सम्पादकीय : तामाङ ज्ञान अभिलेखिकरणमा ढिला नगरौं

सैलुङअनलाइन सम्पादक
काठमाडौं

आज भाद्र ६ गते । तामाङका लागि ऐतिहासिक दिन । ८९ औं तामाङ पहिचान दिवस । आज भन्दा ठिक ८९ वर्ष पहिले आजकै दिनदेखि नेपालका आदिवासी तामाङहरुले तामाङ भनेर लेख्न, लेखाउन र चिनाउन पाएका थिए ।

आजकै दिन जङ्गवीर तामाङको नेतृत्वमा तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेरसमक्ष ‘तामाङ’लाई ‘तामाङ’ नै भनियोस् भनि मागपत्र प्रस्तुत गरेकोमा प्रधानमन्त्री राणाले वि.स. १९८९ भाद्र ६ गतेका दिन नेपाल सरहदभित्र ‘तामाङ लेख्ने, लेखाउने र बोलाउने गर्नु’ भनी इस्तिहार जारी गरेको थियो र तामाङ लेख्न, लेखाउन पाए ।

त्यसपूर्व तामाङहरु मूर्मी, भोटे, भोटिया, सेँ, पिपा, कागते, जाडे, तामक आदि नामले चिनिन्थे । एक त यी नामहरुले तामाङ पहिचानमा खण्डिकरण गरेको थियो भने अर्कोतिर कतिपयले यी नामहरु होच्याउनका लागि प्रयोग गरिन्थ्यो ।

इस्तिहार जारी भएपछि तामाङ पहिचानमा एकरुपता आयो, उनीहरुले चाहेको सम्मानित नामबाट चिन्न चिनिन पाए । त्यसैले प्रत्येक वर्ष भाद्र ६ गतेका दिनलाई तामाङ पहिचान दिवस मानाउन थालिएको हो ।

नेपालमा पहिचानको विषय अझै टुङ्गी नसकेकोले यस दिवसको सान्दर्भिकता अझै पनि जीवितै छ । तामाङ पहिचान दिवसकै सन्दर्भमा विगत केही वर्षदेखि तामाङ न्हाङ्खोर र तामाङ डाजाङ लगायत संस्थाहरुले विविध कार्यक्रमका साथ तामाङ ज्ञान महोत्सवको आयोजना गर्दै आइरहेको छ । यो एकदमै सह्रानीय कार्य हो । तर, अहिले यो काठमाडौंमा मात्र सीमित रहेको छ । ज्ञान महोत्सव अझ ब्यापक बनाउदै लैजान जरुरी छ, त्यो अझै सकेको छैन ।

तामाङ ज्ञान दिवस तामाङ गाउँ टोलसम्म पुग्नु जरुरी छ । यसका लागि न्हाङखोर र डाजाङको प्रयास मात्र सम्भव छैन, हुँदैन पनि । धरै भन्दा धेरै तामाङ संघसंस्थाहरु बिच तामाङ ज्ञान परम्पराको बारे छलफल र बहस हुनु आवश्यक छ । यो कार्यमा आज, अहिले देखिनै लाग्नु जरुरी छ अन्यथा तामाङ समुदायले आफ्नो ज्ञानको भण्डार अवश्य गुमाउने छ ।

तामाङ रैथाने ज्ञान, तामाङको मौलिक संस्कृति, संस्कार र परम्पराहरुको विषयमा छलफल, बहसको प्रारम्भ, त्यसको अभिलेखिकरण भनेको तामाङ पहिचानसँग जोडिएको विषय हो । यो आजको आवश्यकता पनि हो । यसमा सबै तामाङ जुटौं, सहभागि बनौं ।

तपाईको प्रतिक्रिया