक्षण गर्‍यौँ जसमध्ये १५ जनामा कोरोना पोजेटिभ देखियो । कोरोना पोजेटिभ देखिएकाहरूलाई घरमै आइसोलेसनमा बस्न लगायौँ । हामीले उहाँहरूलाई खाने औषधिदेखि लिएर माक्स, स्यानिटाइजर उपलब्ध गरायौँ र परामर्श सेवा पनि दियौँ । हेल्थ क्याम्पमा आउनु भएका सबै जनालाई माक्स, स्यानिटाइजनहरु बाँड्यौँ ।

चौरीदेउराली पछि हामी दोलखाको भुरुङ्गा र भैँसे गयौँ । भुरुङ्गा ५७ जनामा एन्टीजेन्ट किट टेस्ट गर्दा ३ जनामा पोजेटिभ देखियो र भैँसेमा ४३ जनामा टेस्ट गर्दा १० जना पोजेटिभ देखियो । दोलखा पछि हामी फेरि काभ्रे जिल्लाकै खार्पाचोक र महाभारतमा गयौँ । त्यसपछि सिन्धुपाल्चोकको मेलम्ची, नुवाकोटको म्यागाङमा र पछिल्लो पटक ललितपुरको कोन्ज्योसोममा पुगेर हेल्थ क्याम्प सञ्चालन गरेका छौँ ।
कोरोना स्वास्थ्य अभियानमा धेरै सङ्घसंस्था र व्यक्तिहरूको साथ सहयोग रहेको छ । अभियानका लागि नेपाल तामाङ घेदुङको तर्फबाट करिब ८ लाख रुपैयाँ सहयोग सङ्कलन गरेको छ भने बोधिसत्त्व विहारले २१ लाख रुपैयाँ भन्दा बढी रकम सहयोग गरेको छ ।

यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि तयारी गर्नु पर्ने कुरा उठिराखेको छ । तामाङ चिकित्सक समाज कोरोना स्वास्थ्य अभियानमा यस अघिदेखि नै जुटिराखेको छ । समाज आगामी दिनमा कसरी अगाडि बढ्दैछ ?

हो, पक्कै पनि कोरोनाको तेस्रो लहरको सम्भावना अवश्य नै छ । यो आयो भने दोस्रो लहरको भन्दा भयावह स्थिति आउने नै छ । यसको लागि हामी तयारी गर्दैछौं । तामाङ चिकित्सक समाजलाई अहिले पनि विभिन्न ठाउँबाट तपाईँहरू आइदिनु पर्‍यो, स्वास्थ्य शिविर सञ्चालन गरिदिनु पर्‍यो भनिराखेका छन् । त्यसैले हामी त्यसको तयारीमा पनि जुटिरहेका छौँ ।

कोरोना स्वास्थ्य अभियान बाहेक समाजको आगामी कार्यक्रमहरू के के छन् ? छोटोमा बताइदिनुहोस् न ।

अब हामी छिट्टै समाजको वार्षिक साधारण सभा गर्दैछौं । कार्यक्रमहरू साधारण सभाले पारित गरेपछि आउने नै छ । तै पनि मलाई अहिले व्यक्तिगत रूपमा साधारण सभामा लैजानु पर्ने कार्यक्रमहरू भनेको चाहिँ कोरोना स्वास्थ्य अभियानमा सहयोग गर्नुभएका संघसंस्थाहरुलाई सम्मान गर्ने, तामाङ चिकित्सक समाजको नेपालमा जिल्ला शाखाहरू र विदेशमा प्रवास शाखाहरू गठन गर्ने, ‘एक चिकित्सक एक विद्यार्थी छात्रवृत्ति अभियान’ (एक जना चिकित्सकले सरकारी विद्यालयको एक जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने कार्यक्रम), ‘धेरै हातहरू धेरै सेवाहरू’ (धेरै सङ्घसंस्था र व्यक्तिहरूसँग समन्वय गरी काम गर्ने), समाज सञ्चालनका लागि आर्थिक अभियानहरू सञ्चालन गर्ने, समाजको आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने लगायतका कार्यक्रमहरू हुन् । अबको दश वर्षे योजना भनेको हामी एक दुई जना तामाङ चिकित्सकहरू, एक दुई जना स्वास्थ्यकर्मीहरू उत्पादन गर्छौ र हाम्रो आफ्नै सामुदायिक अस्पताल सञ्चालनमा ल्याउँछौँ । या नै तामाङ चिकित्सक समाजको दीर्घकालीन योजना हो । मलाई लाग्छ यी कार्यक्रमहरू साधारण सभामा छलफल हुनेछ र पारित भएर आउनेछ । समाजको स्वास्थ्य अभियानलाई विस्तार गर्ने र दुर्गम क्षेत्रसम्म पुर्‍याउने कुराहरू त छँदै छ ।

तपाईको प्रतिक्रिया