प्रदूषणका कारण कडा खालको निमोनियाका बिरामी बढेका छन्। धुवाँधुलो, प्रदूषण र ब्याक्टेरियाको विकासमा प्रतिकूल हावापानी हुनुले यस्ता समस्यामा वृद्धि भएको चिकित्सक बताउँछन्।
ललितपुरमा मात्र एक वर्षमा दुई हजार दुई सय ३४ जना कडा खालको निमोनियाको संक्रमित छन्। स्वास्थ्य कार्यालय ललितपुरको तथ्यांकअनुसार ०७५/७६मा यस्तो अवस्था देखिएको हो।
०७४/७५मा एक हजार एक सय १७ र ०७३/७४मा एक हजार सात सय २१ जनामा कडा निमोनियाको संक्रमण देखिएको थियो।
स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले सामान्य निमोनियालाई घरमै औषधी खाएर निको पार्न सकिने बताए। तर, कडा खालको निमोनियाका लागि भने अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउन सक्छ। यस्तो रोगमा कोखामा हान्ने, सास फेर्दा गाह्रो हुनेलगायत समस्या देखिन्छन्।
०७५/७६मा ७ हजार दुई सय ३० जना बिरामी बहिरंग विभागमा आएका थिए। त्यस्तै ०७४/७५मा ५ हजार ५ सय ८८ र ०७३/७४मा ७ हजार ८ सय ८६ जनामा सामान्य निमोनिया लागेको पाइएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।