मुलुकभर कांग्रेस वडा अधिवेशनको चहलपहल

सैलुङअनलाइन संवाददाता
काठमाडौं
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका कटुजेमा काँग्रेसको वडा अधिवेशन उदघाटन गर्दै ।

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ भएको छ ।

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अधिकांश जिल्लामा आज वडा अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेता कार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन् । कतिपय वडाहरुमा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडाहरुमा निर्वाचन प्रक्रिया अगाडि बढिरहेको समितिले जनाएको छ । आज निर्वाचन सम्पन्न हुने वडाहरुको तथ्याङ्क भने सााझसम्ममा मात्र उपलब्ध हुनेछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने बताए ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्ने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

मुलुकभरका छ हजार सात सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार दुई सय एक पदाधिकारी र सदस्य एक लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यसबाहेक मनोनीत हुनेको सङ्ख्या थप रहेको छ ।
त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन आज भदौ १८, गाउँ/नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

तपाईको प्रतिक्रिया