नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको छ । यसका लागि बिएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुने भनिएको छ ।
बिएमआई ‘फिट’ नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक अधिकारीका लागि यो नियम लागू गरिएको नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिकलाई स्वस्थ, फूर्तिलो र निरोगी बनाउन बिएमआई प्रभावकारी हुने अपेक्षा गरिएको छ । बिएमआईअनुसार शरीरको उचाइ र तौल सन्तुलित हुनुपर्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वस्थ हुन बिएमआई फिट हुनुपर्ने उल्लेख गरेको छ । जसको उचाइअनुसार तौल हुन्छ, त्यो व्यक्ति स्वस्थ र निरोगी मात्र नभई फूर्तिलो र मानसिक रूपमा परिपक्व हुने गरेको जानकारी डब्लूएचओले दिएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे सैनिक कर्मचारीको आकर्षण स्वस्थ शरीर र फूर्तिलो जीउडाल हुनु अनिवार्य भएकाले फौजीहरूका लागि यो नियम लागू गरिएको बताउनुहुन्छ । बिएमआई सन्तुलित नहुँदा सैनिक कर्मचारी मोटाउने र भुँडे हुँदा उच्च रक्तचाप, मधुमेह, दमजस्ता रोगबाट पीडित छन् ।
पदोन्नति हुन, विभिन्न सैनिक कार्यालय तथा युनिटको नेतृत्व सम्हाल्न र शान्ति मिसनमा खटिनका लागि बिएमआई सन्तुलित हुनु अनिवार्य छ । मेजर तहका सैनिक अधिकृतहरू स्टाफ कलेज पास गरे पनि बिएमआई फिट नभएमा पदोन्नति हुनबाट वञ्चित हुनेछन् । त्यस्तै एनडीसी (नेसनल डिफेन्स कोर्स) पूरा गरेका सहायक रथीहरू उपरथीमा पदोन्नति हुन बिएमआई अनिवार्य गरिएको छ । सेनाले बिएमआई मापनको सम्पूर्ण जिम्मा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई दिएको छ । यो समाचार गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।