नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छ । यी मध्ये लाखें नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौँमा देखाईन्छ । मुख्यतया, नवदर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखें नाच नचाउँने गरिन्छ ।
नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखें नचाउने गरिन्छ ।
लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाईन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखें नाच नचाईन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाईन्छ । नेवार समुदायमा बढी प्रचलित रहेको लाखें नाच जिल्लाहरुबाट लोप हुने अवस्थामा पुगेको छ । नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौं स्थानमा भने यस नाचले थोर बहु आफ्नो स्थान ओगटेकै छ ।
काठमाडौं चन्द्रागिरी ९, मच्छेगाउँमा वर्षेनी लाखे नाचको आयोजना गरिन्छ । नेपाल साँस्कृतिक कला मन्दिरले आयोजना गरिदै आएको ‘राष्टिय लाखें नाच प्रदर्शनी, साँस्कृतिक तथा सम्मान कार्यक्रम २०७६’ यो वर्ष यही भाद्र २० र २१ गते दुई दिनसम्म भब्यताका साथ मनाईने कुरा आयोजक संस्थाका रमेश शाहीले जानकारी दिए । नेवार समुदायको मात्र नभएर देशकै मौलिक पर्वको रुपमा मनाउदै आईरहेको लाखे नाच प्रदर्शनी कार्यक्रममा देशका बिभिन्न जिल्लाहरुबाट भाग लिन आउँने गरेको शाहीको भनाई छ ।
लाखें नाच हेर्न मच्छेनारायण मन्दिरको वरीपरी लाखौं भक्तजन तथा दर्शकको भिड लाग्ने गर्दछ ।