म बाँचिरहेछु हल्लाको आदेश
जस्तो,
हरेक दिन शुरु हुन्छ सुनसानको हत्याबाट ।
ब्यूँझनुभन्दा अघि सिरानमै बज्छ अलाम ।
मोटरसाइकलको वाफिलो इन्जिन हुइँकिन्छ
र दगुर्छ एउटा बिहान
यो सहरमा मैले सुनेको छैन न्यानो घामको गीत । चराको चिर्बिर सङ्गीत ।
ती चुपचाप छन् कि !
चिसोको एलर्जी छ ज्यानलाई । सडकमा चिसो हल्लाहरु छन् ।
हावा, तुषारो, शीत हल्ला बोलिरहेका छन् ।
मोटरगाडीहरु चिच्याइरहेका छन्, चिसो आवाज ।
तर, हतार भने दौडेकै छ ।
दौडनु पनि जीवन हो ।
म कलेज पुग्छु
पुस्तक हल्ला हो । कक्षाकोठा हल्ला हुन् ।
विद्यार्थी नृत्य देखाउँछन् । प्राध्यापक एक अञ्जुली बान्ता गर्छन् ।
म कार्यालय पुग्छु
आदेशहरु कोठा वरपर गरिरहेका छन् ।
किबोडका अक्षरहरु स्क्रिनमा नृत्य गर्छन् । हरेक दिन उही नाच ।
उही कर्कस आवाज पछाडिबाट बोलिरहन्छ । जो सुन्दैन अरुलाई ।
साँझ सडक झनै हतारमा छ
हतार नै रहेछ हल्लाको जन्मदाता
आवाजहरु कानभित्र घुस्छन् । र त्यहीँ नाचिरहन्छन् ।
तरकारीमा विषादी छ । दुधमा केमिकल छ । औषधि नक्कली छ ।
यस्तै यस्तै मात्र छन् समाचारका हेडिङ…
घर आइपुग्दा छोरो देख्छु
टिभीमा कार्टुन हेरिरहेको छ । मोबाइलमा गेम खेलिरहेको छ ।
अर्थात् हल्लासँग चुपचाप अलमलिएको छ ।
छतमा उक्लिन्छु । एउटा हवाइजहाज उड्छ ।
मात्र चर्को आवाज छाडेर जान्छ
कानहरु एकनासले बज्छन् ट्या…
त्यति बेला पनि म हल्लाहरु बोकेर बाँचिरहेको थिएँ…
भूकम्प आयो । हल्ला मच्चायो ।
घरबाहिर निकाल्यो ।
एउटा हल्ला थपियो त के भयो ?
अनि आयो महाव्याधि ।
मैले ठाने हल्लाहरु छेउ लागे । म अति शान्ति भोगिरहेछु ।
अति शान्ति पनि हल्लै रहेछ ।
घरबन्दीमा म चुपचाप हल्लासँग छु ।
एकान्तको हल्ला, यो त झनै खतरनाक छ ।