तामाङ पहिचान दिवस र ज्ञान महोत्सव

काठमाडौं

तामाङ जाति यहाँका प्राचीन समुदाय भएकोमा कुनै द्विविधा छैन । तामाङहरु मंगोल नश्लका हुन् । इतिहासमा यस जातिलाई विभिन्न नामले बोलाउने, चिन्ने र चिनाउने गर्दथे । कतिपयले होच्याउनका लागि पनि विविध नामले बोलाउँथे । इसाङ, भोटे, मूर्मी, सेँ, भोटिया, पिपा, कागते, जाडे, तामक लगायत धेरै नामले चिनिए । विविध नामाकरणले गर्दा तामाङहरुको पहिचानमा एक प्रकारले विभाजन र खण्डिकरण देखा परे । त्यो पहिचानको खण्डिकरण मात्रै नभएर सिङ्गो समुदायमा समस्याको विषय भएको थियो ।

तामाङ जाति नेपालको एक आदिवासी जनजाति समुदाय हो । यस जातिको जातीय जनसंख्या १५,३७,१८४ रहेको छ । तामाङ नेपालको पाँचौं ठूलो जातीय तथा भाषिक समूह हो । मूलतः चुरे श्रृखंला, महाभारत पर्वत, उच्च पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने यस जाति नेपालभरि फैलिएको पाइन्छ । हालको ३ नम्बर प्रदेश वरिपरि घना रुपमा बसोबास गरिआएको देखिन्छ । रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुलीका भूगोलमा यस जातिले आफ्नो सभ्यताको विकास गरेका हुन् । तराईका पूर्व-पश्चिम झापादेखि कैलालीको महेन्द्रनगरसम्म उपस्थिति छ । तराईमा सबैभन्दा बढी जनसंख्या चितवनमा (४६,१९८), दोस्रो सर्लाहीमा (३९,७५१) र तेस्रो बारामा (२७,७१७) छन् (स्रोतः केतवि २०६८) । नेपाल बाहिर सिक्किम, कालिम्पोङ, दार्जिलिङ, आसाम, मणिपुर, भुटान, वर्मालगायत देशमा छन् । अहिले विपे्रषणका लागि आप्रवासनको लहर विश्वभरि पुर्याइ दिएको छ ।

आफ्नै भाषा, संस्कृति, सामाजिक रहन सहन, रीतिरिवाज, विश्वदृष्ट्रिकोण र सृष्टि उत्पतिको मौलिक मिथक र लोककथामा निहित विज्ञान यस जातिसित पाइन्छ । यो जाति कला, साहित्य, साँस्कृतिक परम्परा र सामाजिक मूल्य-मान्यताले समृद्ध छ । तामाङ एक स्वाभिमानी जातीय समुदाय हो । राज्यसत्ताको कहिले पनि दलाली नगर्ने र चाप्लुसी गर्न नचाहने यो समुदाय सदैव आफ्नै वीरता, बलबुता र पौरखमा बाँचि रहे । बरु सधैँ सत्तालाई खबरदारी, सचेत गर्दै र शासकहरुको बागी बनेरै बसे । नेपालका सबैजसो राजनीतिक आन्दोलनमा निरन्तर बलिदानी दिँदै आइरहे । बि.स. २००७ सालमा गोले काँइला विराटनगरमा शहिद भए । निर्मल लामाले जनमुक्ति सेनाको पश्चिम सुर्खेत, सल्यान, जाजरकोट, दैलेख र कालिकोटको कमाण्ड सम्हालेका थिए । सबैखाले राजनीतिक आन्दोलन चाहे प्रजातान्त्रिक या वामपन्थी या कम्युनिष्ट, त्यसमा तामाङहरुको रगत बगेको इतिहास छ ।

तामाङ पहिचान

तामाङ जाति यहाँका प्राचीन समुदाय भएकोमा कुनै द्विविधा छैन । तामाङहरु मंगोल नश्लका हुन् । इतिहासमा यस जातिलाई विभिन्न नामले बोलाउने, चिन्ने र चिनाउने गर्दथे । कतिपयले होच्याउनका लागि पनि विविध नामले बोलाउँथे । इसाङ, भोटे, मूर्मी, सेँ, भोटिया, पिपा, कागते, जाडे, तामक लगायत धेरै नामले चिनिए । विविध नामाकरणले गर्दा तामाङहरुको पहिचानमा एक प्रकारले विभाजन र खण्डिकरण देखा परे । त्यो पहिचानको खण्डिकरण मात्रै नभएर सिङ्गो समुदायमा समस्याको विषय भएको थियो ।

एउटै जातिलाई विविध नामले बोलाउने कार्यले त्यस जातिको एकता र सामूहिकतामा तगारो पैदा गरिरह्यो । मूलरुपमा समुदायको सामुदायिक जीवनमा त्यसले रेखाहरु निर्माण भइ राजनीतिक शक्ति आर्जन र साँस्कृतिक एकताको सूत्रलाई कमजोर तुल्यायो । हुन त कतिपय इतिहासकार त्यसलाई शासकीय जातिको समकालिन राजनीतिक शक्ति सन्तुलन, व्यवस्थापन र दाउपेचको रुपमा व्याख्या गर्दछन् । खासगरी सत्ताको ‘फुटाउ र शासन गर’ नीति बमोजिम त्यो गरेको भन्ने बुझाइ पनि पाइन्छ । जे भएपनि त्यसले तामाङ समाजमा निकै सकस र तनाव, वास्तविक पहिचानको स्थिति सिर्जना गरेको थियो ।

त्यसैले केही तामाङ ताम्बा, गान्बाहरुसहित जगंवीर तामाङले भद्रभलादमी अगुवासहित श्री ३ भीम शमशेरलाई तामाङ कायम गरी सबैलाई ‘तामाङ’ भनियोस् भनी निवेदन दिए पछि बि.सं. १९८९ भाद्र ६ गतेका दिन तत्कालिन सरकारले इस्तिहार जारी गरेर अब उप्रान्त सबैलाई नेपाल सरहदभित्र तामाङ लेख्नु र लेख्न पाउने आदेश गरेका थिए । सोही दिनलाई अचेल तामाङ जातिले आफ्नो पहिचान प्राप्त भएकोले ‘पहिचान दिवस’ मनाउने चलन सुरु गरेका छन् । यस दिनलाई आफ्नो ऐतिहासिक दिनको रुपमा गर्वका साथ हर्षोल्लाससहित मनाउने थिति बसालेका छन् ।

तामाङ ज्ञान महोत्सव

नेपालमा विभिन्न समूहले विविध महोत्सव आयोजना गर्दै आएका छन् । दशैं महोत्सव, व्यापार महोत्सव, औद्योगिक महोत्सव, खाना महोत्सव, चलचित्र महोत्सव, जुत्ता मेला, पुस्तक मेला गर्ने चलन छ । अझ चाडबाडको बेला यस्तो निकै हुने गर्दछ । अब दशैं आउँदैछ यस्ता गतिविधिले तीब्रता पाउने छन् । तामाङ ज्ञान महोत्सव विगत केही वर्षदेखि काठमाडौंमा गर्दै आइरहेको छ । अहिलेसम्म ५ वटा महोत्सवहरु सम्पन्न गरिसकेको छ । ती महोत्सवमा तामाङ विषयवस्तुहरुमा तामाङ र गैरतामाङ विद्धान, प्राज्ञिक, लेखक, पत्रकार, कवि, अनुसन्धाता सबैलाई आमन्त्रण गरी गहन छलफल, विमर्श र अन्तरक्रिया गर्ने गरिन्छ । पहिलो र दोस्रोमा वौद्धिक महोत्सवहरु गरेका थिए । दोस्रोमा त तामाङ कवि र कविता सम्मेलन भएको थियो, तामाङ विषय माथि लेखिएका राम्रा कविताहरु वाचन भएका थिए । जसले समाजमा अत्यन्त राम्रो सन्देश र तरगं लगेको थियो ।

तेस्रो ज्ञान महोत्सव

ज्ञान महोत्सवको अवधारणा, अभ्यास र चलन नेपालमा विरलै छ । यो हाम्रो लागि नयाँ हो । खासगरी अमृत योञ्जन-तामाङको अवधारणा बमोजिम यो चलनले विधिवत नेपालमा प्रवेश पाएको छ ।

ज्ञान महोत्सवको अवधारणा, अभ्यास र चलन नेपालमा विरलै छ । यो हाम्रो लागि नयाँ हो । खासगरी अमृत योञ्जन-तामाङको अवधारणा बमोजिम यो चलनले विधिवत नेपालमा प्रवेश पाएको छ । उहाँले यस्तो चलन पश्चिम बंगालको अध्ययन अवलोकन भ्रमणमा जाँदा देख्नु भएको रहेछ । त्यसबाट उहाँ अत्यन्त प्रभावित हुनु भएको रहेछ र उहाँकै तत्वाधानमा नेपालमा ज्ञान महोत्सव गर्दै आइ रहेको छ । नेपालमा तामाङहरुले यसलाई दरोसित समाउने प्रयत्न गर्दैछ । यस महोत्सवमा ३० वटा जति कार्यपत्रहरु प्रस्तुत भयो ।

कार्यपत्रहरु बारे विषयगत क्षेत्र निर्धारण गर्दा इतिहास, भूगोल, साहित्य, संस्कृति,राजनीति, गीत-सङ्गीत, नाच, भाषा, बसाँइ सराइ, कला, रंगमञ्च, अर्थ, शिक्षा जस्ता मुख्य विषयहरु छानेका थियौँ । त्यसमध्ये विभिन्न विषयविज्ञद्वारा प्रस्तुत केही कार्यपत्रहरु बारे यहाँ चर्चा गरिनेछ । प्रा.डा. दानराज रेग्मी र डा. अम्बिका रेग्मीको ‘पश्चिमी तामाङ भाषिकामा मातृभाषा शिक्षा आवश्यकता, कार्यान्वयन प्रक्रिया तथा प्रभावकारिता’, अञ्जु मोक्तानको ‘तामाङ रिमठीमः तामाङ संस्कारको विस्तृत दस्तावेज’, डा. ओमकारेश्वर श्रेष्ठको ‘तामाङ थरको भाषावैज्ञानिक अध्ययन’, डा. लोकबहादुर लोप्चनको ‘शिक्षामा तामाङ भाषाको स्थिति, चुनौति र भावी दिशा’, निष्णु थिङको ‘तामाङ समुदायमा माघे संक्रन्ति’, रामबहादुर बुढाको, ‘नेपालको राजनीतिमा तामाङ जातिको योगदान’ लगायत कार्यपत्रहरु प्रस्तुत भए ।

यस बाहेक अरु पनि कार्यपत्रहरु पेश भएका थिए । यसरी पहिचान दिवस मूलतः ज्ञान दिवसको रुपमा मनाइयो । प्रस्तुत सबै कार्यपत्रहरु तामाङ जातिको आदिवासी ज्ञानमा आधारित थिए । ती सबै वौद्धिक सम्पति तामाङ वाङमयको हुनेछ ।

चौथो ज्ञान महोत्सव

यस पङ्तिकार नै चौथो तामाङ महोत्सवको संयोजक थिए । बि.सं. २०७६ भाद्र ६ र ७ गते ८७ औं तामाङ पहिचान दिवसको अवसरमा आयोजित यो ज्ञान महोत्सवको उद्घाटन सत्रको प्रमुख अतिथि सांसद् एवं कानून तथा ससंदीय मामिला मन्त्री शेर बहादुर तामाङ हुनुहुन्थ्यो । विशिष्ट अतिथि पूर्व सांसद जीतवीर लामा, तामाङ अन्तर्राष्ट्रिय परिषदका महासचिव मोहन गोले, ताम्सालिङ सघंर्ष समितिको अध्यक्ष जय प्रसाद गोले लगायतका व्यक्तित्वहरु थिए । कार्यपत्रहरु पूर्व सचिव धनबहादुर तामाङको ‘तामाङ ग्योइला विशेष ग्योइ ठीम’, डा. लक्ष्मी तामाङको ‘शब्द एकः शक्तिशाली हतियार’, बुद्ध योन्जनको ‘रेडियोमा तामाङ भाषा प्रशारणको अवस्था’, सन्जोग लाफामगरको ‘तामाङ चलचित्रमा तामाङ प्रक्षेपण’, डा. बालकृष्ण बलको ‘प्रविधिको दृष्टिकोणमा तामाङ भाषा’ पहिलो दिन प्रस्तुत भएको थियो । कार्यपत्र सत्रको अध्यक्षता डा. सग्रांम सिंह लामाले गर्नु भएको थियो ।

तस्विर : चाैथाे तामाङ ज्ञान महोत्सव

तामाङ राजनीतिका चुनौतिहरु विषयक प्यानल छलफलमा डा. मुक्त सिंह लामा, सांसद् नविना लामा (नेकपा), नेपाल तामाङ सघंको सभापति कवेल बहादुर तामाङ (नेका), रविन्द्र थिङ (सघींय समाजवादी फोरम नेपाल) सहभागी थिए भने सञ्चालन पत्रकार प्रतीक ङेसुरले गर्नु भएको थियो । दोस्रो दिन कार्यपत्र सत्रको अध्यक्षता डा. सुरेश तामाङले गर्नु भएको थियो । त्यस सत्रमा निष्णु थिङको ‘सरकारी सेवामा तामाङ जाति’, डा. सोमबहादुर धिमालको ‘तामाङ अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा तामाङ युवाहरुको भूमिका’, कर्म डि.लामाको ‘तामाङ सामाजिक आन्दोलन हिजो, आज र भोलि’ र रमेश कुमार तामाङको ‘तामाङ समाजमा पेवा प्रथा’ भन्ने कार्यपत्रहरु थिए ।

टक शो कार्यक्रममा ‘पुराना मान्छेबाट पुराना कुरा’ सत्रमा सुकन्या वाइवा र जनमुक्ति सेनानी श्यामकुमार तामाङले दार्जिलिङ र नेपालमा आफूले भोगेका, देखेका तामाङसम्बन्धी कुराहरु राख्नु भयो । त्यसैगरी ‘तामाङ साहित्यको सम्भावना र चुनौतिहरु’ विषयक प्यानल छलफलमा सन्चु ब्लोन, राजु स्याङतान, धनम तामाङ र फुलमान बलले सहभागीता जनाएका थिए । त्यसपछि दुईदिने ज्ञान महोत्सवको समापन कार्यक्रम थियो । जसको प्रमुख अतिथिः लक्यान लामा थिए ।

पाँचौ ज्ञान महोत्सव

गतवर्ष पाँचौ ज्ञान महोत्सव सम्पन्न भयो । सो महोत्सवमा जवाहरलाल नेहरु विश्वविद्यालयका प्रा.डा.महेन्द्र पी. लामा प्रमुख वक्ता हुनुहुन्थ्यो । ३० वटा कार्यहरु थिए र तीनवटा विमर्श सत्रहरु थिए- ‘तामाङ विकासको मोडेल र कार्यान्वयन पक्ष’, ‘तामाङ बालसाहित्यमा अनुवादका चुनौतीहरु’ र ‘तामाङ डायस्पोराः मुद्धा र चुनौती’ । किनोट प्रवचन महेन्द्र पी. लामाको सर्वाधिक चर्चामा रह्यो ।

छैठौँ ज्ञान महोत्सव

यसपालि भाद्र ६, ७ र ८ गते, २०७८ यो महोत्सव हुँदैछ । आजदेखि यो महोत्सव सुचारु हुँदैछ । उद्घाटन सत्रपछि कार्यपत्र प्रस्तुति सत्रमा १८ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । ती कार्यपत्रहरुले तामाङ समाजका इतिहास, साहित्य, भाषा, लैङ्गिकता, संस्कृति, प्रविधिका क्षेत्रहरु समेट्ने छन् । महोत्सवको दोस्रो दिन ११ जना तामाङ समाजका ज्येष्ठ नागरिकहरुबाट स्मृति वाचन हुनेछ । सुमित्रा देवी घिसिङका ‘तामाङमा लैङ्गिकता’, कुमारी लामाको ‘पुँजीवादी पितृसत्ताको विरुद्धमा चरिमाया तामाङको पृथक आवाज’, धनबहादुर तामाङको ‘तामाङ भाषाको सन्दर्भमा भ्रम र वास्तविकता’, डा. लोकबहादुर लोप्चनको ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२-३२) र तामाङ भाषा’, धनम तामाङको ‘पश्चिमी तामाङ भाषा’, डा. बालकृष्ण बलको ‘भाषाको अध्यापन र सिकाइमा आवाजमा आधारित प्रविधि’, निष्णु थिङको ‘तामाङ संस्कृतिमा मामा-भान्जाको सम्बन्ध’, सेतेमान तामाङको ‘तामाङ समुदायमा म्हाने नाचको महत्वः एक मानवशास्त्रीय अध्ययन’, सूर्य तामाङको ‘ल्हाप्साकर्पो क्षेत्रका तामाङ जातिको धार्मिक अवस्थाः एक मानवशास्त्रीय अध्ययन’, डा. विमला तामाङको ‘तामाङ विवाह परम्पराः एक तुलनात्मक अध्ययन’, नवीन कुमार लामाको ‘तामाङ समाजको सामाजिक–राजनीतिक अनुसन्धान’, अन्जना तामाङको ‘सिक्किमा तामाङ जातिः एक ऐतिहासिक अध्ययन’, हिरामान तामाङ ‘उर्गेनको घोडामा तामाङ प्रतिनिधित्व’, रमेश तामाङको ‘मौलिक तामाङ फापारे गीत’, गोपाल फ्युवाको ‘तामाङ गाउँखाने कथा’, सन्तोष योन्जनको ‘वैद्य थर कि पद ?’ र कर्म डी. लामाको ‘के नेपालको पश्चिमोत्तरका हिमाली समुदायहरु तामाङ हुन् ?’ शीर्षकका कार्यपत्रहरु छन् ।

ज्येष्ठ नागरिकका स्मृति वाचन सत्रमा काजीलाल वाइवा, सिराहा, जीतवीर लामा, दोलखा, धना लामा, महाराजगन्ज, मदन तामाङ, महाराजगन्ज, वीरबहादुर गोले, रौतहट, डिबी योन्जन, कालिम्पोङ, डि.के. बुद्धिष्ट, सिराहा, कुल बहादुर योन्जन, भोजपुर, डिग तामाङ, डिसी, युएस हुनु हुन्छ ।

अन्तिम तेस्रो दिनमा दुईवटा जल्दाबल्दा विषयहरुमा विमर्श हुँदैछन्– ‘नेपालका विश्वविद्यालयहरुमा तामाङ अध्ययनको सम्भावना, चुनौती’ र ‘बागमती प्रदेशमा सरकारी कामकाजमा तामाङ भाषाको सम्भावना र अवसर’ ।

ज्ञान महोत्सवको महत्व

रैथाने ज्ञान हजारौं वर्षदेखि असंख्या पूर्वजहरुले निर्माण गरेर नयाँ पुस्तालाई छाडेर गएका छन् त्यसको संरक्षण, संवद्र्धन र समृद्धिकरण सहित अर्को पीँढिलाई सुरक्षित पुस्तान्तरण गर्नु विद्यमान पुस्ताको अहम जिम्मेवारी बन्न जान्छ । त्यो कार्य ज्ञान महोत्सवद्वारा सजिलो र संभव हुँदैछ ।

ज्ञान महोत्सवको अभ्यास नेपालमा नयाँ विषय भएकोले कतिपयमा यो के हो भन्ने जिज्ञासा जाग्न सक्छ । यो ज्ञान महोत्सव भनेको समुदायको ज्ञान वा त्यस जातिमा निहित रहेको ज्ञान प्रणाली, परम्परा र आदिवासी वा मौलिक ज्ञानको खजना र स्रोत हुन् । आजसम्मको इतिहासमा ज्ञान प्राप्तिको लागि कैयन् ऋषिमुनिहरुदेखि पश्चिममा होमर, अरस्तु, प्लेटो, पाइथागोरस र पूर्वमा यज्ञवल्क्य, बुद्ध, गार्गीलगायत धेरैले कठोर तपस्या गरेको देखिन्छ । ती सबै दार्शनिकहरुले व्यक्तिगत तवरमा साधना गरेका थिए, उनीहरुले हासिल गरेका ज्ञान, दर्शन र मिमांसाले अहिलेसम्म मानव समाज लाभान्वित मात्रै होइन ऋणी समेत छ । सभ्यताको विकाससँगै हजारौं वर्षदेखि विभिन्न जातीय समूहहरुले पनि आफ्नो मौलिक जीवन प्रणाली र ज्ञानधारा निर्माण गरेको पाइन्छ । त्यसैमा ती समाज अडेको छ अहिलेसम्म । आधुनिकताको प्रादुर्भाव पश्चात् आधुनिक शिक्षा, विकास, ज्ञानका क्षेत्रमा भएका नवीन विस्फोटले नेपालमा मात्र होइन संसारभरि जसरी रैथाने बीउविजन विनाश भइरहेको छ त्यसरी नै आदिवासी ज्ञान पनि मासिने क्रम जारी छ । यस्तो अवस्थामा रैथाने ज्ञान हजारौं वर्षदेखि असंख्या पूर्वजहरुले निर्माण गरेर नयाँ पुस्तालाई छाडेर गएका छन् त्यसको संरक्षण, संवद्र्धन र समृद्धिकरण सहित अर्को पीँढिलाई सुरक्षित पुस्तान्तरण गर्नु विद्यमान पुस्ताको अहम जिम्मेवारी बन्न जान्छ । त्यो कार्य ज्ञान महोत्सवद्वारा सजिलो र संभव हुँदैछ ।

निष्कर्ष

ज्ञान महोत्सव समाजमा रहेका सबै पीँढि र विभिन्न भूगोलका मान्छेहरुलाई एउटै छानोमा ल्याउने महान अवसर हो, सबै पुस्ताले एक-अर्कालाई चिनजान गर्ने राम्रो थलो बन्न सक्छ । नयाँ पुराना सबै पुस्ता बिच ज्ञानको सघन आदान–प्रदान, अनुभव लेनदेन, अन्तरक्रिया र छलफल तथा सहकार्यले समाजमा रहेका रैथाने ज्ञानको संरक्षण र संवद्र्धन त हुन्छ नै साथमा सभ्य समाज निर्माणमा समेत टेवा पुर्याउने छ । यस्ता महोत्सवमा अरु जातिका विज्ञहरुलाई आमन्त्रण गर्ने, अन्तरक्रिया गर्ने र वौद्धिक छलफलको कार्यले सामाजिक सद्भाव, सौहार्दता, मित्रता पनि गाँढा बनाउनेछ र एक अर्का प्रतिको भ्रम र पूर्वाग्राह हटेर जानेछ । फलस्वरुप बलियो अन्तर सामाजिक सम्बन्धको जग निर्माण हुन गई राष्ट्रिय एकता पनि बलियो हुनेछ । पश्चिमाकेन्द्रित ज्ञानमिमांसाको निऔपनिवेशीकरण गर्न र रैथाने ज्ञानको ढोका खोल्न मदत गर्न सकिन्छ ।

(थिङ छैटौं ‘तामाङ ज्ञान महोत्सव–२०७८’ का संयोजक हुन् ।)

तपाईको प्रतिक्रिया