धार्मिक तथा पर्यटकिय स्थल दोमाङ पोखरीमा बिगतका बर्षहरुमा झै यसवर्ष पनि आइतबार भदौ ६ गते भदौ पूर्णिामा (जनैपूणिमा मेला) भब्य मेला भएको छ । विभिन्न गाउँ तथा सहरबाट दर्शन गर्न आउने हजारौ दर्शनार्थी तथा झान्क्रीहरुको घुइचो लागेको छ ।
जिल्लाको जुगल गाउँपालिका-५ र ६ को सिमानामा अवस्थित दोमाङ पोखरी ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ । समुन्द्री सतहदेखि २२ सय ५० मिटर उचाईमा घना जंगलको बीचमा अवस्थित छ । पोखरीको वरिपरि महादेव थान र गेगाङ थान रहेका छन् । महादेव थानमा दशर्नार्थीहरूले त्रिशूल चढाएर खेतिपाती, पशुवृद्धि, धन आर्जन तथा सन्तान प्राप्तिको लागि पूजा गर्ने आउने र गेगाङ थानमा सफल बैदेशिक यात्रा तथा मुद्दा मामिला जित्नको लागि पूजा गर्ने गरेको स्थानीय सिंह बहादुर तामाङले बताए ।
महादेव थानमा रहेको बास्साको मुर्ति धेरै बर्ष पहिले गोल्छे यार्सा गाउँको सुनार बाजेले दोलखाबाट ल्याएर महादेव थानमा स्थापित गरेको भन्ने किम्बदन्ती छ । त्यस्तै सात पुस्ता अगाडि नयाँ लामा बाजेले थानको मुर्ती चाँदीको पैसामा किनेर राखेको लामा पुजारी ङडुप लामाले बताए । त्यस मुर्तीलाई दुईपटक चोरी गरी लाने कोसिस गरेको तर फेरि त्यही आइपुगेको भनाइ छ । एकपटक चोरी गरी लाने क्रममा गाडीमा हाल्न साथ गाडी बिग्रेकोले चोरी गर्न नसकेको र हावाहुरी, असिना परेकोले बाटोतिरै फालेर गएको र फेरि सोही स्थानमै ल्याएर राखिएको थियो । तीन बर्ष अगाडि पनि मुर्ति हराएको र सोही दिन ठूलो हावाहुरी सहित पानी परेकोले बराम्चीमा ठूलो पहिरो गएको थियो । केही महिनापछि बराम्चीको जङ्गलमा बाख्रा गोठालोले भेटेपछि लामागुरु मार्फत पूजापाठ गरी पुनस्थापन गरेपछि बराम्चीको पहिरो रोकिएको स्थानीय मिनबहादुर श्रेष्ठले बताए । केही बर्ष अगाडि एकजना युवा पोखरीमा डुबेर हराएपछि आमाले पोखरी वरिपरि गाईको दूध छर्काएपछि मात्र मृत शरीर पोखरी बाहिरा आएको त्यस बेलाको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले बताए ।
शुद्ध मनले जे चितायो त्यही प्राप्त हुने जन विश्वास भएकाले हरेक बर्ष हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछन् । यहाँ दर्शन गर्नका लागि जुगल गाउँपालिका विभिन्न ठाँउहरु सेलाङ, गोल्चे, सन्चागाउ, लिदि, गुम्बा, पाङ्खर्पु, पाङ्ताङ, कातिके, ढाडे, बराम्ची, हाप्रा, बिशिङ्खर, याङ्लाकोट, पेप्टा, तिनघरेदेखि झाक्री (बोन्बो) सहित दर्शनार्थी आउने गर्दछन् ।
यो महत्त्वपूर्ण ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमा भौतिक पुर्वाधारहरुको अभावले दर्शनार्थीले सास्ती खेप्नु परेको देखिन्छ । पोखरी परिसरमा दर्शनार्थीलाई पानी परेको बेला ओत लाग्ने ठाँउ नहुनु, थानहरुमा पूजा गर्न जाँदा लाइन बस्ने ठाँउ नहुनु, फोहोरमैला ब्यबस्थापन तथा पोखरीको संरक्षण समिति नहुनु, मेला ब्यबस्थापन नहुनुले स्थानीय सरकारको ध्यान नपरेको प्रष्ट देखिन्छ । अहिलेसम्म आफ्नै ब्यक्तिगत खर्चले बाटो सफा गर्ने तथा थानहरु सफा गर्ने गरेको पुजारी माइला लामाले बताए ।
यो अवस्था देख्दा आगामी दिनहरुमा दोमाङ पोखरी मेला ब्यबस्थापन समिति तथा दोमाङ पोखरी संरक्षण समितिको अवश्यकता देखिन्छ । व्यवस्थापन समितिको मतहातमा रहेर यस्तो मेलामा स्वंयमसेवकको परिचालन गर्न सकेमा दोमाङ पोखरी मेला भब्य तथा सभ्य हुनेछ । यस्ता समितिहरु गठन गरी बिकासका लागि प्रदेश, केन्द्र, तथा स्थानीय सरकार समक्ष बजेटको माग गरी व्यवस्थापन र भौतिक पुर्वाधारहरुको विकास गरेमा सिङ्गो जिल्लाकै पर्यटन प्रबर्द्धनको लागि टेवा पुग्नेछन् । र प्रचारप्रसार समेत गर्न जरूरी देखिन्छ ।