यकिना अगाधका पाँच लघुकथाहरु

यकिना अगाध कथाकार
182 Shares
झापा

१. मलामी

आज एक्कासी दुर्घटनामा परेर उ मर्यो । घरपरिवार, आफन्तजन, शुभचिन्तक, चिनेजानेकाहरुको भीड घाटमा पुग्यो । मलामीहरुको ठूलो भीड देखेर मलामीमध्येको एउटाले भन्यो- ‘लौ हेर्नुस त ! उहाँले कत्रो सम्मान पाउनु भयो । यति धेरै मलामी पाउनु भनेको सामन्य भाग्यको कुरो होइन ।’

‘यो कहिले मर्ला र हेर्न पाउला भन्नेहरु पनि त यही भीडमा होलान् नि !’ अर्को मलामीले उसको प्रशंसामा चित्त बुझाएनन् ।

लासको अनुहारमा भने जिउँदो भएको बेलामाझैं आफ्नो प्रशंसा सुनेर न त कुनै रौनक नै छायो, न त बिरोध गरेको सुनेर कुनै ग्लानी नै छायो ।
दुनियाको अगाडि आजैबाट मान्छेबाट मुर्दामा परिणत भएको उसले आफ्नो काम, कर्तव्य, नाम, परिचय मात्र होइन वस्त्र समेत छोडेर गइसकेको थियो ।

२. विचार

एकदिन उ घुम्दै फिर्दै कुकुरलोक पुग्यो । कुकुरहरु आ-आफ्नो धुनमा थियो । कोही खाँदै, कोही खेल्दै त कोही सिकार गर्दै । उसलाई त्यहाँ एक्कासी देखेर तिनीहरु एकत्रित भयो । उसलाई तिनीहरुको झुण्डले झण्डै सिकार बनाएनन् ।

कुकुरको यस्तो स्वतन्त्र जीवन देखेर त्यस मान्छेलाई ईख पलायो ।

उसले तिनीहरुलाई फकाउनको लागि मानवलोकको वर्णन सुनायो । त्यहाँको स्वर्गीय सुख शान्तिको कुराले तिनीहरु लोभियो । उसँगै तिनीहरु मानव लोकमा आयो । मानवलोकमा ल्याएपछि उसले तिनीहरुलाई मान्छेको गुण, बानी, ब्योहोरा सिकायो । नयांँ ज्ञान सिक्न पाउँदा तिनीहरुलाई पनि रमाइलो नै लाग्यो र जे जे सिकायो त्यही त्यही खुरुखुरु सिक्दै गयो । तिनीहरुमा छलकपट रहित प्राकृतिक गुण सर्लक्कै हरायो र मान्छेको जस्तै चाकडी, चाप्लुसी, दम्भ र अहंकारले भरियो ।

तिनीहरुले आफू छुट्टै अस्तित्व बोकेको जनावर मात्र होइन आफ्नो छुट्टै लोक छ भन्ने पनि बिर्सियो । एक गास भातको लागि त्यही मान्छेको वरीपरी आसे भएर उसैको अह्राउ खटाउको नारकीय जीवन बिताइ रह्यो ।

तै पनि तिनीहरुलाई आफ्नो स्वतन्त्र जीवन भएको लोकमा फर्केर जाने होस कहिल्यै आएन ।

३. नियम

उ ट्राफिक चेकिङमा पर्यो । उसँग ब्लुबुक थिएन । उसलाई समात्यो । उसले आफूलाई समात्ने ट्राफिकसँग छाडिदिनको लागि बिन्ति बिसायो तर उसले अलिपर उभिरहेको अफिसरतिर इंकित गर्दै भन्यो- ‘त्यहाँ सरलाई भन ।’

त्यो अफिसरले जरिवानाबापत हजार रुपैयाको चिट काट्न सहयोगीलाई आदेश दियो । यो सुनेर उसले प्रतिवाद गर्न खोज्यो– ‘हैन सर ! यो त अति नै भयो । ब्लुबुक बिर्सेको त एक सय रुपैया मात्र जरिवाना होइन र ?’

‘त्यसो भए यो बाइक यही छाडी राख र ब्लुबुक ल्याएर लैजाउ ।’ ट्राफिक अफिसरले ठुङ्ना लागेको सर्पले फणा उठाएझैं अनुहार बनाएर भन्यो- ‘खुब मलाई नियम सिकाउने ? नियम जान्नेले आफू पनि नियममा हिड्नु नि !’

ट्याक्सि समाएर घर जाउ फेरि आउ उसले हिसाब गर्यो उस्तै पर्ने भो । त्योमाथि समयको बर्बाद । यसपछि उसले लुरुक्क परेर अफिसरले तोकेको हजार रुपैया जरिवाना तिर्यो । हिड्ने बेलामा अफिसरतिर फर्केर उ मुस्कुरायो किनकि अनावश्यक झन्झटबाट उसले मुक्ति पाएको थियो ।

उ मुस्कुराएको देखेर ट्राफिक अफिसर पनि मुस्कुरायो किनकी अलिकति उसलाई पनि आमदानी भएको थियो ।

४. अनुहार

आफूले कार्यभार सम्हालेदेखि उसले घुसखोरी, भ्रष्टचारी, तस्करी, डन सबैलाई तह लायो । आफूले भ्याएसम्मको बेथितिलाई हटाएर थिति बसाल्यो ।

सुशासनको अपेक्षा गरिरहेको सर्वसाधारण जनताको उनी आँखाको नानी बन्यो । सबैतिरबाट वा वा र स्याबासी पाइरह्यो । सरकारले पनि उसको कामको उच्च मूल्याङकन गर्यो । स्याबासी स्वरुप कनिष्ठ अनुसन्धान अधिकृतबाट वरिष्ठ अधिकृतमा बढुवा गर्यो ।

यसैबीच राष्ट्रिय अन्तराष्ट्रिय तस्करीहरुको ठूलो मात्राको सुन एयरपोर्टबाटै हरायो । अनुसन्धानको मूल जिम्मा उसैले पायो । सानोतिनो काममा छिट्टै नतिजा हात पार्ने उ यसपाली भने फेल खायो । अनुसन्धानकर्ता फेरियो । नतिजा सार्वजनिक हुँदा यसअघि स्याबासीको प्रशंसापत्र हल्लिरहने उसको हातमा हत्कडी भुन्डिरहेको थियो ।

५. औपचारिकता

बाटोमा हिड्दै गर्दा एउटा मोटरसाइकिलले ठक्कर दिएर उ गम्भीर घाइते भयो । यो समाचार एकैछिनमा हावासरी सनसनिएर फैलियो ।
उपचारत अस्पतालमा उसको शीघ्र स्वास्थ्यलाभाको कामना गर्न आफन्तजन र शुभचिन्तकहरुको भिड लाग्यो । नर्स तथा त्यहाँका कर्मचारीहरुले भीडभाड नगरिदिन गरेको आग्रहलाई समेत वास्त नगरी उनीहरु एकअर्काले उसलाई भेटिरह्यो । आफू पुगेर भेटघाट गरेको प्रमाण देखाउन धेरैजसोले त बिमारीको छेउमा बसेर सेल्फी समेत खिच्न भ्याए ।

केही समयपछि उ निको भयो । तर, अस्पतालमा लागेको उपचार खर्च चुक्ता नगरेसम्म डाक्टर र अस्पताल सञ्चालकले डिस्चार्ज गर्न मानेनन् । उसले तिनै आफन्तजन र शुभचिन्तकहरुलाई सम्झ्यो । खबर पठायो ।

अघि शीघ्र स्वास्थ्यलाभको कामना गर्न तछाड मछाड गर्न आइपुगेका तिनीहरु अहिले भने कोही पनि देखा परेनन् ।

(कथाकार आगाधका उक्त कथाहरु ‘ह्रिक्पा’ लघुकथा संग्रहमा तामाङ भाषामा प्रकाशित छन् । कथाहरु नेपाली भाषामा स्वयं कथाकारले अनुवाद गरेका हुन् ।)

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया