युद्धको शिविरमा
घाइते भएका मनहरुले
विवशतामा सम्झौता भएको
इतिहास पढेर
छातीमा कठोर भएर
थिचिरहेको त्यो इतिहासको अनुभूति पालेर
फेरी हाम्रो अस्मितामा बलात्कार भएको
हामी चुपचाप हेरिरहेका छौं ।
मातृभूमिको स्वाभिमानलाई
हाम्रो संवेदनशीलताको कमजोरी ठानेर
कसैको प्रतिष्ठाको खातिर
फेरि लिलाम भइसकेको व्यहोरा पढेर
हामी चुपचाप बसिरहेका छौं ।
आयतित संस्कृतिमा रुपान्तरित भएर
घात प्रतिघातको राजनीति र कुटनीतिका
फोहोरी परिवेशभित्र
मूल्य र मान्यताको
उपहासपूर्ण लिलाम बढाबढको सूचना पढेर
फेरी हामी चुपचाप बसिरहेका छौं ।
पहिचानहीन चुपचापको संस्कृतिमा
हाम्रो अस्तित्वको खोजी गर्न
बाटो बिराएको यात्री जस्तै
फेरि हामी अलमलमा भौंतारिरहेका छौं ।
निमुखा, पीढित मान्छेहरुको
सामाजिक मुक्तिका कुरा
कुन किनारामा विश्राम लिइरहेको छ ?
आन्दोलन विद्रोह र क्रान्तिका कुराहरु
किन निरस शब्दावलीमा मात्र रुपान्तर भइरहेको छ ?
त्यसैले यतिबेला
म एउटा प्रयोगशालाको खोजीमा हिडेको छु
जहाँ हाम्रो रगतको सामाजिक
परिक्षण गर्न सकौं ।
हामीमा अवसरवादको मात्रा कति छ ?
नैतिकताको अवशेष कति छ ?
करोडौं निमुखा पीढितहरुको
मुक्तिको खातिर
बलिदान दिने ताकत कति छ ?
यति बेला म एउटा प्रयोगशालाको खोजीमा हिँडेको छु ।
(यो कविता आज भन्दा २५ वर्ष अगाडि काठमाडौंबाट प्रकाशित ‘उत्साह’ साहित्यिक त्रैमासिकको वर्ष २०, पूर्णाङ्क ५३, २०५४ असोज अङ्कमा ‘यति बेला म एउटा प्रयोगशालाको खोजीमा हिँडेको छु’ शिर्षकमा छापिएको थियो । समसामयीक राजनीतिक विषयलाई लिएर रचना गरिएको योन्जनको यो कविता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।)