ताम्बा सुनिल मोक्तानको ‘सैलुङ जत्थार’ बजारमा

सैलुङअनलाइन संवाददाता
काठमाडौं

ताम्बा सुनिल मोक्तानको फापारे जुहारी ‘सैलुङ जत्थार’ हालै बजारमा आएको छ । शैलङुका युवा ताम्बा सुनिलको यो नै पहिलो स्टुडियो रेकार्डिङ गीत हो ।

गीत रेकर्ड गरी एल्बमको रुपमा प्रकाशन गर्नु सुनिलको पहिले देखिकै चाहना हो । तर समय र परिस्थितिले साथ दिएको थिएन । यसपालि उनको पहिलो एल्बम ‘सैलुङ जत्थार’ प्रकाशनमा आएको छ । उनकै शब्द तथा स्वरमा रहेको गीतमा चर्चित गायिका इन्दीरा गोलेले साथ दिएकी छिन् ।

‘ताम्बा गीतदेखि फापारे दोहोरी, मेरा थुप्रै गीतहरु छन्’, सुनिलले भने, ‘यो छोटो फापारे दोहोरी प्रकाशनमा ल्याउन सकेँ । म एकदमै खुसी छु ।’
तामाङ विवाहमा ताम्बाको भूमिका निर्वाहका साथै ताम्बा गीतको माध्यमबाट तामाङ संस्कार, संस्कृतिलाई संरक्षण र सम्बद्र्धनको अभियनमा निरन्तर लागि पर्दै आइरहेका सुनिल गाउँघरमा लाग्ने मेला र जात्राहरुमा फापारे जुहारी गाउने गर्दछन् ।

सैलुङ दुधपोखरीका बाबुलाल मोक्तान लगायतले यस अघि ‘डेन्मुला’ सेलो गीति एल्बम् निकालिएका थिए । त्यसको करिब दुई दशकपछि नव कलाकारको उदय भएको छ ।

दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल सैलुङ डाँडामा गोने ङ्हा (जनैपूर्णीमा)को बेलामा लाग्ने जात्राको विशेष कथावस्तुमा आधारित रहेको गीत ‘सगुन नेपाल’ युटुब च्यानलमार्फत् रिलिज भएको छ । फापारे गीत सैलुङ, तेमाल क्षेत्रमा परिचित छन् । फापारे गीतले यस क्षेत्रको पहिचान बनाएको छ ।

मुर्छाना रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा गायक विशाल योञ्जनले संगीत र एरेन्जको कार्य गरेको छ भने डिका गुरूङको मिक्सिङ रहेको छ ।

तपाईको प्रतिक्रिया