महामारी र विद्यालय बिचको लुकामारी

अञ्जु तामाङ लेखक/शिक्षक
काठमाडौं

विषय प्रवेश

कोभिड १९ महामारीको पहिलो लहर सुरुवात भएपश्चात् उच्च जोखिम क्षेत्रको रुपमा राखि नेपाल सरकारले २०७६ सालको चैत ६ गतेदेखि विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शैक्षिक गतिविधीलाई बन्द गरेर लुकाइदिए । छिमेकी राष्ट्र चीनबाट सुरु भई विश्व भ्रमणपश्चात नेपालमा पनि अत्यधिक सङ्क्रमणको त्रासले शैक्षिक क्षेत्र मात्र नभई स्वास्थ्य, वित्तिय, व्यापार व्यवसाय, यातायात आदि सम्पूर्ण क्षेत्र एकाएक ठप्प भयो । कोभिडको डर बिस्तारै कम हुँदै गएपश्चात अन्य क्षेत्रहरु विस्तारै चलमलाउन थाले । स्वास्थ्य र सुरक्षा क्षेत्र त महामारीका बिच पनि सुचारु रहे ।
बिस्तारै मानिसको दैनिक गुजारा चलाउने तरकारी व्यवसायदेखि वित्तिय, यातायात आदि क्षेत्रसँगै विलासी साधनको बेचबिखनमा पनि चहलपहल बढ्न थाल्यो । विद्यार्थीहरुको भविष्यलाई मध्यनजर गर्दै अनलाइन माध्यमबाट सञ्चालन भएको शैक्षिक क्षेत्र २०७७ साल माघदेखि पूर्ण भौतिक उपस्थितीमा सञ्चालन गरियो । यो सालको शैक्षिकसत्र लम्बिएर २०७७ साल असारमा सकियो ।

पुनः दोस्रो लहरको जोखिमसँगै २०७८ साल बैशाख ७ बाट शिक्षा क्षेत्र भौतिक रुपमा बन्द भएपछि कोभिडकै कारण विद्यालय र विश्वविद्यालयहरु फेरि एकचोटि लुकाइयो । यस लुकामारीको यसै खेल बिच नेपालका विभिन्न जिल्लाहरुमा शैक्षिक गतिविधिहरु भौतिक उपस्थितीमै सुुरु गरिसकेको समाचार आइरहेका थिए । यसै बिच काठमाडौं जिल्लाको उत्तर-पूर्वी क्षेत्रमा अवस्थित गोकर्णेश्वर नगरपालिकाले गत १३ गते आईतबारका दिन नगरपालिका भित्र भएका विद्यालयहरु भौतिक उपस्थितीमा नै सञ्चालन गर्ने निर्णय गर्यो । तर, कोरोना महामारीको बिगबिगी दिनँहु बढिरहेकै अवस्थामा गरिएको निर्णयको प्रभाव कस्तो हुन्छ ? विचार गर्नुपर्ने हुन्छ ।

पङ्तिकारले यो लेख लेख्दासम्म चौबिस घण्टाभित्र २००४ जना नँया कोभिड सङ्क्रमितको संख्या थपेको छ भने १६ जनाको मृत्यु भएको छ । त्यसै बिच टाइम्स अफ इन्डियाले १४ गते सोमबारका दिन मध्य असोज र मध्य कार्तिक महिना बिच भारतमा कोभिडको तेस्रो लहर शिर्षबिन्दुमा पुग्ने अनुमान गरी समाचार छापेको छ । छिमेकी राष्ट्रमा तेस्रो लहरको सुरुवात भएसँगै नेपाल पनि कुनै हालतमा सुरक्षित रहँदैन जुन हामीले पहिलो र दोस्रो लहरमा नै अनुभव गरिसकेका छौं । यो बिच सुखद समाचार चाहिँ के हो भने सोहि पत्रिकाले श्रावण २२ गते प्रकाशित समाचारमा तेस्रो लहरमा बालबालिका बढी सङ्क्रमण हुनेछ भन्नेमा कुनै पनि जैविक पुष्टि नपाएको भनि उल्लेख गरेको छ । यो पुष्टिले विद्यालय प्रशासन, शिक्षक वर्ग, अभिभावक र विद्यार्थीहरुमा केहि भए पनि राहतको महसुस गराउँछ ।

पहिलो लहरमा वृद्धाबृद्ध र दोसो लहरमा युवा समूहलाई बढी सङ्क्रमण गर्ने तर्क र अनुभवको आधारमा तेस्रो लहरमा बालबालिकालाई बढी असर गर्नेछ भन्ने आँकलन गरिएको थियो । काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिकाको आधिकारिक निर्णय र अन्य जिल्लाहरुमा पनि घोषित वा अघोषित रुपमा विद्यालय भौतिक उपस्थितिमै सञ्चालन गरे पश्चात् यसका विविध पक्षका बारे अध्ययन गरेर विद्यालय सञ्चालनमा ल्याउन पर्ने अवस्था आएको छ ।

यस लेखको माध्यमबाट विशेषगरि गोकर्णेश्वर नगरपालिकामा सञ्चालन भएका विद्यालयहरुले कुन कुन पक्षलाई विचार गरेर भौतिक उपस्थिति वा अनलाइन माध्यम वा अन्य विकल्प प्रयोग गरेर पठनपाठनलाई निरन्तरता दिने भनि बहस गर्नेछ । १६ वटा सामुदायिक र ९३ निजी गरी कुल एक सय नौ विद्यालय रहेको यस नगरपालिकामा भौतिक अवस्थितीमा नै विद्यालय सञ्चालन गर्दा उपयुक्त हुन्छ वा हुदैँन । विद्यायल सञ्चालनको यस लुकामारी खेलमा कुन कुन नियम पालना गरेमा विद्यार्थीहरु सुरक्षित हुन्छन् भन्ने कुरालाई ध्यानमा राख्नु जरुरी छ ।

विद्यालय अवस्थित क्षेत्र

कोभिडको सङ्क्रमण बढी भीडभाड हुने क्षेत्र जोखिमपूर्ण भएको हुनाले विद्याल वरिपरीको आवाद पनि जिम्मेवारी हुन्छ । कुनै विद्यालय वरिपरि कति घना बस्ती छ र विद्यालयका पक्षहरुसँग कति प्रत्यक्ष सम्बन्धमा आउँछ भन्ने कुराको ध्यान पुर्याउनु पर्छ ।

गोकर्णेश्वर नगरपालिकाका ९ ओटा वडाहरुमा क्षेत्रफल र आवादीमा ठूलो अन्तर छ । वडा नं. ६ मा बाक्लो जनसङ्ख्या बसोबास रहेको पाइन्छ जहाँ वि.सं. २०६८ सालको जनगणना अनुसार २२ हजार चार सय अन्ठाउन्न कुल जनसंख्या रहेको तथ्यांकले देखाउँछ । त्यस्तैगरि वडा नं. ५ र ८ मा पनि २२ हजार भन्दा माथि जनसङ्ख्या बसोबास गर्छन् । दश वर्ष अगाडिको तथ्याङ्कमा अहिले निकै वृद्धि भएको अनुमान गर्न सकिन्छ । जनसंख्या उच्च रहेको क्षेत्रमा विद्यालय सञ्चालन गर्दा विद्यालयका कर्मचारी, विद्यार्थी र अभिभावक लगायतका पक्षहरु बृहत भौतिक सम्बन्धमा आउने हुँदा यस्ता क्षेत्रहरुमा विद्यालय भौतिक उपस्थितीमा सञ्चालन गर्दा निकै होस पुर्याउनुपर्छ ।

विद्यालय भवन, जनशक्ति र अन्य स्रोत परिचालनको अवस्था

गोकर्णेश्वर नगरपालिकामा किन्डरगार्डेन, प्राथमिक तह, आधारभूत तह, उच्च तह र विश्वविद्यालय तह गरी विभिन्न तहगत सामुदायिक र निजी शैक्षिक संस्थाहरु छन् । विशेषगरी, विद्यालयस्तरमा भवनको अवस्थामा धेरै विविधता छ र त्यस अनुसार विद्यार्थी सङ्ख्यामा पनि ठूलो अन्तर छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या प्राय उच्च छ जसकारणले गर्दा त्यस्ता विद्यालयमा विद्यार्थीको नै धेरै चाप हुने तर विद्यार्थी सङ्ख्याअनुरुप काम गर्ने शिक्षक बाहेकका जनशक्तिको उचित परिचालन हुन नसक्दा भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्न गाह्रो हुन्छ । तर, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकहरुले मोबाइल, ल्यापटप वा इन्टरनेटको व्यवस्था गर्न नसक्दा उनिहरुको पढाइमा प्रतिकुल असर परेको कारण नगरपालिकाले विद्यालय भौतिक अवस्थामा सञ्चालन गर्ने निर्णय दिएको हो । त्यसैले यस्तो विद्यालयमा विकल्पको रुपमा विद्यार्थी सङ्ख्या वा कक्षा विभाजन गरी व्यवस्थित तरिकाले विद्यालय सञ्चालन गर्न आवश्यक छ ।

नगरपालिकामा भौतिक पूर्वाधार सम्पन्न, ठूला विद्यालय पनि छन् जहाँ विद्यार्थी चाप मध्यम छन् । यस्ता विद्यालयमा आवश्यक जनशक्ति पनि परिचालन गर्न समस्या नहुने हुँदा कोभिड निर्देशनको कडा पालना गरी विद्यालय सञ्चालन गर्न सकिन्छ । तर, यस प्रकारका विद्यालयका विद्यार्थीहरुले विद्युतीय उपकरण र इन्टरनेटको पहुँचमा सहज तरिकाले शिक्षा प्राप्तिलाई निरन्तरता दिन सकेका छन् भने कोभिड सङ्क्रमणको दर कम हुने समयलाई धैर्यता पूर्वक पर्खदा जोखिम कम हुन्छ । त्यस्तैगरी, नगरपालिकभित्र रहेका विद्यालयहरु जहाँ विद्यार्थी चाप न्यून छ, त्यहाँ नियमको कडा पालना गरी जनशक्तिलाई थप परिचालनसँगै एकदमै सावधानीपूर्वक भौतिक उपस्थितीमा कक्षा सञ्चालन गर्न सकिन्छ । तर यस्को लागि सम्बन्धित निकायहरु बिच गहन छलफल गरी निर्णय गरिनुपर्छ र विद्यार्थीको निगरानीमा कुनै कुरा छुट्याउनु हुँदैन ।

यातायात र चमेना गृहको सुविधाको अवस्था

वास्तवमा यातायतलाई दोस्रो बुँदामा राखे पनि हुन्छ तर यो पनि गहिरो विचरणीय पक्ष भएको हुँदा यस्को छुट्टै उपशिर्षकमा छलफल गरौँ ।
गोकर्णेश्वर नगरपालिकाभित्र विद्यालयको प्रकार र वर्ग अनुसार विद्यार्थी कति टाढाको दूरीबाट विद्यालयमा उपस्थित हुन्छ भन्ने हो । यहाँ अध्ययनका लागि लामो दूरी पार गरेर पनि विद्यार्थी विद्यालय आउँछन् । यस्तो परिस्थितीमा विद्यालयबाट निजी रुपमा यातायतको व्यवस्था गरेर विद्यार्थीलाई सुविधा दिन सकेमा कोभिड सङ्क्रमणको जोखिम कम हुन्छ । तर, यातायतको उचित व्यवस्था गर्न नसकेको अवस्थामा विद्यार्थीहरु सार्वजनिक यातायतको साहरा लिन पर्ने हुन्छ । यस्तोमा विद्यार्थीहरुमा सङ्क्रमणको जोखिम उच्च हुन्छ । कुनै विद्यालयमा धेरै टाढाबाट विद्यार्थी नआउने हुँदा हिडेर नै उपस्थित हुन सक्ने अवस्था पनि छ । यस्ता विद्यालयमा उचित मार्गनिर्देशन, सरसल्लाह र निगरानीमा विद्यार्थीलाई भौतिक उपस्थितीमा नै कक्षा सञ्चालन गर्न सकिन्छ ।

खाजा र खानाको लागि सफा, सुरक्षित र कोभिड निर्देशन पालना गरेका चमेना गृह सञ्चालन गर्न सकिन्छ । होइन भने सबैले घरैबाट ल्याएको खाजा खादाँ पनि हुन्छ तर चमेना गृहको अभावमा विद्यार्थीहरुलाई अझ जोखिम माझ बाहिर बजार चार्हन बाध्य पार्न हुदैँन ।

माक्स र स्यानिटाइजरले मात्र काम गर्न नसक्ने अवस्था

माक्सको प्रयोगमा कुनै विकल्पको प्रयोग हुँदैन । विद्यालयमा उपस्थित सबैलाई माक्सको अनिर्वाय प्रयोगको नियम बनाउने र अनुगमन गर्नुपर्ने हुन्छ । गोकर्णेश्वर नगरपालिकामा एकदमै राम्रो सुविधा भनेको पानीको व्यवस्था हो । यस क्षेत्रमा वनजङ्गल र खोला पर्ने भएको हुँदा यहाँ पानीको विकल्पको लागि जमिनमुनिको उपयोग गर्न सकिन्छ । पानीको उचित परिक्षण र प्रशोधन गरी यहाँका विद्यालयमा पानीको कुनै समस्या हुँदैन । त्यसैले विद्यालयमा भएका विभिन्न संरचनालाई रासायनिक तरिकाले स्यानिटाइज गरे पछि नियमित रुपमा केहि घण्टाको अवधि छुट्याइ सबै जनालाई अनिवार्य रुपमा साबुन पानीले राम्ररी हात धुन लगाउनुपर्छ । यो सँगै विद्यार्थीलाई पानीको सदुपयोग र संरक्षण गर्ने उपायका बारेमा पनि प्रत्यक्ष र व्यवहारिक ज्ञान दिन सकिन्छ । त्यसैले स्यानिटाइजरको प्रयोगभन्दा साबन पानीको प्रयोग गर्न सकिन्छ ।

निष्कर्ष

सधैभरि विद्यालय बन्द गरेर विद्यार्थीहरुको भविष्यमा नकरात्मक असर गर्न हुँदैन । त्यसैगरी अन्य क्षेत्रमा विद्यालय खोल्दैमा विद्यार्थीहरुको स्वास्थ्यमा खेलवाड गर्दै जथाभावी रुपमा विद्यालय सञ्चालन गर्न पनि हुँदैन । यस महामारीमा सबै क्षेत्रलाई विभिन्न रुपमा तहसनहस गरेको छ । यस्तो अवस्थामा एक पक्ष मात्रमा ध्यानमा राखि देखासिखीको भरमा विद्यालय सञ्चालन गर्दा कलिला विद्यार्थीहरुमा कोभिडको जोखिम उच्च हुन्छ । आफ्नो विद्यालय वरिपरीको आवादी, विद्यालयको स्रोत साधनको व्यवस्थापन र परिचालन, अभिभावकको धारणा र विद्यार्थीहरुको सहजतालाई विचार गरेर मात्र यस लुकामारी खेलमा महामारी माथि विद्यालयको जीत हुनेछ । होइन भने यसलाई हराउने प्रयत्नमा विद्यार्थीहरुको स्वास्थ्यले बलिदान दिनु पर्नेछ जुन न त सरकार चाहन्छ न त सरोकारवाला नै ।

(तामाङ बौद्ध इन्टरनेशनल स्कूल र ब्रिलियन्ट मल्पिटल क्याम्पसमा अध्यापन गर्छन् ।)

तपाईको प्रतिक्रिया