नागोया , भदौ ५ । नजिकिदैं गरेको गैर आवासीय निर्वाचनमा विभिन्न पदका लागि उम्मेद्वारी दिने क्रम जारी छ । जापानमा बस्दै आइरहेकी सृजना पाण्डेले गैर आवासीय नेपाली संघ एनआरएनए जापानको सचिव पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
अघिल्लो कार्यकालमा महिला सदस्य रहेर उत्कृष्ट काम गर्न सफल पाण्डेले आगामी निर्वाचनमा सचिवका लागि उम्मेद्वारी दिएकी हुन् । विभिन्न सामाजिक कार्यहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा उत्कृष्ट सहभागिता जनाउँदै आफ्नो जिम्मेवारीलाई तदारुकताका साथ बहन गर्दै आएकी पाण्डेले आउँदो २०१९–२०२१ को कार्यकालका लागि एनआरएन जापानको सचिव पदमा उम्मेदवारी दिएको बताइन् ।
उनकै संयोजकत्वमा जापानमा पहिलो पटक १६ बर्षभन्दा कम उमेरका बालबालिकाहरुको आत्मविश्वास, आत्मबल र वाक् प्रतिभा एवम् बालबालिकाहरूको क्षमता अभिवृद्धिको लागि बहुभाषिक बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । त्यसैगरी उनकै अग्रसरतामा १०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानले खेलकुद क्षेत्रमा महिलाहरुको सक्रियता र मनोबल बढाउन पहिलो महिला भलिवल प्रतियोगिताको पनि आयोजना गरी सम्पन्न गराएका थियो ।
आगामी दिनहरुमा पनि नयाँ दृष्टि एवम् नयाँ दिशाका साथ कर्तव्यनिष्ठ भई एनआरएनए राष्ट्रिय समन्वय परिषद, जापानलाई पारिवारिक, स्वस्थ एवम् चुस्त दुरुस्त र अझै उत्कृष्ट संगठन बनाउने उद्देश्यको साथ आफु अघि बढ्नेछु, पाण्डेले बताइन् । ‘समावेशी नेतृत्व, नयाँ दृष्टिकोण र नयाँ दिशाको लागि मेरो उम्मेदवारी’ भन्ने मूल भावका साथ उनले २०१९–२०२१ को कार्यकालका निम्ति आफ्नो उम्मेद्वारी रहेको उल्लेख गरिन् ।