ओझेलमा लक्षबहादुर योञ्जन

काठमाडाैं

तामाङ साहित्य र वाङ्मयमा जति चर्चा हामी सन्तवीर लामा पाख्रीन र बुद्धिमान मोक्तानको व्यक्तित्वको गर्छौँ त्यति अन्य स्रष्टाको गर्न सकिरहेका छैनौँ । सायद यस बारे खोज अनुसन्धान गर्न नसकेकै कारण होला । तामाङ स्रष्टाहरूको बारेमा जति पनि नाम सुन्दै आइरहेका छौं वास्तवमा उहाँहरूको योगदानलाई पटक पटक सम्झिने तथा नाम उच्चारण गर्ने गर्नु स्वाभाविक नै हो ।

तामाङ पहिचानका लागि सुवेदार जंगवीर मोक्तानले तामाङ जातिलाई तामाङ भनि लेख्न लेखाउन श्री ३ भीम शमशेरबाट इस्तिहार जारी गर्न लगाएर जे जति योगदान गरे त्यसलाई इतिहासले कहिले पनि भुल्ने छैन । त्यसपछि पहिलो तामाङ पुस्तक जिक्तेन तामछयोई अथवा तामंग वंशावली ह्रामा (सन् १९५६) लेखेर बुद्धिमान मोक्तानले तामाङ जातिलाई अर्को गुण लगाए । सोही क्रमलाई निरन्तरता दिंँदै सन्तवीर लामा पाख्रीनले विस्तृतमा तम्बा काइतेन ह्वाई रिमठिम तमांगको पुख्र्यौली रीतिथीति (सन् १९५७) मार्फत् यस जातिको इतिहास, संस्कार र सामाजिक–सांस्कृति संरचनाको उल्लेख गरी त्यति नै योगदान गरेको पाइन्छ ।

तामाङ समुदायमा आज यस्ता धेरै प्रतिभावान् तामाङ व्यक्तित्व तथा स्रष्टाहरू छन् जस्ले आफ्नो समुदायमा गरेको योगदानको कदर तथा उनीहरूको बारेमा खोज अनुसन्धान नहुँदा त्यतिकै ओझेलमा परेका छन् । आफ्ना समुदायमा रहेका प्रतिभाहरुको खोजी गर्नु सम्बन्धित जातिको जातीय संस्थाको प्रमुख दायित्व हुन आउँछ भने उत्तिकै जिम्मेवारी समुदायका बौद्धिक व्यक्तित्वहरूको पनि रहन्छ ।

पछिल्लो समयमा केही संस्थागत र केही व्यक्तिगत प्रयास त देखिन्छ नै तर त्यति मात्र पर्याप्त हुँदैन र त्यो आभाष हामीलाई भईरहेको छ । खोज अनुसन्धानको कमीले एकातिर तामाङ प्रतिभाहरूमा भएको महत्वपूर्ण ज्ञान अभिलेखीकरण हुन सकिरहेको छैन भने अर्कोतिर तामाङ समुदायको मौतिक ज्ञान दिनप्रतिदिन नास हुँदै जाँदा आज तामाङ समुदायले ठूलो घाटा व्यहोरिरहनु परेको छ । जुन ज्ञानलाई अंग्रेजीमा तबअष्त पलयधभिमनभ भनिन्छ । जसको अर्थ मान्छेको मृत्युसँगै उसको ज्ञान र अनुभव पनि मरेर जानु हो ।

यस्ता ओझेलमा परेका प्रतिभामध्ये एक हुन् स्वर्गीय लक्षबहादुर योञ्जन । जो पहिलो हस्तलिखित तामाङ पत्रिका ‘म्हेन्दो’ (वि.स. २०१६ वैषाख पुर्णिमा वर्ष १ अंक १) का लेखक हुन् । उनी आपा धनबहादुर योञ्जन तामाङ र आमा मसिनी मोक्तान तामाङको एक्लो छोरा (वि.सं. १९९४)को रुपम तत्कालीन पूर्व ४ नम्बर थुम खिकामाछा भोजपुर ओढारेमा जन्मिएका थिए ।

उनले कक्षा ८ सम्म औपचारिक शिक्षा प्राप्त गरेका थिए । २०१७-१८ सालतिर उनले २ वर्ष जति तत्कालीन खोटाङ जिल्ला हाल भोजपुर जिल्लाको पान्धारे नजिक रहेको एक प्राइमरी स्कुलमा शिक्षक भई काम पनि गरेका थिए । त्यसैगरी उनले २०१५ सालको निर्वाचनमा निर्वाचन प्रमुख भएर कार्य गरेको कुरा म्हेन्दोका सम्पादक मोक्तान भाइ बताउँछन् ।

भोजपुर जिल्लाभर ताम्बाको रुपमा प्रख्याति उनको नेपाली पहाडे कागजमा पहिलो पटक वि.सं. २०१६ वैशाखमा प्रकाशीत हस्तलिखित तामाङ पत्रिका ‘म्हेन्दो’मा प्रकाशन भएको थियो । पछि उनी बसाइसराइ गरी इटहरी उपमहानगरपालिका वडा नं. ६ सुनसरी झरेको र ७४ वर्षको उमेरमा सोही ठाउँमा वि.सं. २०६८ साल माघ २२ गते निधन भयो ।

उक्त पत्रिकाको दोस्रो अङ्क पनि प्रकाशन भएको चर्चा पाइए पनि उक्त अङ्क हालसम्म फेला पार्न सकिएको छैन । त्यो पहिलो पत्रिकाको संरक्षकमा सर्वध्वज मोक्तान (निवर्तमान एआइजी रुपसागर मोक्तानको आपा) रहेको थियो भने सम्पादक मण्डलमा लेखक मोक्तान भाइ तथा गणेश योञ्जन थिए । जम्मा ५ जना (लक्षबहादुर योञ्जन, देबबहादुर योञ्जन, धनप्रसाद तामाङ, सर्वध्वज मोक्तान र काजीबहादुर तामाङ)का ह्वाइ (गीत)हरू प्रकाशीत उक्त पत्रिका तत्कालीन समयमा जिल्ला प्रशासनले जातीय कुरा उजागर गर्न थालिएको भनी धरपकड गर्ने चेतावनी पश्चात् बन्द भएको कुरा लेखक मोक्तान भाइको रहेको छ ।

लक्षबहादुर योञ्जनले सन्तवीर लामापछि नेपालमा तामाङ जातिको पहिलो हस्तलिखित तामाङ पुस्तक ‘बोन्बो बैद्याङी’ पनि प्रकाशन गरेका थिए । तर, उक्त पुस्तकको सक्कल प्रति उनको देहावसान हुनुपूर्व एक हप्ता अगाडि मात्र नष्ट गरिएको उनकै कान्छा छोरा विनोदकुमार योञ्जनले बताए र अर्कोप्रति कतै हुनसक्ने आशंका पनि व्यक्त गरेका छन् । वास्तवमा पुस्तकको महत्व थाहा नहुँदा आज हाम्रो समुदायको एक अमूल्य सम्पत्ति हामीले गुमाउनु परेको छ । यद्यपि उक्त प्रतिको खोजीमा यस लेखक स्वयम् लागिपरेको छ । तामाङ जातिको भाषा तथा संस्कारका प्रखर व्यक्तित्वको धनी लक्षबहादुर योञ्जन तत्कालीन समयमा राम्ररी अंग्रेजी बोल्न र लेख्न सक्ने व्यक्ति भनेर पनि चिनिने गरिएको थियो । वास्तवमा उनी लेखक मोक्तान भाइको एक प्रेरणादायी अग्रज व्यक्तित्वको रूपमा पनि मानिन्थ्यो । उक्त पत्रिकामा भएको उनको कृतिको केही अंश यस प्रकार छ :

ह्वाइ (गीत)

अमइले होइ अमइले
अमइले होइ अमइले
गान्वा गान्सुम फ्याफुल्ला
चोहो ताम्बादा फ्याफुल्ला
तामाङ व्हाई पाङला ङा
ङ्यान्छि स्युग्यो रहाङ दुगु
स्यागो स्यागो ।

(अमइले होइ अमइले
अमइले होइ अमइले
बुढापाका मान्यवरहरूमा नमस्कार
तामाङ प्रमुख तथा इतिहासकार र संस्कृतिविद्हरूमा नमस्कार
तामाङ गीत म सुनाउँछु
हजुरहरू सबै सुनेर बस्नुहोस्
नाचन नाच ।)

अमइले होइ अमइले
अमइले होइ अमइले
तोर तोर बोइरि निमामि
स्युक्पा म्हेन्दो धुनुनु
इन्थेन ङाला जालमाया
ताजेब साआ भुभूनु
स्यागो स्यागो

(अमइले होइ अमइले
अमइले होइ अमइले
माथि माथि लेकै जादामा
धुपि फुलको बासाना
तिम्रो मेरो मायाजाल
सारा संसार फैलियो
नाचन नाच ।)

अमइले होइ अमइले
अमइले होइ अमइले
आइसे ङादा स्याप्पामि
ङाइसे आइदा स्याप्पामि
नामे फ्याङिस खावाहान्ङ
आइ चुरी दोगाजि
स्यागो स्यागो ।

(अमइले होइ अमइले
अमइले होइ अमइले
तिमीले मलाई देख्दामा
मैले तिमीलाई देख्दामा
चरा जस्तै उडेर
तिमी यहाँ आइपुग्यौ
नाचन नाच ।)

अमइले होइ अमइले
अमइले होइ अमइले
आखे म्हेम्हेला धर्मसे
ङाला आइला कर्मसे
गादे ज्याबा तिनिला दिन
स्यागो स्यागो ।

(अमइले होइ अमइले
अमइले होइ अमइले
बाजे बराजुको धमले
तिम्रो हाम्रो कर्मले
कति राम्रो आजको दिन
नाचन नाच ।)
क्रमश……..

(प्रस्तुत लेख नगर घेदुङ भोजपुरका अध्यक्ष दुर्गाबहादुर घिसिङ र साहित्यकार मोक्तान भाइको सहयोगमा तथा उनकै छोरा विनोदकुमार योञ्जनसँगको कुराकानीको आधारमा तयार गरिएको हो ।)

तपाईको प्रतिक्रिया