विद्यार्थी ऋण अमेरिकीका लागि आजीवन सजाय

लस एन्जल

हेली वाल्टर्सलाई कानुन विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबै कुरा योजनाअनुसार भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी १ लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन् । वाल्टर्सजस्तै लाखौं अमेरिकी विद्यार्थीले शिक्षाका लागि अत्यधिक खर्च गरिरहेका छन् । जसले सम्भवतः उनको वयस्क जीवनका अधिकांश हिस्सामा आर्थिक भार थोपर्नेछ । ‘मलाई के लाग्छ भने विद्यार्थी ऋण भनेको वास्तवमै आजीवन सजाय हो,’ क्यालिफोर्नियाकी यी १९ वर्षीया किशोरीले भनिन् । अमेरिकी कलेजका ४ करोड ५० लाख स्नातक अध्ययनरत विद्यार्थीको १० खर्ब ६० अर्ब डलरको यो ऋणको बोझले हालैका वर्षमा विस्फोटको रूप लिएको छ । डेमाक््रयाटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बर्नी स्यान्डर्सले विद्यार्थीको सम्पूर्ण ऋण मेटाउने महत्वाकांक्षी योजना उजागर गरेसँगै सन् २०२० को राष्ट्रपति चुनावी अभियानमा यो मुख्य मुद्दाका रूपमा आएको छ ।

‘यस वर्ष एउटा सार्वजनिक विश्वविद्यालयबाट स्नातक गर्ने विद्यार्थीको औसत ऋण ३५ हजार डलर बढी हुने अपेक्षा गरिएको छ,’ क्यालिफोर्नियाको गैरनाफामूलक संस्था ‘स्टुडेन्ट डेब्ट क्राइसिस’का कार्यक्रम निर्देशक कोडी हुनानियनले भने । विद्यार्थीलाई सहयोग गर्ने यो संस्थाले विद्यार्थी ऋण सुधारका लागि लड्दै आएको छ ।

आधिकारिक तथ्यांकअनुसार ७१ प्रतिशत अमेरिकी विद्यार्थी यस्तो ऋणको बोझले थिचिएका छन् । अल्पसंख्यक यसबाट सबैभन्दा बढी मारमा पारेका छन् । ‘विशेष रूपमा प्रतिस्नातक उच्चतम विद्यार्थी ऋणसँगै अश्वेत महिलाहरू सबैभन्दा धेरै प्रभावित समूह हो,’ हुनानियनले भने । केहीका लागि छात्रवृत्ति र वित्तीय सहयोग उपलब्ध भए पनि उच्च शिक्षाको लागत यस्तो छ कि अधिकांश विद्यार्थी आफ्नो ऋण समयमै चुक्ता गर्न असमर्थ छन् ।

‘जब विद्यार्थीले स्कुल छाड्छन्, तिनीहरूलाई ऋण चुक्ता गर्न १० वर्षको समयावधि तोकिएको हुन्छ तर ठूलो विद्यार्थीले २० वा २५ वर्षको समयावधिका लागि अनुरोध गरेको संघीय कार्यक्रमले देखाएको छ,’ हुनानियनले भने । उनका अनुसार लामो अवधि हुनासाथ ब्याजका कारण ऋणको मात्रा ह्वात्तै बढेर जान्छ ।

हुनानियनले उदाहरणका रूपमा आफ्नै अनुभव सुनाए । ‘मसँग ३० हजार डलर विद्यार्थी ऋण थियो, म महिनामा १५० डलरभन्दा बढी तिर्छु र यो सस्तो पुनर्भुक्तानी कार्यक्रम मध्येको एक हो,’ उनले भने, ‘मैले त्यसरी ऋण तिर्दा मेरो ऋण वास्तवमा बढिरहेको छ, मैले ब्याज पनि तिर्न सकिरहेको छैन । मैले अझ ऋण घटाउन हरेक महिना तिर्दै आइरहेको छु ।’
थुप्रै विशेषज्ञका अनुसार विद्यार्थी ऋणको बोझले दबिएको एउटा परिवारमा दुई पुस्ता हुनु असामान्य होइन । लस एन्जलस नजिकैको पासाडेना सिटी कलेजबाट भर्खरै राजनीतिशास्त्रमा दुई वर्षे डिग्री हासिल गरेकी वाल्टर्सको यही अवस्था छ ।
यद्यपि, उनी ऋण भुक्तानीको प्रस्ट योजना नबनाई त्यो स्कुलबाट एक परोपकारी व्यक्तिले ऋण मिनाहा गरिदिएकाले ठूलो ऋणबाट छुटकारा पाउन सफल भइन् । अब शरद् ऋतुमा कानुन विषयमा डिग्री हासिल गर्ने आफ्नो अन्तिम लक्ष्यसाथ उनी प्रतिष्ठित र अत्यधिक महँगो क्यालिफिोर्निया विश्वविद्यालय बर्कलेमा प्रवेश गर्नेछिन् ।

छात्रवृत्तिबाट सम्मानित भए पनि वाल्टर्सले वार्षिक शुल्कमा करिब २० हजार डलर भुक्तान गर्न अहिले पनि ऋण लिनुपर्ने बताइन् । उनले भनिन्, ‘ब्याजदर र साँवा भुक्तानीसँगै यो मूल रूपमा ऋणपछि ऋण, ऋणपछि ऋणको रूपमा बदलिरहन्छ ।’

आफ्नी ५८ वर्षीया आमाकै कारण उनी विद्यार्थी ऋणको सिकार भएकी हुन् । ‘म आफ्नी आमासँग कसरी विद्यार्थी ऋणले मूल रूपमा हाम्रो आर्थिक अवस्थालाई नाजुक बनाइरहेको थियो भन्नेबारे कुरा गर्नेछु,’ उनले भनिन्, ‘तपाईंलाई थाहा छ, हामी छुट्टीमा कहीँ जान सक्दैनौं, कुनैकुनै बेला मलाई नयाँ सत्रका लागि स्कूलबाट केही प्राप्त हुँदैनथ्यो । कहिलेकाहीँ हामीले जन्मदिनको उपहार थोरै पाउँथ्यौँ ।’

सन् २०२० मा ह्वाइट हाउस प्रतिस्पर्धामा विद्यार्थी ऋण प्रमुख मुद्दा बन्नेछ भन्ने आफूले अपेक्षा गरेको वाल्टर्सले बताइन् । केही उम्मेदवारका लागि विद्यार्थी ऋणको विषयले केन्द्रीय स्थान पाइसकेको छ ।

स्यान्डर्सको ‘क्रान्तिकारी’ प्रस्तावको उद्देश्य सबै विद्यार्थी ऋणलाई समाप्त गर्नु र सरकारी कलेजलाई निःशुल्क बनाउनु हो । साथै उनले विद्यार्थी ऋण भुक्तानीका लागि वित्तीय सहयोग गर्नुपर्ने चाहना राखेका छन् । ‘अमेरिकीले वाल स्ट्रिटको उद्धार गरेका थिए,’ सन् २००० को दशकको अन्त्यमा आर्थिक मन्दीका क्रममा भएको ‘साह्रै ठूलो विफलता’का लागि ऋणदातालाई उल्लेख गर्दै स्यान्डर्सले भने, ‘अब वाल स्ट्रिटले मध्यम वर्गलाई सहयोग पु¥याउने समय आएको छ ।’

अर्की डेमोक््रयाटिक उम्मेदवार एलिजाबेथ वारेनसँग पनि विद्यार्थी ऋण रद्द गर्ने र निःशुल्क सरकारी कलेजको योजना छ । ‘मेरो बुबा दक्षिणी क्यालिफोर्नियाको अत्यन्त गरिब परिवारमा हुर्कनुभयो,’ वाल्टर्सले भनिन्, ‘उहाँ विश्वविद्यालय जानुभएको एउटा मात्र कारण के थियो भने त्यहाँ पढाइ निःशुल्क थियो ।’

तथापि शुल्क मात्र विद्यार्थीको आर्थिक बोझ होइन । उदाहरणका लागि क्यालिफोर्नियामा सार्वजनिक विश्वविद्यालयका लागि वार्षिक रूपमा आवश्यक औसत ३५ हजार डलरको आधाभन्दा बढी त आवास र बस्ने खर्चमा सकिन्छ ।

हुनानियनका अनुसार विद्यार्थी आफ्नो व्यावसायिक जीवन सुरु गर्नु पहिले अत्यधिक ऋणबाट पीडित हुनुहुँदैन भन्ने सुनिश्चित गर्न त्यस्ता मुद्दालाई सम्बोधन गर्नु महत्वपूर्ण थियो ।

‘विद्यार्थीका लागि यो पद्धतिले काम गरिरहेको छैन,’ उनले भने, ‘यसले लाभदायक, ठूला कम्पनी तथा विद्यार्थी र ऋण लिनेबाट पैसा कमाइरहेका लागि काम गर्दै छ ।’

तपाईको प्रतिक्रिया